हाइस्कुलको शिक्षा छैन? यी पेशामा विगत पाँचबर्षभित्र दुईबर्षको अनुभव भए डिभीका लागि योग्य


प्रकाशित मिति : आश्विन १६, २०७८ शनिबार

हाइस्कुल स्तरको शिक्षा नभएपनि डिभी लोटरी भरेर अमेरिका जानका लागि योग्य हुनसक्ने जनाइएको छ । अमेरिकी सरकारले तोकेको काममा अनुभव भएमा शैक्षिक योग्यता नभएपनि डिभी लोटरीको लागि योग्य हुने प्रावधान रहेको छ ।

अमेरिकी सरकारले तोकेका जागिरहरुमा विगत पाँचबर्षभित्र दुईबर्षको अनुभव भएको व्यक्ति डिभी लोटरीका लागि योग्य हुने अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेटले जनाएको छ ।

अमेरिकी सरकारले डिभी लोटरीका लागि पहिलो योग्यताका रुपमा हाइस्कुल स्तर (१२ कक्षासम्म) को शिक्षा तोकेको छ । यदि हाइस्कुल स्तरको शिक्षा नभएको खण्डमा अमेरिकी सरकारले तोकेका कामममा दुईबर्षको अनुभव भएका व्यक्ति पनि डिभी लोटरीका लागि योग्य हुनेछन् ।

अमेरिकी सरकारले तोकेका एसभीपी ७ भन्दा माथि भएका र जोन ४ र ५ मा पर्ने जागिरहरुमा दुईबर्षको तालिम वा अनुभव भएको खण्डमा डिभी लोटरीका लागि शैक्षिक योग्यता नभएपनि योग्य हुनसक्ने प्रावधान रहेको छ ।

जसअनुशार हाइस्कुल स्तरको शिक्षा नभएको खण्डमा गायकहरु डिभी लोटरीका लागि योग्य हुँदैनन् तर कवि, गितकार साहित्यकार, लेखकहरु दुईबर्षको तालिम वा अनुभव भएको खण्डमा डिभी लोटरीका लागि योग्य हुन्छन् ।

दुईबर्षको अनुभव वा तालिम भएको खण्डमा सेक्युरिटी मेनेजर, होलसेल सेल्स रेप्रेजेन्टेटिभ, सेल्स मेनेजरहरु पनि योग्य हुन्छन् तर खुद्रा ब्यापारीहरु भने योग्य हुँदैनन् ।

त्यस्तै कला, डिजाइन, मनोरञ्जन, खेलकुद र संचारमाध्यममा कार्यक्रम निर्देशकहरु , पु्रफरिडरहरु, कला, डिजाइन, मनोरञ्जन, खेलकुद र संचारमाध्यममा कार्यक्रम प्रोड्युसरहरु, कला, डिजाइन, मनोरञ्जन, खेलकुद र संचारमाध्यममा संगितकारहरु पनि योग्य हुन्छन् तर मोडलहरु भने योग्य हुँदैनन् ।

लाइब्रेरियन, कला, नाटक, संगितका शिक्षक लगायतका पेशामा दुईबर्षको अनुभव र तालिम भएकाहरु पनि डिभी लोटरीका लागि योग्य हुन्छन् ।

तपाईको पेशा डिभी लोटरीका लागि योग्य भएनभएको जाँच गर्न यो लिंकमा क्लिक गर्न सक्नुहुनेछ ।

क्लिक गरिसकेपछि तपाईले आफ्नो पेशा छान्नुहोस् । त्यो पेशामा क्लिक गरेर हेर्दा यदि त्यो पेशा जब जोन ४ वा ५ मा परेमा र त्यसलाई एसभीपी ७ वा त्यो भन्दा माथि रेटिङ गरिएको भएमा त्यो काम डिभी लोटरीका लागि योग्य मानिन्छ ।

अक्टोबर ६ देखि डिभी लोटरी २०२३ भर्न सकिने

अमेरिकी सरकारको विदेश मन्त्रालयले डिभी लोटरी २०२३ का लागि दर्ता मिति घोषणा गरेको छ । न्युयोर्क समय अनुशार अक्टोबर ६ बुधबार मध्यान्ह १२ बजेदेखि नोभेम्बर ९ मंगलबार मध्यान्ह १२ बजेसम्म डिभी लोटरी भर्न सकिने भएको छ । नेपाली समय अनुशार आगामी बुधबार बेलुका पौने १० बजेदेखि डिभी लोटरी भर्न सकिनेछ ।

डिभी २०२३ का विजेताहरुले सन् २०२३ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्नसक्नेछन् भने नतिजा सन् २०२२ को मे महिनामा आउनेछ । विगतमा डिभी लोटरीमा सहभागी भएकाहरुले पनि यसपटक डिभी भर्न सक्नेछन् ।

यसपटक डिभी भर्नका लागि बंगालादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमेनिकन रिपब्लिक, एल साल्भाडोर, हैटी, होण्डुरस, इन्डिया, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स, साउथ कोरिया, यूके, भेनेजुएला र भियतनामका नागरिकहरु योग्य हुनेछैनन् । तर मकाउ र ताइवानका भने योग्य हुनेछन् । विगत ५ बर्षमा ५० हजारभन्दा धेरै आप्रवासीहरु अमेरिकामा बसाइ सराइ गरेका देशका नागरिक डिभी भर्न योग्य हुँदैनन् ।

डिभीका लागि योग्य नभएका देशका नागरिकको दम्पत्ति योग्य देशको भएको खण्डमा त्यस्ता व्यक्ति डिभीका लागि योग्य हुनसक्नेछन् । त्यस्तै बुबाआमामध्ये एक कुनै योग्य देशमा जन्मिएको भएमा पनि छोराछोरीहरुले उक्त देशको आधारमा डिभी भर्न सक्नेछन् ।

सबैभन्दा बढी ध्यानदिनु पर्ने कुराहरु

१, डिभीका लागि योग्य हुन १२ कक्षासम्मको अध्ययन वा तोकिएको कामको अनुभव भएको हुनुपर्छ ।यदि तपाईहरुसँग यी योग्यताहरु छैनन् भने डिभी नभर्नुहोला । कतिपयले नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्दा प्रहरी खोरमा पुग्नुका साथै अमेरिका प्रवेशमा सधैका लागि प्रतिबन्ध समेत भोग्नु परेको छ ।

२, डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरु बुझाउनुपर्छ । विगतमा प्रयोग भएको वा ६ महिनाभन्दा पुरानो फोटो डिभी भर्दा प्रयोग नगर्न सुझाव दिइएको छ । कतिपयले पहिले नै डिभी भर्दा प्रयोग भएको फोटो पटकपटक प्रयोग गर्दै आएका हुन्छन् । त्यस्तै कतिपयले अमेरिकाको भिसामा पहिले प्रयोग भएको फोटो समेत डिभी भर्दा प्रयोग गर्छन् । यस्तो गल्ती नगर्नुहोला । नयाँ फोटो खिचेर डिभी भर्नुहोला । पूरानै फोटो प्रयोग गर्दा डिभीका लागि अयोग्य हुने सम्भावना रहन्छ ।

३, डिभी भर्दा विवाहितले दम्पत्तिको सबै विवरण र बच्चाबच्ची हुनेहरुले उनीहरुको सम्पूर्ण विवरण उल्लेख गर्नुपर्छ । एकल उल्लेख गरेर भर्दा पर्ने सम्भावना बढी हुन्छ भन्ने भ्रममा परेर समेत कतिपयले एकल उल्लेख गर्छन्, जुन गलत हो ।  डिभी भर्दा एकल भरेका विवाहितले डिभी परेपछि समस्या भोग्दै आएका कैयन उदाहरणहरु छन् । त्यस्तै डिभी भर्दा छोराछोरीको विवरण उल्लेख नगरेकाहरुले पनि डिभी परेपछि भिसा लिने बेलामा समस्या भोग्दै आएका छन् । कतिपयको भिसा समेत अस्वीकृत हुने गरेको छ । त्यसैले डिभी भर्दा दम्पत्ति र छोराछोरीको सम्पूर्ण विवरण उल्लेख गर्न सुझाव दिइएको छ ।

४, डिभी भर्दा सरकारको आधिकारिक वेवसाइटबाटमात्र भर्नुपर्छ । अक्टोबर ६ पछि सरकारको आधिकारिक वेवसाइटमा डिभी भर्ने लिंक उपलब्ध हुनेछ । त्यसका लागि यहाँ क्लीक गर्नुहोला ।  कुनै तेश्रो संस्था वा व्यक्ति वा वेवसाइटमार्फत डिभी भर्दा ठगिने र रकम गुमाउनेमात्र होइन आफ्ना विवरणहरु समेत चोरिने सम्भावना हुन्छ ।

५, एउटाभन्दा धेरै आवेदन दिनेहरु स्वत अयोग्य हुने अमेरिकी सरकारको विदेश मन्त्रालयले चेतावनी दिएको छ । कतिपयले एउटा भन्दा बढी आवेदन दिंदा डिभी पर्ने चान्स बढी हुने भ्रममा परेर धेरै आवेदन समेत दिने गरेका छन् । तर यसो गर्दा तपाईका सबै आवेदनहरु डिभीका लागि अयोग्य हुन्छन् । तपाईका कोही आफन्तले तपाईका नाममा डिभी भरिसकेका छन् भने पनि तपाईले अर्को डिभीको आवेदन दिनु हुँदैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com