जुलाईमा सबै डिभी विजेतालाई भिसा करेन्ट हुँदा एसियामा नेपालीलाई ६३ सयको सिमाबन्दी


प्रकाशित मिति : जेष्ठ २, २०७९ सोमबार

जुलाई महिनामा विश्वभरका सबै डिभी विजेतालाई भिसा करेन्ट हुँदा नेपाल र इजिप्टलाईमात्र सिमाबन्दी तोकिएको छ । एसियामा सबै देशका डिभी विजेताहरुको भिसा करेन्ट हुँदा नेपालीलाईमात्र सिमाबन्दी तोकिएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिन अनुशार जुलाई महिनामा एसियामा नेपाली डिभी विजेताहरुका लागिमात्र सिमाबन्दी तोकिएको हो ।

यस्तो सिमाबन्दी जुनका लागि पनि तोकिएको थियो । जुन महिनामा ५७ सयसम्म केस नम्बर हुने डिभी विजेता नेपालीहरुले भिसा पाउन सक्ने भएपनि जुलाईमा ६३ सयको सिमाबन्दी तोकिएको छ ।

अफ्रिकामा सबै देशका डिभी विजेतालाई भिसा करेन्ट हुँदा इजिप्टका लागि १३ सयसम्म केस नम्बरको सिमाबन्दी तोकिएको छ । युरोप, ओसियाना र साउथ अमेरिकाका सबै डिभी विजेताका लागि भिसा करेन्ट रहेको छ ।

डिभी २०२२ का डिभी विजेताहरुले अक्टोबर १ देखि अमेरिकाको भिसा पाउने प्रावधान रहेपनि कोही पनि नेपाली डिभी विजेतालाई अक्टोबर, नोभेम्बर, डिसेम्बर, जनवरी र फेब्रअुरीमा भिसा दिइएन । मार्चबाट अमेरिकी दूतावास काठमाडौंले डिभी विजेताको अन्तरवार्ता लिन सुरु गरेको हो । २०२२ का डिभी विजेताहरुले आगामी सेप्टेम्बरभित्र भिसा प्राप्त गरिसक्नुपर्ने प्रावधान रहेको छ ।

अमेरिकी दूतावास काठमाडौं

आर्थिक बर्ष सन् २०२२ का लागि गत मे ८ मा डिभी लोटरीको नतिजा सार्वजनिक गरिएको थियो । अमेरिकी विदेश मन्त्रालयका अनुशार आर्थिक बर्ष सन् २०२२ का लागि ३८०२ जना नेपालीहरुले डिभी लोटरी पारेका छन् । जुन एसियामा नै दोश्रो हो । एसियामा सबैभन्दा धेरै इरानका ५७३९ जनाले डिभी पारेका छन् ।

बढीमा ५५ हजार डिभी विजेताहरुले भिसा पाउनसक्ने भएतापनि १ लाख १९ हजार २१ जनाले सन् २०२२ को डिभी पारेका छन् । उनीहरुमध्ये कैयन अयोग्य हुनसक्ने भएकाले अमेरिकाले भिसा दिने नम्बरभन्दा धेरैलाई डिभी पार्दै आएको छ ।

सन् २०२२ का लागि कुल ७३ लाख ३६ हजार ३ सय २ जनाले डिभी भरेका थिए । आफन्तहरुसहित सन् २०२२ को डिभीमा सहभागी हुनेहरु विश्वभरबाट कुल १ करोड ३१ लाख ९१ हजार २ सय ९६ जना रहेका थिए ।

अमेरिकी सरकारको विदेश मन्त्रालयले डिभी २०२२ का विजेताहरुका लागि केन्टकी सर्भिस सेन्टरमा डीएस २६० आप्रवासी भिसा आवेदन फर्ममात्र बुझाए पुग्ने व्यवस्था गरेको छ । उनीहरुले आफ्नो र साथमा अमेरिका आउने परिवारका सदस्यहरुको डीएस २६० फर्म बुझाउनुपर्ने र अन्य थप कागजात आवश्यक नपर्ने जनाइएको छ ।

केससँग सम्बन्धित सबै आवेदकको डीएस २६० आप्रवासी भिसा आवेदन फर्म प्राप्त गरिसकेपछि केन्टकी सर्भिस सेन्टरले भिसा अन्तरवार्ता तय गर्नेछ । दूतावास वा कन्सुलेटमा भिसा अन्तरवार्ता तय गर्नका लागि आवेदकले केन्टकी सर्भिस सेन्टरमा थप कागजातहरु बुझाउन नपर्ने विदेश मन्त्रालयले स्पष्ट पारेको छ ।

थप कागजातहरु दूतावास वा कन्सुलेटमा अन्तरवार्ताका समयमा संकलन गरिने भएको छ । अमेरिकी कानूनले भिसाको योग्यता पूरा गर्नका लागि आवेदकले सबै आवश्यक कागजातहरु बुझाउनुपर्ने व्यवस्था गरेको छ ।

आवश्यक कागजात नबुझाएको खण्डमा दूतावास वा कन्सुलेटले भिसा अस्वीकृत गर्ने जनाइएको छ । कागजातको अभावका कारण भिसा अस्वीकृत भएको अवस्थामा पछि कागजातहरु पेश गरेर भिसा प्राप्त गर्नभने सकिने विदेश मन्त्रालयले स्पष्ट पारेको छ । आवश्यक सबै कागजातका साथ अन्तरवार्ताकै समयमा भिसाका लागि योग्यता प्रमाणित गर्न सुझाव दिइएको छ ।

अन्तवार्ताभन्दा अगाडि भिसा आवेदकले राम्रोसँग तयारी गरेको र आवश्यक कागजात सुरक्षित रहेको सुनिश्चित गर्न केन्टकी सर्भिस सेन्टरले आवेदनहरु पूर्व प्रकृयामा लैजादै आएको छ । यसले कन्सुलर सेक्सनको प्रभावकारिता बढाउनुका साथै आवश्यकहरुलाई आफ्नो योग्यता प्रमाणित गर्न सहयोग गरेको थियो ।

केन्टकी सर्भिस सेन्टरमा कागजात प्रमाणिकरण गर्दा लामो समय लाग्ने भएपछि डिभी विजेताहरुले समयमा भिसा पाउन नसकेको अवस्थामा सबै उपलब्ध डिभी अप्वाइन्टमेन्टहरुको प्रयोग गर्नका लागि नयाँ नियम ल्याइएको अमेरिकी विदेश मन्त्रालयको भनाई छ । यसलाई पाइलट कार्यक्रमका रुपमा ल्याइएको र बर्षको अन्तिममा कार्यक्रमको लागत र लाभबारे विश्लेषण गरिने जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com