जुन महिनालाई विश्वभर गौरव महिनाका रुपमा मनाइदै, लण्डनबाट ब्लगर लिम्बुको ‘गौरव’ भिडियो


प्रकाशित मिति : जेष्ठ १८, २०७८ मंगलबार

जुन महिनालाई समयौनिक, तेश्रो लिंगी तथा लैंगिक अल्पसंख्यकहरुको गौरवको महिनाका रुपमा मनाउनका लागि विश्वभर महिनाभर नै विभिन्न कार्यक्रमहरु आयोजना गरिने भएको छ । ‘तपाई समावेश हुनुहुन्छ’ भन्ने सन्देशसहित अमेरिकाले गौरवको महिना मनाउने अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेनले आज जारी सन्देशमा जनाएका छन् ।

अमेरिकी विदेश मन्त्रालय समुदायको विविध अनुभव, दृष्टिकोण र योगदानले अमेरिकी विदेशमन्त्रालयलाई अझ बलियो बनाउने र अमेरिकी कुटनीतिको लक्ष्यमा अझ अगाडि बढाउने उल्लेख गर्दै ब्लींकेनले भनेका छन् – ‘हामीमा विविधतामा एकता छ ।’

समयौनिक, तेश्रो लिंगी तथा लैंगिक अल्पसंख्यकहरुको मानवअधिकारको विषयमा आफ्नो सहभागिता बढाउन विदेशमन्त्रालय प्रतिबद्ध रहेको उनले बताएका छन् । विश्वमा यो समुदायका व्यक्तिले हिंशा, विभेद र उत्पीडनहरु भोग्नु परेको उल्लेख गर्दै ब्लींकेनले अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विश्वभरका अमेरिकी दूतावास र कन्सुलेटहरुलाई इन्द्रेणी झण्डा फहराउन अनुमति

यो बर्ष अमेरिकी विदेश मन्त्रालयले विश्वभरका अमेरिकी दूतावास र कन्सुलेटहरुलाई अमेरिकन झण्डाकै पोलमा समयौनिक र तेश्रो लिंगी लगायत लैंगिक अल्पसंख्यकलाई प्रतिनिधित्व गर्नेगरी गौरवको इन्द्रेणी झण्डा फहराउन अनुमति दिइसकेको छ । ट्रम्प प्रशासनले अमेरिकी दूतावास र कन्सुलेटलाई लैंगिक अल्पसंख्यकलाई प्रतिनिधित्व गर्नेगरी गौरवको इन्द्रेणी झण्डा फहराउन रोक लगाएको थियो ।

जुन महिनामा अब विश्वभरका अमेरिकी दूतावास र कन्सुलेटहरुले इन्द्रेणी झण्डा फहराउन सक्ने भएका छन् । तर फहराउन नचाहने अमेरिकी दूतावास र कन्सुलेटले आफ्नो निर्णय समेत गर्नसक्ने जनाइएको छ ।

फोटो: इशाबेला मार्टिन

ट्रम्प प्रशासनका पालामा तत्कालिन अमेरिकी विदेशमन्त्री माइक पम्पिओले अमेरिकी झण्डाका साथमा त्यही पोलमा अर्को कुनै झण्डा अस्थायी रुपमा राख्नमा समेत रोक लगाएका थिए । ब्लींकेनले आफ्नो नियुक्तीको सुनुवाईकै क्रममा गौरवको झण्डा नीतिलाई परिवर्तन गर्ने प्रतिबद्धता जनाएका थिए ।

ट्रम्प प्रशासनले अनुमति नदिएपनि केही अमेरिकी दूतावास र कन्सुलेटहरुले सन् २०१९ मा गौरवको महिना अवधिभर इन्द्रेणी झण्डा फहराएका थिए ।

ब्लगर लेक्स लिम्बुबाट गौरव भिडियो सार्वजनिक

युके निवासी नेपाली ब्लगर लेक्स लिम्बुले जुन १ तारिखमा मा आफ्नो नयाँ भिडियो गौरव सार्वजनिक गरेका छन् । गौरव महिना विश्वभरका सिमान्तकृत यौन अभिमुखिकरण, लैंगिक पहिचान र यौन विशेषताका व्यक्तिहरुको उत्सवप्रति समर्पित छ । लिम्बु र अविस्कार राई अभिनित भिडियोमा दुईजना समयौनिक पुरुषहरुबीचको प्रेमलाई दर्शाइएको छ भने विशेष उपस्थीतिका रुपमा लिम्बुका आफ्नै बुबाआमालाई समेत देख्न सकिन्छ ।

विज्ञापन शैलीको उक्त छोटो भिडियोको निर्देशन रामुना पुनले गरेका हुन् भने सुसान्त विष्टको साउण्डट्रयाक म तिम्रोको समेत मिश्रण रहेको छ । यो भिडियोको छायांकन युकेको ह्याम्पशायरमा चाउटन भिलेजमा गरिएको हो । लिम्बुले सन् २०१८ मा एउटा युट्युब भिडियो सार्वजनिक गर्दै आफ्नो यौन झुकावबारे सार्वजनिक गरेका थिए ।

लेक्स लिम्बु र आविस्कार राई वास्तविक जीवनमा भने प्रेमसम्बन्धमा छैनन् । फोटो श्रोत: लेक्स लिम्बु

लिम्बु भन्छन् – ‘सिमान्तकृत यौन अभिमुखिकरण, लैंगिक पहिचान र यौन विशेषताका व्यक्तिहरुका प्रति र अहिलेसम्मको हाम्रा यात्राप्रति ध्यान केन्द्रीत गर्न गौरवको महिना उत्तम तरिका हो । जब तपाई आफू जो हो त्यसमा गर्व गर्न सक्नुहुन्छ, त्यो कति सुन्दर हुनसक्छ भन्ने यो छोटो भिडियोमार्फत मैले सार्वजनिक गर्न चाहेको हुँ । यद्यपी सुरुमा मैले मेरो भिडियोसँगै देखापर्ने व्यक्ति खोज्नका लागि संघर्ष गर्नुपरेको थियो । आविस्कार यो परियोजनाका लागि आउँदा म ढुक्क भएँ ।’

निर्देशक रामुना आफ्नो अनुभव बाड्दै भन्छिन् – ‘जब लेक्सले यो भिडियो गौरवका लागि मसँग सम्पर्क गरे, तब म कथाको सरलताबाट तुरुन्तै आकर्षिक भएँ । व्यापक सन्दर्भमा यसको वजन निकै भारी थियो । तर चारैजना पात्रहरुबीच साटासाट गरिएको भावनाको तरलता वास्तविक, विश्वसनीय, कच्चा र सबैकुरा सरल बनाउने खालको छ । मैले यो कथालाई प्रेमका साथ बुझें र छायांकन गरें । म सबैले यो कथालाई यसैगरी स्वीकार गर्ने अपेक्षा गर्दछु । मेरा लागि गौरव भनेको तपाई आफू जो हो त्यही हुने र तपाईले जे चाहेको यो उसलाई प्रेम गर्ने धारणा हो । न त धेरै, न त अरु कुनै ।’

भिडियोमा गौरवको रुपमा अभिनय गरेका आविस्कार आफ्नो अनुभव बाड्दै भन्छन् – ‘गौरव को महिना ले पहिले तपाई आफैमा को हो भन्ने स्वीकारोक्तिलाई प्रतिनिधित्व गर्छ । साथै तपाईमात्र एक्लो हुनुहुन्न भन्ने महसुस गराउने चीजलाई प्रतिनिधित्व गर्छ । तपाई भन्न सक्नुहुन्छ कि किन मैले यो भिडियोमा काम गरें? यद्यपी नेपाली समुदायमा सिमान्तकृत यौन अभिमुखिकरण, लैंगिक पहिचान र यौन विशेषताका व्यक्तिहरुलाई सचेत बनाइएको छ तर मेरो विचारमा यो अझै पनि संवेदनशील विषय हो । यो भिडियो बनाएर र यसरी प्रस्तुत गरेर यसले मान्छेको सोंचमा विस्तारै परिवर्तन ल्याउने र मान्छेहरुलाई यसविषयमा अझ बढी सहज बनाउने आशा छ ।’

के हो गौरव महिना ?

अमेरिका बाहिरका धेरै मानिसका लागि समयौनिक व्यक्तिहरुको अधिकारहरु परिवर्तन गर्न सफल प्रदर्शनका रुपमा परिचित स्टोनवाल विद्रोह भएको महिना जुन महिनालाई गौरवको महिनाका रुपमा छानिएको हो । सन् १९६९ को जुन २८ मा न्युयोर्क सिटीमा रहेको स्टोनवाल इनमा भएको प्रहरी हमलाको बिरुद्ध समयौनिक, तेश्रोलिंगी र लैंगिक अल्पसंख्यक समुदायले बिद्रोह गरेका थिए ।

फोटो : दीपेन्द्र ढुंगाना

पछिल्ला बर्षहरुमा जुन महिनाको दोस्रो शनिबारलाई नेपाल गौरव यात्राका रुपमा मनाइदै आएको छ । सन् २०१९ देखि गौरव यात्रा काठमाडौँमा मनाइदै आएको छ।

यसपटक गौरव मार्चहरु अधिकांश भर्चुअल रुपमा हुने भएका छन् । न्युयोर्क सिटीमा पनि गौरव महिनाको अवशरमा भर्चुअल र्याली हुने भएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com