म अमेरिकामा छु, डिभीमा छनोट भएमा कसरी ग्रिनकार्ड पाउने ?


प्रकाशित मिति : बैशाख २८, २०७९ बुधबार

अध्यागमन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २४५ को शर्तअनुसार जो व्यक्ति संयुक्त राज्य अमेरिकामा भौतिक रूपमा उपस्थित छन् उनीहरूले डिभी परेको खण्डमा युएससीआईएसमा स्थायी बसोबासको लागि निवेदन दिन सक्छन्।

डिभी परे नपरेको चेक गर्दा डिभी परेको भएमा तीनवटा विकल्पहरु प्रदान गरिन्छ । एउटा तोकिएको स्थानमा अन्तरवार्ता तय गर्ने, अर्को उक्त स्थानको साटो अर्को दूतावास वा कन्सुलेट रोज्ने वा अमेरिकामा नै भएको खण्डमा युएससीआईएसमा आफ्नो केस पठाउनका लागि अनुरोध गर्ने विकल्पमध्ये तेश्रो विकल्प रोजेर अनलाइन सब्मिट गर्नुपर्छ ।

युएससीआईएस लाई आफ्नो केसउपर कार्यवाही गर्नका लागि पर्याप्त समय दिनुपर्दछ ताकि उसले तपाईँको विदेशमा रहेको  पति /पत्नी वा २१ वर्ष मुनिका सन्तान लगायतको केसउपर सन् २०२३ सेप्टेम्बर ३० अगाडि नै सबै प्रक्रिया सम्पन्न गर्न सकोस् ।

किनभने  त्यस मितिपछि डिभी–२०२३ कार्यक्रम समाप्त हुन्छ । अहिलेको नियम अनुशार सन् २०२३ सेप्टेम्बर ३० को मध्यरातपछि डिभी–२०२३ कार्यक्रमको लागि प्रवेशाज्ञा नम्बर उपलब्ध हुने छैन ।

अमेरिकामा रहेका कस्ता व्यक्ति योग्य ?

अमेरिकामा गैरकानुनी उपस्थीति नभएको र स्वीकार्य रहेको व्यक्तिले अमेरिकामा रहेकै अवस्थामा डिभी लोटरी प्राप्त गरेको खण्डमा ग्रिनकार्ड प्राप्त गर्नका लागि योग्य हुनसक्ने युएससीआईएसकी प्रवक्ता क्याथरिन टिकचेकले जानकारी दिएकी छिन् । जसमा विद्यार्थी लगायतका विभिन्न प्रकारका गैर आप्रवासी भिसामा रहेकाहरु समेत पर्छन् ।

उनले भनेकी छिन् – ‘यदि कोही व्यक्ति डिभीमा छनौट भएपछि स्टाटस एड्जस्टमेन्ट फाइल गर्दासम्म अमेरिकामा स्वीकार्य व्यक्तिका रुपमा रहेको खण्डमा त्यस्तो व्यक्ति डिभीमा छनौट भएको आधारमा ग्रिनकार्ड प्राप्त गर्न योग्य हुन्छ । अस्वीकार्य हुनुका साधारण श्रेणीहरुमा स्वास्थ्य, आपराधिक गतिविधि, राष्ट्रिय सुरक्षा, पब्लिक चार्ज, जालसाजी, विगतमा देशनिकाला वा अमेरिकामा गैरकानुनी उपस्थीति लगायत पर्छन् ।’

त्यस्तै युएससीआईएसको नीति निर्देशिकामा राम्रो पेन्डिङ एसाइलम भएको अवधिलाई गैरकानुनी उपस्थीति गणना नगरिने उल्लेख छ । नीति निर्देशिकामा भनिएको छ – ‘यदि आवेदकको राम्रो एसाइलम आवेदन पेन्डिङ अवस्थामा रहेको छ भने त्यो अवधिलाई गैरकानुनी उपस्थीतिका रुपमा गणना गर्नु हुँदैन । तर उक्त अवधिमा एसाइलम आवेदकले वर्क परमिट विना काम गरेको हुनुहुँदैन । अनाधिकृत रोजगारले एसाइलम आवेदन दिएको व्यक्तिलाई यस्तो छुटका लागि अयोग्य बनाउनेछ ।’

नीति निर्देशिकाको स्क्रीनशट

त्यस्तै इमिग्रेशन एण्ड नेशनालिटी एक्टको भाग ११८२ मा भनिएको छ – ‘आवेदकले उक्त अवधिमा वर्क परमिटविना काम गरेको नभएसम्म राम्रो एसाइलम आवेदन पेन्डिङ रहेको कुनै पनि अवधिलाई अमेरिकामा गैरकानुनी उपस्थीति निर्धारण गर्दा गणना गरिने छैन ।’

इमिग्रेशन एण्ड नेशनालिटी एक्टको भाग ११८२ को अपवाद सम्बन्धि बुँदाको स्क्रीनशट ।

यसबारे कानुन व्यवसायी रमेश श्रेष्ठले थप व्याख्या गर्नुभएको छ । भिसा अद्यावधिक छँदै एसाइलम फाइल गरेको व्यक्तिको पेन्डिङ एसाइलम रहेको खण्डमा उसले अमेरिकामा नै रहेको अवस्थामा डिभी भरेर डिभी परेको खण्डमा ग्रिनकार्ड प्राप्त गर्नसक्ने उहाँले जानकारी दिनुभयो ।

तर स्टाटस एडजस्टमेन्टका लागि फाइल गर्नु अगाडि नै एसाइलमको अन्तरवार्ता आएमा भने डिभीबाट ग्रिनकार्ड प्राप्त गर्नमा समस्या हुने उहाँले बताउनुभयो । अर्थात् स्टाटस एडजस्टका लागि फाइल गर्दा एसाइलम पेन्डिङ अवस्थामा नै रहेको हुनुपर्नेछ ।

पेन्डिङ एसाइलम हुनेहरुले डिभी भरेर डिभी परेमा त्यसबाट ग्रिनकार्ड प्राप्त गर्नका लागि एसाइलम आवेदन दिनुभन्दा अगाडि एकदिनपनि गैरकानुनी उपस्थीति भने भएको हुन नहुने उहाँले जानकारी दिनुभयो । त्यस्तै टीपीएसमा जानु अगाडि एकदिनपनि गैरकानुनी उपस्थीति नभएको व्यक्तिले पनि डिभी भरेर डिभी परेमा त्यसबाट ग्रिनकार्ड प्राप्त गर्नसक्ने उहाँले जानकारी दिनुभयो । तर डिभीबाट स्टाटस एड्जस्टका लागि फाइल गर्ने बेलासम्म भने टीपीएस कायमै हुनुपर्ने उहाँको भनाई छ ।

कानुन व्यवसायी रमेश श्रेष्ठ

गैरकानुनी उपस्थीति नभएको टीपीएसवाहकहरुका सन्दर्भमा डिभी भरेर डिभी डिभी परेमा त्यसबाट ग्रिनकार्ड प्राप्त गर्नसक्ने श्रेष्ठले जानकारी दिनुभयो । तर डिभीबाट स्टाटस एड्जस्टका लागि फाइल गर्ने बेलासम्म भने टीपीएस कायमै हुनुपर्ने उहाँले स्पष्ट पानुभयो ।

पेन्डिङ एसाइलम हुने टीपीएसवाहक ६ महिनाभन्दा कम अवधिमात्र गैरकानुनी उपस्थीति भएको भएमा रोजगारमा आधारित ग्रिनकार्डका लागि भने योग्य हुनसक्ने उहाँले बताउनुभयो । त्यस्तै पेन्डिङ एसाइलम नभएका टीपीएसवाहकले पनि टीपीएसमा जानु अगाडि ६ महिनाभन्दा कम अवधि मात्र गैरकानुनी उपस्थीति भएको भएमा रोजगारमा आधारित ग्रिनकार्डका लागि भने योग्य हुनसक्ने छन् । तर उनीहरु डिभीबाट ग्रिनकार्ड पाउन योग्य हुँदैनन् ।

अमेरिकामा विद्यार्थी वा अन्य अद्यावधिक भिसामा रहेकाहरु पनि डिभी लोटरी भरेर परेको खण्डमा त्यसबाट ग्रिनकार्ड प्राप्त गर्न योग्य हुनसक्नेछन् । तर स्टाटस एड्जस्ट फाइल गर्ने बेलासम्म उनीहरुको भिसा अद्यावधिक नै रहेको हुनुपर्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com