भिसा नपाउँदा डिभी विजेता अन्यौलमा, ‘प्रणालीमा अपडेट भइरहेकाले अप्रिलपछिमात्र भिसा’: सरकार


प्रकाशित मिति : पुस ३०, २०७८ शुक्रबार

एकातिर डिभी विजेताहरुले भिसा प्राप्त गर्न नसक्दा अन्यौल छाइरहेको छ भने अमेरिकी विदेश मन्त्रालयले भने डिभी २०२० र २०२१ का संरक्षित भिसाहरु जारी गर्न प्रणालीमा अपडेट गरिरहेको जनाएको छ ।

डिभी २०२० र २०२१ का संरक्षित भिसाहरु अप्रिलभन्दा अगाडि जारी गर्न नसक्ने र अप्रिलपछिमात्र जारी गर्न सकिने अमेरिकी विदेशमन्त्रालयले स्पष्ट पारेको छ । सफ्टवेयरमा आवश्यक परिवर्तन र अन्य तयारीहरु आवश्यक भएका कारण अप्रिलभन्दा अगाडि भिसा जारी गर्न नसकिने विदेश मन्त्रालयले जनाएको हो ।

विदेश मन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्स भिसा अफिसका तर्फबाट विभाग प्रमुख आन्द्रस एन्ड्रिया ह्वीटंगका तर्फबाट अदालतमा पेश गरिएको कागजातमा संरक्षित भिसाहरु जारी गर्न सुरु गर्न ४ महिना लाग्ने उल्लेख गरिएको हो । संरक्षित भिसा जारी गर्नका लागि अदालतले दिएको आदेश कार्यान्वयन गर्न विदेशमन्त्रालयका नीति विश्लेषक र प्रविधि विज्ञहरुले कस्तो प्राविधिक र परिचालन परिवर्तन आवश्यक छ भन्नेबारे मूल्यांकन गरिरहेको विदेश मन्त्रालयको भनाई छ ।

अमेरिकी विदेशमन्त्रालयको विद्यमान सुचना प्रविधि प्रणाली डिभी विजेताहरुलाई सम्बन्धित आर्थिक बर्षका लागिमात्र भिसा जारी गर्नका लागि बनाइएको र बन्द भइसकेका आर्थिक बर्षको डिभीको रेकर्ड प्राप्त गरेर भिसा जारी गर्नका लागि विदेश मन्त्रालयमा प्रविधिको संसोधन आवश्यक भएकाले भिसा जारी गर्न समय लाग्ने विदेश मन्त्रालयले स्पष्ट पारेको छ । त्यस्तै विदेश मन्त्रालयको प्राविधिक संरचना पनि एउटा आर्थिक बर्षको डिभी कार्यक्रम संचालन गर्नका लागिमात्र बनाइएको अदालतमा पेश गरिएको कागजातमा जनाइएको छ ।

विगतका आर्थिक बर्षको संरक्षित डाइभर्सिटी भिसा जारी गर्नका लागि अहिले विदेश मन्त्रालयले प्रविधिमा आवश्यक सुधारको काम गरिरहेको उल्लेख गरेको छ । डिसेम्बर ९ मा कन्सुलर सिस्टम एण्ड टेक्नोलोजी सीएसटीले बुझाएको रिपोर्ट अनुशार आर्थिक बर्ष २०२२ को डिभीमा कुनै नकारात्मक असर नपर्ने गरी २०२० र २०२१ का संरक्षित भिसा जारी गर्न केही समय लाग्ने उल्लेख गरिएको छ । लेभलअ फ इफोर्टको विश्लेषण अनुशार उक्त तयारीका लागि कम्तीमा ४ महिना लाग्ने विश्लेषण गरिएको छ ।

प्रणालीमा गरिने परिवर्तनसँगै भिसा अफिसले हरेकका लागि फरक फरक भिसा कोडी बनाउने प्रणालीको समेत विकाश गरिरहेको जनाइएको छ । अदालतको आदेश अनुशार जारी हुने भिसा र आर्थिक बर्ष २०२२ का नियमित डाइभर्सिटी भिसाको अन्तर विदेश मन्त्रालयले सहजै छुट्याउनका लागि नयाँ भिसा कोड बनाउन लागेको जनाएको छ ।

४ वटा विभिन्न मुद्दामा अमेरिकी अदालतले आर्थिक बर्ष २०२० र २०२१ का डिभी विजेताका भिसा संरक्षणको आदेश दिएको हो । गोमेज मुद्दामा अदालतले २०२० का ९०९५ डिभी विजेताको भिसा संरक्षणको आदेश दिएको थियो भने गुडलक केसमा २०२१ का ६९१४ विजेताको भिसा संरक्षणको आदेश दिइएको थियो । त्यस्तै गोह केसमा डिभी २०२१ का ४८१ र राई केसमा डिभी २०२१ का ९९६ भिसा संरक्षणको आदेश दिइएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com