अमेरिकी विदेश मन्त्रालयबाट डिभी २०२४ को औपचारिक घोषणा, धेरै आवेदन दिए सबै आवेदन रद्द


प्रकाशित मिति : आश्विन ८, २०७९ शनिबार

अमेरिकी विदेश मन्त्रालयले डिभी २०२४ को औपचारिक घोषणा गरेको छ, जस अनुशार अक्टोबर ५ देखि डिभी लोटरी भर्न सकिने छ । डिभी लोटरी २०२४ का लागि अक्टोबर ५ देखि नोभेम्बर ८ सम्म अनलाइनमार्फत दर्ता गर्न सकिने विदेश मन्त्रालयले जनाएको छ ।

खसोखासले यस अगाडि नै डिभी लोटरी खुल्ने अवधिबारे समाचार प्रकाशित गरेको थियो ।

न्युयोर्क समय अनुशार अक्टोबर ५ मध्यान्ह १२ बजेदेखि नोभेम्बर ८  मध्यान्ह १२ बजेसम्म डिभी लोटरी भर्न सकिने छ । तर डिभी लोटरी भर्दा एउटा भन्दा धेरै आवेदन दिएको खण्डमा सबै आवेदन अस्वीकार गरिनेमा विदेश मन्त्रालयले यसपटक विशेष जोड दिएको छ ।

डिभी लोटरी भर्न यहाँ क्लीक गर्नुहोला ।

डिभीमा दर्ताका लागि अन्तिम अवधिसम्म नकुर्न सुझाव दिइएको छ । एकजनालाई एउटामात्र आवेदन दिने कानूनी अनुमति भएकाले एउटाभन्दा बढी आवेदन दिएमा सबै आवेदन अस्वीकृत हुने र धेरै आवेदन पत्ता लगाउन परिष्कृत प्रविधि जडान गरिएको विदेश मन्त्रालयले जनाएको छ ।

निर्देशिकाको पूर्ण पाठ यहाँ पढ्नुहोला ।

डिभी २०२४ का विजेताहरुले सन् २०२४ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्नसक्नेछन् भने नतिजा सन् २०२३ को मे महिनामा आउनेछ । विगतमा डिभी लोटरीमा सहभागी भएकाहरुले पनि यसपटक डिभी भर्न सक्नेछन् । साथै यसपटक डिभी लोटरीमा सहभागी हुनका लागि पासपोर्ट अनिवार्य छैन ।

यसपटक डिभीका लागि बंगलादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमिनिकन रिपब्लिक, एल साल्भाडोर, हाइटी, होन्डुरस, भारत, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, उत्तरी आयरल्याण्ड बाहेक यूके र यसका आश्रित क्षेत्रहरू, भेनेजुएला र भियतनाम योग्य हुनेछैनन् । तर मकाउ र ताइवानका बासिन्दाहरु भने योग्य हुनेछन् ।

 

सबैभन्दा बढी ध्यानदिनु पर्ने ५ कुराहरु

१, डिभीका लागि योग्य हुन १२ कक्षासम्मको अध्ययन वा तोकिएको कामको अनुभव भएको हुनुपर्छ ।यदि तपाईहरुसँग यी योग्यताहरु छैनन् भने डिभी नभर्नुहोला । कतिपयले नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्दा प्रहरी खोरमा पुग्नुका साथै अमेरिका प्रवेशमा सधैका लागि प्रतिबन्ध समेत भोग्नु परेको छ ।

२, डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरु बुझाउनुपर्छ । विगतमा प्रयोग भएको वा ६ महिनाभन्दा पुरानो फोटो डिभी भर्दा प्रयोग नगर्नुहोला । कतिपयले पहिले नै डिभी भर्दा प्रयोग भएको फोटो पटकपटक प्रयोग गर्दै आएका हुन्छन् । त्यस्तै कतिपयले अमेरिकाको भिसामा पहिले प्रयोग भएको फोटो समेत डिभी भर्दा प्रयोग गर्छन् । यस्तो गल्ती नगर्नुहोला । नयाँ फोटो खिचेर डिभी भर्नुहोला । पूरानै फोटो प्रयोग गर्दा डिभीका लागि अयोग्य हुने सम्भावना रहन्छ ।

३, डिभी भर्दा विवाहितले दम्पत्तिको सबै विवरण र बच्चाबच्ची हुनेहरुले उनीहरुको सम्पूर्ण विवरण उल्लेख गर्नुपर्छ । एकल उल्लेख गरेर भर्दा पर्ने सम्भावना बढी हुन्छ भन्ने भ्रममा परेर समेत कतिपयले एकल उल्लेख गर्छन्, जुन गलत हो ।  डिभी भर्दा एकल भरेका विवाहितले डिभी परेपछि समस्या भोग्दै आएका कैयन उदाहरणहरु छन् । त्यस्तै डिभी भर्दा छोराछोरीको विवरण उल्लेख नगरेकाहरुले पनि डिभी परेपछि भिसा लिने बेलामा समस्या भोग्दै आएका छन् । कतिपयको भिसा समेत अस्वीकृत हुने गरेको छ । त्यसैले डिभी भर्दा दम्पत्ति र छोराछोरीको सम्पूर्ण विवरण उल्लेख गर्न सुझाव दिइएको छ ।

४, डिभी भर्दा सरकारको आधिकारिक वेवसाइटबाटमात्र भर्नुपर्छ । अक्टोबर ५ पछि सरकारको आधिकारिक वेवसाइटमा डिभी भर्ने लिंक उपलब्ध हुनेछ । त्यसका लागि यहाँ क्लीक गर्नुहोला ।  कुनै तेश्रो संस्था वा व्यक्ति वा वेवसाइटमार्फत डिभी भर्दा ठगिने र रकम गुमाउनेमात्र होइन आफ्ना विवरणहरु समेत चोरिने सम्भावना हुन्छ ।

५, एउटाभन्दा धेरै आवेदन दिनेहरु स्वत अयोग्य हुने अमेरिकी सरकारको विदेश मन्त्रालयले चेतावनी दिएको छ । कतिपयले एउटा भन्दा बढी आवेदन दिंदा डिभी पर्ने चान्स बढी हुने भ्रममा परेर धेरै आवेदन समेत दिने गरेका छन् । तर यसो गर्दा तपाईका सबै आवेदनहरु डिभीका लागि अयोग्य हुन्छन् । तपाईका कोही आफन्तले तपाईका नाममा डिभी भरिसकेका छन् भने पनि तपाईले अर्को डिभीको आवेदन दिनु हुँदैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com