भिसा पाउन थाले डिभी विजेता नेपालीहरुले, एक महिनामा १३८ जनालाई भिसा


प्रकाशित मिति : माघ २२, २०७९ आईतबार

अक्टोबर र नोभेम्बरमा १४५० सम्म केस नम्बर हुने नेपालीहरुको डाइभर्सिटी भिसा करेन्ट भएतापनि अमेरिकी दूतावास काठमाडौंले कसैलाई पनि डाइभर्सिटी भिसा जारी गरेको थिएन । तर डिसेम्बरमा भने १३८ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाएको तथ्यांक सावैजनिक भएको छ, जसमा काठमाडौंमा रहेको अमेरिकी दूतावासलेमात्र १३५ जनालाई डाइभर्सिटी भिसा जारी गरेको छ ।

डिसेम्बरमा १७ सयसम्म केस नम्बर हुने नेपालीहरुको डाइभर्सिटी भिसा करेन्ट रहेको थियो भने जनवरीमा यो संख्या ३ गुणाभन्दा पनि बढी ५५ सय पुगेको थियो । फेबु्रअरीमा ७ हजारसम्म केस नम्बर हुने नेपालीहरुको डाइभर्सिटी भिसा करेन्ट रहेको छ भने मार्चमा यो संख्या ८ हजार २५ रहेको छ ।

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुशार गत महिना अक्टोबरमा २ जना नेपालीले डाइभर्सिटी भिसा पाएपनि अमेरिकी दूतावास काठमाडौंले भने कसैलाई पनि जारी गरेको थिएन ।

डिभी २०२३ का विजेताहरुले अक्टोबरदेखि भिसा पाउन सुरु गर्ने प्रावधान थियो । उनीहरुले सन् २०२३ को सेप्टेम्बरभित्र भिसा पाइसक्नुपर्ने प्रावधान रहेको छ । कुल १ लाख १९ हजार २ सय ६२ जनाले डिभी लोटरी पारेकोमा अधिकतम ५५ हजारसम्मले भिसा पाउनसक्नेछन् ।

आर्थिक बर्ष २०२३ का डिभी विजेता नेपालीहरुको संख्या ३८०८ रहेको छ । एसियामा सबैभन्दा धेरै इरानका ५५०६ जनाले डिभी लोटरी पारेका छन् ।

डिभी २०२३ मा ९५ लाख ७० हजार २ सय ९१ जना सहभागी भएका थिए । उनीहरुले गतबर्षको अक्टोबर ६ देखि नोभेम्बर ९ सम्म डिभी लोटरी भरेका थिए । अमेरिकाभित्रै हुने डिभी लोटरी विजेताहरुले युएससीआईएसमार्फत स्थीति समायोजन गरेर ग्रिनकार्ड पाउनसक्छन् भने बाहिर हुनेले कन्सुलर प्रकृयामार्फत भिसा प्राप्त गर्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com