डिभी २०२३ अन्तरगत जम्मा ३३८८ नेपालीले पाए भिसा, सात प्रतिशतको कोटाभन्दा कम


प्रकाशित मिति : कार्तिक ८, २०८० बुधबार

डिभी २०२३ अन्तरगत जम्मा ३३८८ नेपालीले भिसा पाएको खुलासा भएको छ, जुन कुल डिभीको हरेक देशलाई प्रदान गरिने अधिकतम ७ प्रतिशत कोटाको तुलनामा कम रहेको छ । सेप्टेम्बरको पहिलो साता जम्मा १२३ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाएको अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुुलर अफेयर्सले सार्वजनिक गरेसँगै भिसा पाउने कुल नेपालीहरुको संख्या खसोखासले जोडेको हो ।

अगस्तमा डाइभर्सिटी भिसा पाउने नेपालीहरुको संख्या ३५२ रहेको थियो । तर सेप्टेम्बरको पहिलोसाता १२३ जना नेपालीलाई भिसा दिएपछि उपलब्ध भिसाहरू सबै जारी गरेको भन्दै सेप्टेम्बर ७ पछि तय भएका नेपालीहरुका डाइभर्सिटी भिसाका अन्तरवार्ता अप्वाइन्टमेन्टहरु रद्द गरिएको थियो ।

आर्थिक बर्ष २०२३ का लागि डिभी मार्फत ५४ हजार ८ सय ३३ भिसाहरु उपलब्ध रहेकोमा सेप्टेम्बर ५ सम्म ५४ हजार भिसाहरु जारी भइसकेको अमेरिकी विदेश मन्त्रालयले जनाएको थियो । अमेरिकी अध्यागमन कानून अन्तर्गत कुनै पनि एउटा देशले कुनै एक आर्थिक वर्षमा उपलब्ध भिसा संख्याको सात प्रतिशत भन्दा बढी प्राप्त गर्न नसक्ने भएपनि नेपालीका सन्दर्भमा यो बर्ष ७ प्रतिशत नपुगेको हो ।

मे मा ६९६ जना नेपालीहरुले अमेरिकाको डाइभर्सिटी भिसा पाएकोमा जुनमा जम्मा १३१ जना र जुलाईमा जम्मा १३७ जना मात्र नेपालीले अमेरिकाको डाइभर्सिटी भिसा पाएका थिए । अप्रिलमा ८२० जना नेपालीहरुलाई डाइभर्सिटी भिसा प्रदान गरिएको थियो । मार्चमा ३७२ जना नेपालीहरुलाई डाइभर्सिटी भिसा प्रदान गरिएको थियो ।

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार गत अक्टोबरबाट सुरु आर्थिक बर्ष २०२३ को सुरुका २ महिनामा २ जना नेपालीलाईमात्र डाइभर्सिटी भिसा दिइएपनि डिसेम्बर, जनवरी र फरबरीमा भने ७५७ जनालाई डाइभर्सिटी भिसा प्रदान गरिएको हो ।

डिसेम्बरबाट डाइभर्सिटी भिसा दिन सुरु गरिएकोमा उक्त महिना १३८ जना नेपालीले डाइभर्सिटी भिसा पाएका थिए । जनवरीमा ३३२ जनालाई डाइभर्सिटी भिसा दिइएको थियो भने फरबरीमा यो संख्या केही कम देखिएको थियो । फरबरीमा २८७ जना नेपालीहरुलेमात्र डाइभर्सिटी भिसा पाएका छन् ।

डिभी २०२३ का विजेताहरुले अक्टोबरदेखि भिसा पाउन सुरु गर्ने प्रावधान रहेतापनि अमेरिकी दूतावास काठमाडौंले अक्टोबर र नोभेम्बरमा कसैलाई पनि डाइभर्सिटी भिसा जारी गरेन । आर्थिक बर्ष २०२३ का डिभी विजेता नेपालीहरुको संख्या ३८०८ रहेको थियो ।

डिभी २०२३ मा ९५ लाख ७० हजार २ सय ९१ जना सहभागी भएका थिए । उनीहरुले २०२१ को अक्टोबर ६ देखि नोभेम्बर ९ सम्म डिभी लोटरी भरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com