डिभी २०२० का विजेताले इन्ट्रेण्ट स्टाटस चेक गर्न सकिने भन्दै अपडेट सरकारी वेवसाइट गडबड


प्रकाशित मिति : आश्विन १८, २०७८ सोमबार

डिभी २०२० का संरक्षित भिसा प्रकृया अगाडि बढाउन अमेरिकी सरकारको विदेश मन्त्रालयले डिभी लोटरीबारेको वेवसाइट अपडेट गरेको थियो । तर त्यहाँ गएर डिभी २०२० को कन्फर्मेशन नम्बर हालेर हेर्दा प्रणालीले काम नगरेको डिभी २०२० का विजेताहरुले गुनासो गरेका छन् ।  अदालतले डिभी २०२० र २०२१ का हजारौं भिसाहरु संरक्षित गरेपनि डिभी २०२१ को कन्फर्मेशन नम्बर हाल्दा समेत उक्त नम्बर मान्य नभएको भन्दै सुचना आएको गरेको छ ।

गतमहिना अमेरिकाको संघीय अदालतले २०२० का ९०९५ डिभी विजेताको भिसा प्रकृया अगाडि बढाउन सरकारलाई आदेश दिएको थियो । न्यायाधिस अमित मेहताले विगतमा संरक्षणको आदेश दिइएका ९ हजार ९५ भिसा जारी गर्नका लागि प्रकृया अगाडि बढाउन आदेश दिएका थिए । अमेरिकी सरकारको विदेश मन्त्रालयले अहिलेसम्म यसबारे कुनै प्रकृया सुरु भने गरेको थिएन । अहिले वेवसाइटको गृहपृष्ठमा २०२० को स्टाटस हेर्न सकिने त बताइएको छ तर वास्तविक रुपमा प्रणालीमा भने कुनै अपडेट नगरिएको देखिएको छ ।

डिभीबारेको सरकारी वेवसाइटबाट गतबर्षको अक्टोबर १ बाट डिभी २०२० का विजेताहरुले इन्ट्रेन्ट स्टाटस चेक गर्न सकिने व्यवस्था हटाइसकिएको थियो । तर सरकारले २०२० को विकल्प समेत वेवसाइटमा थप गरेको छ । तर त्यसले काम भने गरेको छैन ।  यद्यपी बाइडेन प्रशासनले यस अगाडि आर्थिक बर्ष २०२० का ९०९५ डिभी विजेतालाई आर्थिक बर्ष २०२३ मामात्र भिसा जारी गर्न सकिने तर्क गरेको थियो ।

 

आर्थिक बर्ष २०२० का  ९ हजार ९५ जना डिभी विजेतालाई केस नम्बरका आधारमा नभई र्याण्डम आधारमा भिसा प्रकृया अगाडि बढाइनेछ । ९ हजार ९५ संख्या नपुग्दासम्म उनीहरुले भिसा पाउनेछन् । त्यसपछि बाँकी रहेकाहरुले भने भिसा पाउनेछैनन् ।

कोरोनाको महामारी र तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशका कारण आर्थिक बर्ष २०२० का ठूलो संख्यामा डिभी विजेताहरुले भिसा पाउन सकेका थिएनन् ।

आर्थिक बर्ष २०२० का लागि ३६९६ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए । तर उनीहरुमध्ये झण्डै साढे १३ सय जना प्राथमिक डिभी विजेताहरुलेमात्र अमेरिकाको भिसा प्राप्त गर्न सफल भए । बाँकी झण्डै २३ सय नेपालीहरुले भिसा पाउन सकेका छैनन् ।

उनीहरुमध्ये कतिपयको त भिसाका लागि अन्तरवार्ताको मिति समेत तय भइसकेको थियो । उनीहरु अमेरिका आउन पाउनेमा लगभग ढुक्क रहेका थिए । तर कोरोना महामारी र ट्रम्पको कार्यकारी आदेशका कारण अन्तरवार्ता हुन सकेको थिएन ।

ट्रम्पले कार्यकारी आदेशमार्फत सन् २०२० को भिसाको औचित्य समाप्त गरेकोमा संघीय अदालतले त्यसको बिरुद्धमा फैसला गरेपछि सेप्टेम्बरमा ४०४ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । जसमध्ये २२५ जना प्राथमिक डिभी विजेता नेपाली रहेका थिए भने १०५ जना उनीहरुका दम्पत्ति थिए । त्यस्तै ७४ जना उनीहरुका छोराछोरीहरु रहेका थिए ।

अमेरिकी दूतावास काठमाडौं

काठमाडौंमा रहेको अमेरिकी दूतावासलेमात्र गतबर्षको सेप्टेम्बरमा ३७९ जना डिभी विजेताहरुलाई भिसा जारी गरेको थियो । जसमध्ये २१२ जना प्राथमिक डिभी विजेताहरु, ९५ जना उनीहरुका दम्पत्ति र ७२ जना उनीहरुका छोराछोरीहरु रहेका थिए । अदालतको आदेशपछि आफूहरुले सकेजतिलाई भिसा जारी गरेको काठमाडौंस्थीत नेपाली दूतावासले जनाएको थियो ।

अदालतले डिभी २०२१ का पनि कुल ८३६१ भिसा संरक्षण गर्न अमेरिकी सरकारलाई आदेश दिएको छ । गुड लक भर्सेस बाइडेन मुद्दामा अदालतले ६९१४ विजेताका भिसा संरक्षण गर्न अमेरिकी सरकारलाई आदेश दिएको छ भने अरु थप दुई वटा आदेशमा ४८१ र ९६६ भिसा संरक्षणको आदेश दिइएको हो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com