Follow @khasokhasmag

डिभी २०२१ का ९६६ विजेतालाई सेप्टेम्बरपछि पनि भिसा दिन अदालतको आदेश


प्रकाशित मिति : आश्विन ११, २०७८ सोमबार

अमेरिकाको एक संघीय अदालतले डिभी २०२१ का ९६६ विजेतालाई सेप्टेम्बरपछि पनि भिसा दिन सरकारलाई आदेश दिएको छ । वासिंटन डिसीको ड्रिस्ट्रिक्ट कोर्टकी न्यायाधिस तान्या चुट्कनले सोमबार राती एक आदेश जारी गर्दै तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पको क्षेत्रीय प्रतिबन्धका कारण मारमा परेका ती विजेताहरुलाई आर्थिक बर्षको अन्त्यपछि पनि भिसा जारी गर्न आदेश दिएकी छिन् ।

वासिंटन डिसी अदालत

भियना, ब्रसेल्स, प्राग, तालिन, हेलसिन्की, पेरिस, फ्रयांकफर्ट, एथेन्स, बुडापेष्ट, रेकजाभिक, इटलीको नेपल्स, रिगा, बर्न, भिल्नियस, आम्स्टर्डम, वार्सा, लिस्बन, ब्राटिस्लाभा, भ्याड्रिड, स्टकहोम, जोहानेसबर्ग, हङकङ, डब्लिन, गोन्जाओ, लण्डन र र रिओ दि जेनेरियोमा रहेका अमेरिकी दूतावास वा कन्सुलेटमा रहेका डिभी २०२१ का केसहरुलेमात्र यो आदेश अनुशार भिसा पाउनसक्नेछन् । ट्रम्पको नो भिसा पोलिसीबाट प्रभावितहरुलेमात्र भिसा पाउनसक्ने भएपनि यो आदेशबाट नेपालमा रहेका डिभी विजेताहरुलाई भने कुनै फाइदा छैन ।

सन् २०२१ का अन्य क्षेत्रका डिभी विजेताहरुको भिसा संरक्षणका लागि सेप्टेम्बरको अन्तिममा वा अक्टोबरको सुरुतिर अदालतले नयाँ आदेश दिने अपेक्षा गरिएको छ ।

केहीदिनमात्र बाँकी

डिभी २०२१ को भिसा जारी गर्ने डेडलाइन अब केहीदिनमात्र बाँकी रहेको छ । कोरोना महामारी र विभिन्न कानूनी दाउपेचकाबीच अहिलेसम्म डिभी २०२१ का विजेताहरुलाई इतिहासमा नै सबैभन्दा कम भिसा जारी गरिएको छ ।

गत आर्थिक बर्ष २०२० मा कोरोना महामारी र ट्रम्पको कार्यकारी आदेशका बाबजुत १९ हजार १ सय २५ जना डिभी विजेताले भिसा पाउन र स्टाटस एड्जस्ट गर्न सफल भएको अमेरिकी सरकारको विदेश मन्त्रालयको तथ्यांक छ । तर आर्थिक बर्ष २०२१ मा सेप्टेम्बर १७ सम्म जम्मा १३ हजार १ सय ९९ जनालेमात्र भिसा प्राप्त गर्न सफल भएका छन् ।

गत सेप्टेम्बर ९ मा वासिंटन डिसीको अदालतका न्यायाधिस अमित मेहताले डिभीलाई सबैभन्दा कम प्राथमिकता दिने अमेरिकी विदेश मन्त्रालयको नीति कार्यान्वयनमा रोक लगाउँदै सत्प्रयासका साथ सेप्टेम्बरभरमा सकेजति भिसा जारी गर्न सरकारलाई आदेश दिएका थिए ।

अदालतमा  पेश गरिएको रिपोर्ट अनुशार संसदले तय गरेका ५५ हजार डाइभर्सिटी भिसामध्ये २०२१ मा सेप्टेम्बर १७ सम्म जम्मा १३ हजार १ सय ९९ ले भिसा प्राप्त गरेको उल्लेख छ । अदालतमा मुद्दा दायर गरेका २२ हजार २ सय ३ डिभी विजेता र लाभग्राहीहरुले अहिलेसम्म भिसा पाउन सकेका छैनन् । अमेरिकी सरकारले सेप्टेम्बर ३० सम्म जारी गरेको भिसाको आधारमा त्यसपछि न्यायाधिस मेहताले आर्थिक बर्ष २०२१ का निश्चित संख्याका डाइभर्सिटी भिसा संरक्षणको आदेश दिने अपेक्षा समेत गरिएको छ ।

सेप्टेम्बर २३ देखि ३० सम्मका लागि जम्मा २१४२ अन्तरवार्ताहरु तय गरिएका छन् । सेप्टेम्बर १ देखि २३ सम्मका लागि ८ हजार ५ सय ४३ अन्तरवार्ताहरु तय गरिएकोमा सेप्टेम्बर १ देखि १७ सम्म ५ हजार ६ सय १४ जनाको अन्तरवार्ता लिइएको थियो । जस अनुशार सेप्टेम्बर १ देखि १७ सम्म ४ हजार ६ सय ३६ जनालाई डाइभर्सिटी भिसा जारी गरिएको थियो ।

अगस्तमा ५ हजार ७ सय ९४ जनाको अन्तरवार्ता तय गरिएकोमा ४ हजार ५ सय ७७ जनाको अन्तरवार्ता लिइएको थियो भने ३ हजार ८ सय ७५ जनालाई भिसा जारी गरिएको थियो । जुलाईमा १९९५ जनाको अन्तरवार्ता लिइएको थियो भने १७३९ जनालाई भिसा जारी गरिएको थियो । जुनमा १६८३ जनाको अन्तरवार्ता लिइएको थियो भने १४८८ जनालाई भिसा जारी गरिएको थियो ।

मे महिनामा १०१५ जनाको अन्तरवार्ता लिइएको थियो भने ९२८ लाई भिसा जारी गरियो । अप्रिलमा ५७९ जनाको अन्तरवार्ता लिइयो भने ५१४ जनालाई भिसा जारी गरिएको थियो । मार्चमा १८ जनाको अन्तरवार्ता लिएर सबैलाई भिसा जारी गरिएको थियो । फेबु्रअरीमा एकजनालाईमात्र भिसा जारी गरिएको रेकर्ड छ । झण्डै ५ महिनासम्म अमेरिकाले डिभी २०२१ का विजेतलाई भिसा जारी गरेको थिएन ।

कति नेपालीले पाए डाइभर्सिटी भिसा?

अहिलेसम्म डिभी २०२१ का कतिजना नेपाली विजेताहरुले भिसा पाए भन्ने यकिन तथ्यांक प्राप्त भएको छैन । तर अमेरिकी दूतावास काठमाडौंले जुलाई महिनामा ८३ जनालाई डाइभर्सिटी भिसा जारी गरेको थियो । जुनसम्म अत्यन्तै कममात्र डिभी विजेताहरुलाई भिसा जारी गरेको अमेरिकी दूतावास काठमाडौंले जुलाईबाट उल्लेख्यमात्रामा डिभी विजेताहरुलाई भिसा जारी गर्न सुरु गरेको थियो ।

जुन महिनामा अमेरिकी दूतावास काठमाडौंले जम्मा १६ जनालाई डाइभर्सिटी भिसा जारी गरेको थियो । मे महिनासम्म आर्थिक बर्ष सन् २०२१ का डिभी विजेताहरुलाई अमेरिकी दूतावास काठमाडौंले भिसा जारी गरेको थिएन ।

सन् २०२१ का लागि डिभी विजेता नेपालीहरुको संख्या ३८०१ रहेको छ । सन् २०२१ का डिभी विजेताहरुमा नेपाल एसियामा दोश्रो भएको थियो । गत आर्थिक बर्ष २०२० मा कोरोना महामारीका बाबजुत पनि २ हजार ८५ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाउन वा स्टाटस एड्जस्ट गर्न सफल भएका थिए । त्यो भन्दा अगाडि आर्थिक बर्ष २०१९ मा २७९५, आर्थिक बर्ष २०१८ मा ३३०७, आर्थिक बर्ष २०१७ मा ३४७७ र आर्थिक बर्ष २०१६ मा ३२४७ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाउन वा डाइभर्सिटी भिसामार्फत स्टाटस एड्जस्ट गर्न सफल भएका थिए ।

 

 

 

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com