Follow @khasokhasmag

डिभी २०२१ का विजेताले भिसा पाउने डेडलाइन समाप्त, अदालतले अवधि थप्न नमिल्ने सरकारी जिकिर


प्रकाशित मिति : आश्विन १४, २०७८ बिहीबार

आर्थिक बर्ष २०२१ का डिभी विजेताहरुले भिसा पाउने डेडलाइन समाप्त भएको छ । सेप्टेम्बर ३० सम्ममात्र भिसा पाउन सक्ने प्रावधान रहेकोमा उक्त डेडलाइन आज समाप्त भएको हो । अमेरिकामा अक्टोबर १ बाट आर्थिक बर्ष २०२२ सुरु हुन्छ भने डिभी २०२२ का विजेताहरुले पनि अक्टोबर १ बाट भिसा पाउन सुरु गर्नेछन् ।

बुधबार अदालतमा सरकारका तर्फबाट गरिएको फाइलिङमा आर्थिक बर्ष समाप्त भइसकेपछिपनि उक्त आर्थिक बर्षका लागि तय भएको डाइभर्सिटी भिसाको योग्यता अवधि बढाउने अधिकार अदालतसँग नभएको जिकिर गरिएको छ । त्यस्तै अदालतमा सरकारका तर्फबाट पेश गरिएको रेकर्ड अनुशार सेप्टेम्बर २६ सम्म आर्थिक बर्ष २०२१ का १५ हजार १ जनालाई डाइभर्सिटी भिसा जारी गरिएको जनाइएको छ ।

 

अमेरिकी विदेश मन्त्रालयले १८ हजार ७ सय ३१ आवेदन प्रकृयामा लगेकोमा ३७ सय ३० आवेदन अस्वीकृत भएको र १५ हजार १ जनालाई भिसा जारी गरिएको सरकारी रेकर्डमा उल्लेख छ । त्यसपछिका ४ दिनमा पनि डाइभर्सिटी भिसा जारी गरिएको छ तर कतिजनालाई जारी गरियो भन्नेबारेको रेकर्ड भने अझै सार्वजनिक गरिएको छैन ।

त्यस्तै केन्टकी कन्सुलर सेन्टरका निर्देशकका तर्फबाट अदालतमा पेश गरिएको विवरणमा डिभी २०२१ का विजेताहरुमध्ये ५० हजार ७ सय ५६ जनाबाट केन्टकी कन्सुलर सेन्टरले डीएस २६० अर्थात् आप्रवासी भिसा आवेदन प्राप्त गरेको उल्लेख गरिएको छ । तर जम्मा लाभग्राहीहरु कतिजना छन् भन्नेबारे आफूहरुले बताउन नसक्ने अदालतमा पेश गरिएको कागजातमा उल्लेख छ ।

अहिलेसम्मको विवरण हेर्दा कोरोना महामारी र विभिन्न कानूनी दाउपेचकाबीच डिभी २०२१ का विजेताहरुलाई इतिहासमा नै सबैभन्दा कम भिसा जारी गरिएको छ । गत आर्थिक बर्ष २०२० मा कोरोना महामारी र ट्रम्पको कार्यकारी आदेशका बाबजुत १९ हजार १ सय २५ जना डिभी विजेताले भिसा पाउन र स्टाटस एड्जस्ट गर्न सफल भएको अमेरिकी सरकारको विदेश मन्त्रालयको तथ्यांक छ । थप ९ हजार ९५ भिसा संरक्षण गरिएको छ ।

२०२१ का डिभी विजेतामध्ये सेप्टेम्बर १७ सम्म जम्मा १३ हजार १ सय ९९ ले भिसा प्राप्त गरेको रेकर्ड रहेको थियो । त्यसपछिका १२ दिनमा २ हजारभन्दा पनि कमले भिसा प्राप्त गरेका छन् । अमेरिकी सरकारले सेप्टेम्बर ३० सम्म जारी गरेको भिसाको आधारमा अदालतले आर्थिक बर्ष २०२१ का निश्चित संख्याका डाइभर्सिटी भिसा संरक्षणको आदेश दिने अपेक्षा समेत गरिएको छ ।

सन् २०२१ का लागि डिभी विजेता नेपालीहरुको संख्या ३८०१ रहेको थियो । सन् २०२१ का डिभी विजेताहरुमा नेपाल एसियामा दोश्रो भएको थियो । गत आर्थिक बर्ष २०२० मा कोरोना महामारीका बाबजुत पनि २ हजार ८५ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाउन वा स्टाटस एड्जस्ट गर्न सफल भएका थिए । त्यो भन्दा अगाडि आर्थिक बर्ष २०१९ मा २७९५, आर्थिक बर्ष २०१८ मा ३३०७, आर्थिक बर्ष २०१७ मा ३४७७ र आर्थिक बर्ष २०१६ मा ३२४७ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाउन वा डाइभर्सिटी भिसामार्फत स्टाटस एड्जस्ट गर्न सफल भएका थिए ।

   दर्ता नम्बर: २८२९

नमस्ते मिडिया

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com