Follow @khasokhasmag

मार्चमा ८०२५ सम्म केस नम्बर हुने नेपालीले डाइभर्सिटी भिसा पाउनसक्ने


प्रकाशित मिति : पुस ३०, २०७९ शनिबार

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक गरेको भिसा बुलेटिन अनुशार मार्चका लागि डाइभर्सिटी भिसा पाउनसक्ने नेपालीको केस नम्बर थपेर ८ हजार २५ बनाइएको छ । जनवरीका लागि नेपालीहरुको केस ५५ सय रहेकोमा फेब्रुअरीका लागि १५ सय थपेर ७ हजार बनाइएको थियो ।

अब मार्चमा ८ हजार २५ सम्म केस नम्बर हुने नेपाली डिभी विजेताहरु भिसा पाउन योग्य हुनेछन् । डिसेम्बरका लागि नेपालीहरुको केस नम्बर १७ सय मात्र रहेको थियो । जनवरीका लागि तेब्बरभन्दा धेरै थपिएको थियो । नोभेम्बरका लागि भने नेपाली डिभी विजेताको केस नम्बर थपिएको थिएन । अक्टोबरमा १४५० सम्म केस नम्बर हुने नेपाली डिभी विजेताहरुले भिसा पाउनसक्नेगरी सिमाबन्दी तोकिएकोमा नोभेम्बरका लागि समेत सोही सिमाबन्दी कायम रहेको थियो ।

डिभी २०२३ का विजेताहरुले अक्टोबरदेखि भिसा पाउन सुरु गर्ने प्रावधान रहेतापनि अमेरिकी दूतावास काठमाडौंले अक्टोबर र नोभेम्बरमा कसैलाई पनि डाइभर्सिटी भिसा जारी नगरेको तथ्यांक सार्वजनिक भएको छ । चालु आर्थिक बर्षका डिभी विजेताहरुले सन् २०२३ को सेप्टेम्बरभित्र भिसा पाइसक्नुपर्ने प्रावधान रहेको छ ।

कुल १ लाख १९ हजार २ सय ६२ जनाले डिभी लोटरी पारेकोमा अधिकतम ५५ हजारसम्मले भिसा पाउनसक्नेछन् । आर्थिक बर्ष २०२३ का डिभी विजेता नेपालीहरुको संख्या ३८०८ रहेको छ ।

डिभी २०२३ मा ९५ लाख ७० हजार २ सय ९१ जना सहभागी भएका थिए । उनीहरुले गतबर्षको अक्टोबर ६ देखि नोभेम्बर ९ सम्म डिभी लोटरी भरेका थिए । अमेरिकाभित्रै हुने डिभी लोटरी विजेताहरुले युएससीआईएसमार्फत स्थीति समायोजन गरेर ग्रिनकार्ड पाउनसक्छन् भने बाहिर हुनेले कन्सुलर प्रकृयामार्फत भिसा प्राप्त गर्नेछन् ।

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com