जनवरीमा ५५ सयसम्म केस नम्बर हुने नेपालीले डाइभर्सिटी भिसा पाउनसक्ने, तेब्बर बढी


प्रकाशित मिति : कार्तिक ३०, २०७९ बुधबार

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक गरेको भिसा बुलेटिन अनुशार जनवरीका लागि नेपालीहरुको केस नम्बर थपेर ५५ सय पुराइएको छ । अर्थात् ५५ सयसम्म केस नम्बर हुने नेपाली डिभी विजेताहरु जनवरीमा भिसा पाउन योग्य हुनेछन् ।

डिसेम्बरका लागि नेपालीहरुको केस नम्बर १७ सय मात्र रहेको थियो । जनवरीका लागि तेब्बरभन्दा धेरै थपिएको छ । नोभेम्बरका लागि भने नेपाली डिभी विजेताको केस नम्बर थपिएको थिएन । अक्टोबरमा १४५० सम्म केस नम्बर हुने नेपाली डिभी विजेताहरुले भिसा पाउनसक्नेगरी सिमाबन्दी तोकिएकोमा नोभेम्बरका लागि समेत सोही सिमाबन्दी कायम रहेको थियो ।

जनवरीमा एसियामा ९ हजारसम्म केस नम्बर भएका डिभी विजेताले भिसा पाउनसक्ने भएकोमा इरानका ५५ सय र नेपालका ५५ सम्म केस नम्बर हुनेहरुलेमात्र भिसा पाउन सक्नेछन् । डिसेम्बरका लागि भने एसियामा ३३ सयसम्म केस नम्बर भएका डिभी विजेताले भिसा पाउनसक्ने भएकोमा इरानका ३ हजार र नेपालका १७ सयसम्म केस नम्बर हुनेहरु योग्य हुने भएका हुन् ।

डिभी २०२३ का विजेताहरुले अक्टोबरदेखि भिसा पाउन सुरु गरेका छन् । उनीहरुले सन् २०२३ को सेप्टेम्बरभित्र भिसा पाइसक्नुपर्ने प्रावधान रहेको छ । कुल १ लाख १९ हजार २ सय ६२ जनाले डिभी लोटरी पारेकोमा अधिकतम ५५ हजारसम्मले भिसा पाउनसक्नेछन् ।

आर्थिक बर्ष २०२३ का डिभी विजेता नेपालीहरुको संख्या ३८०८ रहेको छ । एसियामा सबैभन्दा धेरै इरानका ५५०६ जनाले डिभी लोटरी पारेका छन् ।

डिभी २०२३ मा ९५ लाख ७० हजार २ सय ९१ जना सहभागी भएका थिए । उनीहरुले गतबर्षको अक्टोबर ६ देखि नोभेम्बर ९ सम्म डिभी लोटरी भरेका थिए । अमेरिकाभित्रै हुने डिभी लोटरी विजेताहरुले युएससीआईएसमार्फत स्थीति समायोजन गरेर ग्रिनकार्ड पाउनसक्छन् भने बाहिर हुनेले कन्सुलर प्रकृयामार्फत भिसा प्राप्त गर्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com