गत महिना अमेरिकाले यो बर्षकै सबैभन्दा कम नेपाललाई डाइभर्सिटी भिसा दिएको खुलासा


प्रकाशित मिति : श्रावण ११, २०८० बिहीबार

मे महिनामा उल्लेख्य संख्यामा नेपाललाई डाइभर्सिटी भिसा दिएको अमेरिकाले गत महिना जुनमा भने अत्यन्तै कम नेपालीलाईमात्र डाइभर्सिटी भिसा दिएको खुलासा भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुशार मे मा ६९६ जना नेपालीहरुले अमेरिकाको डाइभर्सिटी भिसा पाएकोमा जुनमा भने जम्मा १३१ जना मात्र नेपालीले अमेरिकाको डाइभर्सिटी भिसा पाएका छन् ।

योसँगै आर्थिक बर्ष २०२३ को ९ महिनामा २७७६ जना नेपालीलाई डाइभर्सिटी भिसा प्रदान गरिएको छ । अप्रिलमा ८२० जना नेपालीहरुलाई डाइभर्सिटी भिसा प्रदान गरिएको थियो जुन मार्च महिनाको तुलनामा दोब्बरभन्दा धेरै हो । मार्चमा ३७२ जना नेपालीहरुलाई डाइभर्सिटी भिसा प्रदान गरिएको थियो ।

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार गत अक्टोबरबाट सुरु आर्थिक बर्ष २०२३ को सुरुका २ महिनामा २ जना नेपालीलाईमात्र डाइभर्सिटी भिसा दिइएपनि डिसेम्बर, जनवरी र फरबरीमा भने ७५७ जनालाई डाइभर्सिटी भिसा प्रदान गरिएको हो ।

डिसेम्बरबाट डाइभर्सिटी भिसा दिन सुरु गरिएकोमा उक्त महिना १३८ जना नेपालीले डाइभर्सिटी भिसा पाएका थिए । जनवरीमा ३३२ जनालाई डाइभर्सिटी भिसा दिइएको थियो भने फरबरीमा यो संख्या केही कम देखिएको थियो । फरबरीमा २८७ जना नेपालीहरुलेमात्र डाइभर्सिटी भिसा पाएका छन् ।

डिभी २०२३ का विजेताहरुले अक्टोबरदेखि भिसा पाउन सुरु गर्ने प्रावधान रहेतापनि अमेरिकी दूतावास काठमाडौंले अक्टोबर र नोभेम्बरमा कसैलाई पनि डाइभर्सिटी भिसा जारी गरेन ।

चालु आर्थिक बर्षका डिभी विजेताहरुले सन् २०२३ को सेप्टेम्बरभित्र भिसा पाइसक्नुपर्ने प्रावधान रहेको छ । कुल १ लाख १९ हजार २ सय ६२ जनाले डिभी लोटरी पारेकोमा अधिकतम ५५ हजारसम्मले भिसा पाउनसक्नेछन् । आर्थिक बर्ष २०२३ का डिभी विजेता नेपालीहरुको संख्या ३८०८ रहेको छ ।

डिभी २०२३ मा ९५ लाख ७० हजार २ सय ९१ जना सहभागी भएका थिए । उनीहरुले २०२१ को अक्टोबर ६ देखि नोभेम्बर ९ सम्म डिभी लोटरी भरेका थिए । अमेरिकाभित्रै हुने डिभी लोटरी विजेताहरुले युएससीआईएसमार्फत स्थीति समायोजन गरेर ग्रिनकार्ड पाउनसक्छन् भने बाहिर हुनेले कन्सुलर प्रकृयामार्फत भिसा प्राप्त गर्छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com