डिभी २०२३ का २१ हजारभन्दा माथि केस नम्बर हुने नेपालीले भिसा नपाउने, ८ महिनामा भिसा पाउने २६४५


प्रकाशित मिति : असार ३०, २०८० शनिबार

डिभी २०२३ का २१ हजारभन्दा माथि केस नम्बर हुने नेपालीले भिसा नपाउने भएका छन् । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक गरेको भिसा बुलेटिन अनुशार सेप्टेम्बर महिनाका लागि डिभी विजेता नेपालीहरुको केस नम्बर २१ हजार कायम गरिएको छ । डिभी २०२३ को भिसा पाउने मिति आगामी सेप्टेम्बर अन्तिमसम्ममात्र रहेकाले २१ हजारभन्दा माथि केस नम्बर हुनेहरु भिसाका लागि अयोग्य हुने भएका छन् । अक्टोबर १ देखि २०२४ का डिभी विजेताहरुले भिसा पाउन थाल्नेछन् ।

अगस्त महिनाका लागि पनि डिभी विजेता नेपालीहरुको केस नम्बर २० हजार ५ सय कायम गरिएको छ । मेको तुलनामा जुनमा केस नम्बर नथपिएतापनि जुलाईमा पनि १७ हजार ७ सय ७५ बाट बढाएर १९ हजार ४ सय बनाइएको थियो । जुन महिनाका लागि पनि १७ हजार ७ सय ७५ सम्म केस नम्बर करेन्ट रहेको थियो भने अप्रिलका लागि यो नम्बर १२ हजार ६ सय रहेको थियो ।

जनवरीका लागि नेपालीहरुको केस ५५ सय रहेकोमा फेब्रुअरीका लागि १५ सय थपेर ७ हजार बनाइएको थियो भने मार्चका लागि ८ हजार २५ रहेको रहेको थियो । डिसेम्बरका लागि भने नेपालीहरुको केस नम्बर १७ सय मात्र रहेको थियो । अक्टोबरमा १४५० सम्म केस नम्बर हुने नेपाली डिभी विजेताहरुले भिसा पाउनसक्नेगरी सिमाबन्दी तोकिएकोमा नोभेम्बरका लागि समेत सोही सिमाबन्दी कायम रहेको थियो ।

डिभी २०२३ का विजेताहरुले अक्टोबरदेखि भिसा पाउन सुरु गर्ने प्रावधान रहेतापनि अमेरिकी दूतावास काठमाडौंले अक्टोबर र नोभेम्बरमा कसैलाई पनि डाइभर्सिटी भिसा जारी गरेन । डिसेम्बरदेखि भने डिभी विजेता नेपालीहरुलाई भिसा जारी गर्न थालिएको हो । कुल १ लाख १९ हजार २ सय ६२ जनाले डिभी लोटरी पारेकोमा अधिकतम ५५ हजारसम्मले भिसा पाउनसक्नेछन् । आर्थिक बर्ष २०२३ का डिभी विजेता नेपालीहरुको संख्या ३८०८ रहेको छ ।

डिभी २०२३ मा ९५ लाख ७० हजार २ सय ९१ जना सहभागी भएका थिए । उनीहरुले २०२१ को अक्टोबर ६ देखि नोभेम्बर ९ सम्म डिभी लोटरी भरेका थिए । अमेरिकाभित्रै हुने डिभी लोटरी विजेताहरुले युएससीआईएसमार्फत स्थीति समायोजन गरेर ग्रिनकार्ड पाउनसक्छन् भने बाहिर हुनेले कन्सुलर प्रकृयामार्फत भिसा प्राप्त गर्नेछन् ।

८ महिनामा डिभी २०२३ का २६४५ नेपाली विजेतालाई भिसा

मे मा ६९६ जना नेपालीहरुले अमेरिकाको डाइभर्सिटी भिसा पाएका छन् । योसँगै आर्थिक बर्ष २०२३ को ८ महिनामा २६४५ जना नेपालीलाई डाइभर्सिटी भिसा प्रदान गरिएको छ । अप्रिलमा ८२० जना नेपालीहरुलाई डाइभर्सिटी भिसा प्रदान गरिएको थियो जुन मार्चको तुलनामा दोब्बरभन्दा धेरै हो । मार्चमा ३७२ जना नेपालीहरुलाई डाइभर्सिटी भिसा प्रदान गरिएको थियो ।

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार गत अक्टोबरबाट सुरु आर्थिक बर्ष २०२३ को सुरुका २ महिनामा २ जना नेपालीलाईमात्र डाइभर्सिटी भिसा दिइएपनि डिसेम्बर, जनवरी र फरबरीमा भने ७५७ जनालाई डाइभर्सिटी भिसा प्रदान गरिएको हो ।

डिसेम्बरबाट डाइभर्सिटी भिसा दिन सुरु गरिएकोमा उक्त महिना १३८ जना नेपालीले डाइभर्सिटी भिसा पाएका थिए । जनवरीमा ३३२ जनालाई डाइभर्सिटी भिसा दिइएको थियो भने फरबरीमा यो संख्या केही कम देखिएको थियो । फरबरीमा २८७ जना नेपालीहरुलेमात्र डाइभर्सिटी भिसा पाए  ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com