डिसेम्बरका लागि थपियो डिभी २०२४ का नेपाली विजेताको केस नम्बर, २५ सयसम्मलाई भिसा


प्रकाशित मिति : आश्विन २२, २०८० सोमबार

डिभी २०२४ का नेपाली विजेताको केस नम्बर डिसेम्बरका लागि थपिएको छ । अब डिसेम्बरमा २५ सयसम्म केस नम्बर हुनेहरुले भिसा पाउन सक्नेछन् । अक्टोबर र नोभेम्बरमा केस नम्बर १३ सय सम्ममा सिमित गरिएको थियो । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिन अनुशार डिसेम्बरका लागि केस नम्बरको सिमाबन्दी बढाइएको हो ।

आर्थिक बर्ष २०२४ का डिभी विजेता नेपालीहरुको संख्या ३८६३ रहेको छ, जुन चालु आर्थिक बर्षको तुलनामा धेरै हो । आर्थिक बर्ष २०२३ का लागि ३८०८ जनाले डिभी लोटरी पारेका थिए । २०२४ मा पनि नेपाल धेरै डिभी लोटरी पार्नेमा एसियामा तेश्रो भएको छ । एसियामा सबैभन्दा धेरै इरानका ५ हजार ७७ जनाले र दोश्रोमा अफगानिस्तानका ४५३६ जनाले डिभी पारेका छन् ।

नतिजा सन् २०२४ को सेप्टेम्बरसम्म अनलाइनमा हेर्न सकिनेछ । गतबर्षको अक्टोबर ५ देखि नोभेम्बर ८ सम्म डिभी लोटरी भरेकाहरुले आफू छनौट भए नभएको हेर्न सक्नेछन् ।

कुल १ लाख ४३ हजार जनाले डिभी लोटरी पारेकोमा अधिकतम ५५ हजारसम्मले मात्र भिसा पाउनसक्नेछन् । अर्थात् डिभी पर्दैमा सबैजना अमेरिका आउन पाउने ग्यारेन्टी हुँदैन । डिभी २०२४ का लागि विश्वभरबाट २ करोड २१ लाख ८५ हजार ६ सय १९ योग्यले डिभीका लागि आवेदन दिएका थिए । डिभी २०२३ को तुलनामा २०२४ मा धेरै व्यक्ति सहभागी भएका थिए । डिभी २०२३ मा ९५ लाख ७० हजार २ सय ९१ जना सहभागी भएका थिए भने २०२४ का लागि दोब्बरभन्दा धेरै सहभागी भए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com