अगस्तका लागि २० हजार ५ सयसम्म केस नम्बर हुने डिभी विजेता नेपालीको भिसा करेन्ट
प्रकाशित मिति : जेष्ठ ३०, २०८० मंगलबार
अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक गरेको भिसा बुलेटिन अनुशार अगस्त महिनाका लागि पनि डिभी विजेता नेपालीहरुको केस नम्बर २० हजार ५ सय कायम गरिएको छ । मेको तुलनामा जुनमा केस नम्बर नथपिएतापनि जुलाईमा पनि १७ हजार ७ सय ७५ बाट बढाएर १९ हजार ४ सय बनाइएको थियो ।
जुन महिनाका लागि पनि १७ हजार ७ सय ७५ सम्म केस नम्बर हुने नेपालीको डाइभर्सिटी भिसा करेन्ट रहेको छ । अप्रिलका लागि यो नम्बर १२ हजार ६ सय रहेको थियो ।
जनवरीका लागि नेपालीहरुको केस ५५ सय रहेकोमा फेब्रुअरीका लागि १५ सय थपेर ७ हजार बनाइएको थियो भने मार्चका लागि ८ हजार २५ रहेको रहेको थियो । डिसेम्बरका लागि भने नेपालीहरुको केस नम्बर १७ सय मात्र रहेको थियो । अक्टोबरमा १४५० सम्म केस नम्बर हुने नेपाली डिभी विजेताहरुले भिसा पाउनसक्नेगरी सिमाबन्दी तोकिएकोमा नोभेम्बरका लागि समेत सोही सिमाबन्दी कायम रहेको थियो ।
डिभी २०२३ का विजेताहरुले अक्टोबरदेखि भिसा पाउन सुरु गर्ने प्रावधान रहेतापनि अमेरिकी दूतावास काठमाडौंले अक्टोबर र नोभेम्बरमा कसैलाई पनि डाइभर्सिटी भिसा जारी गरेन । डिसेम्बरदेखि भने डिभी विजेता नेपालीहरुलाई भिसा जारी गर्न थालिएको हो ।
चालु आर्थिक बर्षका डिभी विजेताहरुले सन् २०२३ को सेप्टेम्बरभित्र भिसा पाइसक्नुपर्ने प्रावधान रहेको छ । कुल १ लाख १९ हजार २ सय ६२ जनाले डिभी लोटरी पारेकोमा अधिकतम ५५ हजारसम्मले भिसा पाउनसक्नेछन् । आर्थिक बर्ष २०२३ का डिभी विजेता नेपालीहरुको संख्या ३८०८ रहेको छ ।
डिभी २०२३ मा ९५ लाख ७० हजार २ सय ९१ जना सहभागी भएका थिए । उनीहरुले २०२१ को अक्टोबर ६ देखि नोभेम्बर ९ सम्म डिभी लोटरी भरेका थिए । अमेरिकाभित्रै हुने डिभी लोटरी विजेताहरुले युएससीआईएसमार्फत स्थीति समायोजन गरेर ग्रिनकार्ड पाउनसक्छन् भने बाहिर हुनेले कन्सुलर प्रकृयामार्फत भिसा प्राप्त गर्नेछन् ।
७ महिनामा १९४९ नेपालीलाई भिसा
आर्थिक बर्ष २०२३ को ७ महिनामा १९४९ जना नेपालीलाई डाइभर्सिटी भिसा प्रदान गरिएको छ । अप्रिलमा ८२० जना नेपालीहरुलाई डाइभर्सिटी भिसा प्रदान गरिएको नयाँ तथ्यांक अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको छ जुन मार्चको तुलनामा दोब्बरभन्दा धेरै हो । मार्चमा ३७२ जना नेपालीहरुलाई डाइभर्सिटी भिसा प्रदान गरिएको थियो ।
अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार गत अक्टोबरबाट सुरु आर्थिक बर्ष २०२३ को सुरुका २ महिनामा २ जना नेपालीलाईमात्र डाइभर्सिटी भिसा दिइएपनि डिसेम्बर, जनवरी र फेबु्रअरीमा भने ७५७ जनालाई डाइभर्सिटी भिसा प्रदान गरिएको हो ।
डिसेम्बरबाट डाइभर्सिटी भिसा दिन सुरु गरिएकोमा उक्त महिना १३८ जना नेपालीले डाइभर्सिटी भिसा पाएका थिए । जनवरीमा ३३२ जनालाई डाइभर्सिटी भिसा दिइएको थियो भने फेबु्रअरीमा यो संख्या केही कम देखिएको थियो । फेबु्रअरीमा २८७ जना नेपालीहरुलेमात्र डाइभर्सिटी भिसा पाएका छन् ।