गत महिना डाइभर्सिटी भिसा पाउने नेपाली विश्वमै दोश्रो, ३५७ जना नेपालीले पाए डिभी


प्रकाशित मिति : श्रावण १५, २०७९ आईतबार

गत महिना ३५७ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेको तथ्यांक अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक गरेको छ । एकमहिनाको अवधिमा यति धेरै डाइभर्सिटी भिसा प्राप्त गर्नेमा नेपालीहरु विश्वमै दोश्रो रहेका छन् ।

जुन महिनामा अर्मेनियाका ४७१ जनाले डाइभर्सिटी भिसा प्राप्त गरेका छन् । यो जुन महिनामा कुनै पनि देशका नागरिकले पाएको डाइभर्सिटी भिसामा विश्वमा नै सबैभन्दा धेरै हो । त्यपछि भिसा पाउनेहरु नेपालीहरु छन् ।

जुन महिनाका काठमाडौंको अमेरिकी दूतावासलेमात्र ३५१ जनालाई डाइभर्सिटी भिसा जारी गरेको छ । अन्य व्यक्ति अमेरिकामा नै स्टाटस एड्जस्ट गर्नेहरु र अन्य देशमा भिसा पाउने नेपालीहरु हुन् ।

जुन महिनामा भने अमेरिकी दूतावास काठमाडौंले गत महिना जम्मा ५४ जनालाईमात्र डाइभर्सिटी भिसा दिएको थियो । मे महिनामा विश्वभरबाट जम्मा ५९ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाएका थिए ।

त्यस अगाडि अप्रिलमा ६४६ जनालाई अमेरिकी दूतावास काठमाडौंले डाइभर्सिटी भिसा दिएको थियो । मार्च र अप्रिलमा अमेरिकी दूतावास काठमाडौंले उल्लेख्य संख्यामा डाइभर्सिटी भिसा जारी गरेको थियो । मार्चमा अमेरिकी दूतावास काठमाडौंले २९४ जना डिभी विजेताहरुलाई भिसा जारी गरेको थियो ।

डिभी २०२२ का विजेताहरुले अक्टोबरदेखि नै भिसा प्राप्त गर्नुपर्ने भएतापनि झण्डै साढे ५ महिनासम्म भिसा नदिएको अमेरिकाले मार्चको तेश्रोसातादेखि भिसा दिन सुरु गरेको हो । अक्टोबरदेखि मार्चको दोश्रोसातासम्म अमेरिकी दूतावास काठमाडौंले डिभी विजेताको अन्तरवार्ता समेत लिएको थिएन ।

मार्च २१ सोमबारदेखिमात्र डिभी विजेताहरुको अन्तरवार्ता लिन सुरु गरेको अमेरिकी दूतावासले जनाएको थियो । मार्चमा अन्य देशबाट भिसा पाउने र अमेरिकामा नै स्थीति समायोजन गर्नेहरुको समेत संख्या जोड्दा कुल भिसा प्राप्त गर्ने डिभी विजेता नेपालीहरुको संख्या भने ३ सय ४ रहेको थियो । अप्रिलमा यो संख्या ६ सय ६२ रहेको थियो । यसरी चालु आर्थिक बर्षमा जुनसम्मको गणना गर्दा १३८२ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाएका छन् ।

डिभी २०२२ का विजेताहरुले आगामी सेप्टेम्बरभित्र भिसा प्राप्त गरिसक्नुपर्ने प्रावधान रहेको छ ।

अमेरिकी विदेश मन्त्रालयका अनुशार आर्थिक बर्ष सन् २०२२ का लागि ३८०२ जना नेपालीहरुले डिभी लोटरी पारेका छन् । जुन एसियामा नै दोश्रो हो । एसियामा सबैभन्दा धेरै इरानका ५७३९ जनाले डिभी पारेका छन् ।

अमेरिकाले हरेकवर्ष डिभीबाट कति व्यक्ति अमेरिका आउन पाउने भन्ने कुराको निर्धारण गर्छ । गणना पूर्ण भइसकेपछि अमेरिको सरकारी निकायले त्यस्तो नम्बरको घोषणा गर्छ । तर कुनै पनि देशबाट कुल संख्याको ७ प्रतिशतभन्दा बढी व्यक्ति डाइभर्सिटी भिसामा अमेरिका आउन नपाउने नियम रहेको छ । जुन संख्या झण्डै ३८ सय हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com