चारुमति बौद्ध विहारमा ‘विशेष उत्सव’


प्रकाशित मिति : जेष्ठ २६, २०७४ शुक्रबार

चाबहिलस्थित चारुमति बौद्ध विहारले सो स्थानमा बौद्ध चैत्य स्थापनाका लागि सम्राट अशोकले धर्मदूत पठाएको स्मरणस्वरुप आज साँझ ‘विशेष उत्सव’ आयोजना गरेको छ ।

विश्व शान्तिको कामना गर्दै बौद्ध प्रार्थना पूजा तथा सामाजिक न्यायका लागि विभिन्न समयमा विभिन्न स्थानमा बुद्धले दिएका उपदेशका बारेमा जानकारी गराइएको थियो ।

ठूलो नरसंहार गरेर सम्राट भएका अशोकले पश्चाताप गर्दै बौद्ध दर्शन तथा उपदेश प्रचारका लागि तत्कालीन नेपाल मण्डलका साथै श्रीलङ्का, बर्मा, थाइल्यान्डलगायत विभिन्न मुलुकमा आफ्ना छोरा, छोरी तथा विश्वासिला दूत पठाएका थिए ।

 

लुम्बिनीमा जन्मेका सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेपछि शाक्यमुनि बुद्धका रुपमा परिचित भई मानव कल्याणका लागि विश्व शान्ति, भ्रातृत्व, मानवीय संवेदना, सामाजिक न्याय तथा जन्म, मृत्युलगायत विषयमा दार्शनिक चिन्तनको विकास गरेका थिए । ती दर्शन तथा साहित्यलाई अशोकले प्रवद्र्धन गर्नुका साथै लुम्बिनीमा अशोकस्तम्भ गाडेका थिए ।

विभिन्न भागमा छरिएका राज्यलाई एकीकृत गरी पृथ्वीनारायण शाहको नेतृत्वमा आधुनिक नेपाल निर्माण भएपछि देशमा भएका विभिन्न राजनीतिक उतार चढावका कारण बुद्ध दर्शनको प्रचारप्रसारमा पनि प्रभाव पारेको पाइन्छ ।

सो विहारका प्रमुख भिक्षु तपस्सी धम्मले प्रत्येक वर्ष जेठ पूर्णिमाका दिन विभिन्न धार्मिक गतिविधि गरी बुद्धले प्राप्त गरेको बुद्धत्व तथा बौद्ध साहित्यको विकासमा सम्राट अशोकले गरेको योगदानका बारे सर्वसाधारणलाई प्रवचन तथा प्रसाद वितरण गर्दै आएको जानकारी दिनुभयो । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com