डिभी २०२१ का कुल ८३६१ भिसा संरक्षण गर्न अदालतको आदेश, आगामी दिनमा पनि जारी गरिने


प्रकाशित मिति : आश्विन १४, २०७८ बिहीबार

अदालतले डिभी २०२१ का कुल ८३६१ भिसा संरक्षण गर्न अमेरिकी सरकारलाई आदेश दिएको छ । गुड लक भर्सेस बाइडेन मुद्दामा अदालतले ६९१४ विजेताका भिसा संरक्षण गर्न अमेरिकी सरकारलाई आदेश दिएको छ भने अरु थप दुई वटा आदेशमा ४८१ र ९६६ भिसा संरक्षणको आदेश दिइएको हो ।

डिभी २०२१ को भिसा जारी गर्ने डेडलाइन समाप्त हुने दिन वासिंटन डिसीको अदालतका न्यायाधिस अमित मेहताले भिसा संरक्षणको आदेश दिएका हुन् ।

डिभी २०२१ का विजेताका लागि सन् २०२१ को सेप्टेम्बर ३० भित्र भिसा जारी गर्ने नियम भएपनि अदालतको आदेश पछि सरकारले आगामी दिनमा ८३६१ डिभी विजेताका लागि भिसा जारी गर्नुपर्नेछ ।

मेहताले कुल डिभी २०२१ का लागि ७ हजार ३ सय ९५ भिसा संरक्षणको आदेश दिएका हुन् । यसै साताको सुरुमा न्यायाधिस तान्या चुटकानले २०२१ का डिभी विजेताका लागि थप ९६६ भिसा संरक्षणको आदेश दिएकी थिइन् ।

चुटकान र मेहताले गरी डिभी २०२१ का कुल ८ हजार ३ सय ६१ भिसा संरक्षणको आदेश दिएका छन् । यी भिसाहरु कहिलेदेखि जारी गर्न सुरु गर्ने भन्नेबारे अदालतले केही बताएको छन् ।

बुधबार अदालतमा सरकारका तर्फबाट गरिएको फाइलिङमा सेप्टेम्बर २६ सम्म आर्थिक बर्ष २०२१ का १५ हजार १ जनालाई डाइभर्सिटी भिसा जारी गरिएको जनाइएको छ ।

अमेरिकी विदेश मन्त्रालयले १८ हजार ७ सय ३१ आवेदन प्रकृयामा लगेकोमा ३७ सय ३० आवेदन अस्वीकृत भएको र १५ हजार १ जनालाई भिसा जारी गरिएको सरकारी रेकर्डमा उल्लेख छ । त्यसपछिका ४ दिनमा पनि डाइभर्सिटी भिसा जारी गरिएको छ तर कतिजनालाई जारी गरियो भन्नेबारेको रेकर्ड भने अझै सार्वजनिक गरिएको छैन ।

त्यस्तै केन्टकी कन्सुलर सेन्टरका निर्देशकका तर्फबाट अदालतमा पेश गरिएको विवरणमा डिभी २०२१ का विजेताहरुमध्ये ५० हजार ७ सय ५६ जनाबाट केन्टकी कन्सुलर सेन्टरले डीएस २६० अर्थात् आप्रवासी भिसा आवेदन प्राप्त गरेको उल्लेख गरिएको छ । तर जम्मा लाभग्राहीहरु कतिजना छन् भन्नेबारे आफूहरुले बताउन नसक्ने अदालतमा पेश गरिएको कागजातमा उल्लेख छ ।

अहिलेसम्मको विवरण हेर्दा कोरोना महामारी र विभिन्न कानूनी दाउपेचकाबीच डिभी २०२१ का विजेताहरुलाई इतिहासमा नै सबैभन्दा कम भिसा जारी गरिएको छ । गत आर्थिक बर्ष २०२० मा कोरोना महामारी र ट्रम्पको कार्यकारी आदेशका बाबजुत १९ हजार १ सय २५ जना डिभी विजेताले भिसा पाउन र स्टाटस एड्जस्ट गर्न सफल भएको अमेरिकी सरकारको विदेश मन्त्रालयको तथ्यांक छ । थप ९ हजार ९५ भिसा संरक्षण गरिएको छ ।

२०२१ का डिभी विजेतामध्ये सेप्टेम्बर १७ सम्म जम्मा १३ हजार १ सय ९९ ले भिसा प्राप्त गरेको रेकर्ड रहेको थियो । त्यसपछिका १२ दिनमा २ हजारभन्दा पनि कमले भिसा प्राप्त गरेका छन् । अमेरिकी सरकारले सेप्टेम्बर ३० सम्म जारी गरेको भिसाको आधारमा अदालतले आर्थिक बर्ष २०२१ का निश्चित संख्याका डाइभर्सिटी भिसा संरक्षणको आदेश दिने अपेक्षा समेत गरिएको छ ।

सन् २०२१ का लागि डिभी विजेता नेपालीहरुको संख्या ३८०१ रहेको थियो । सन् २०२१ का डिभी विजेताहरुमा नेपाल एसियामा दोश्रो भएको थियो । गत आर्थिक बर्ष २०२० मा कोरोना महामारीका बाबजुत पनि २ हजार ८५ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाउन वा स्टाटस एड्जस्ट गर्न सफल भएका थिए । त्यो भन्दा अगाडि आर्थिक बर्ष २०१९ मा २७९५, आर्थिक बर्ष २०१८ मा ३३०७, आर्थिक बर्ष २०१७ मा ३४७७ र आर्थिक बर्ष २०१६ मा ३२४७ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाउन वा डाइभर्सिटी भिसामार्फत स्टाटस एड्जस्ट गर्न सफल भएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com