अमेरिकन झण्डाकै पोलमा गौरवको इन्द्रेणी झण्डा फहराउन अमेरिकी दूतावास र कन्सुलेटहरुलाई अनुमति


प्रकाशित मिति : बैशाख १०, २०७८ शुक्रबार

अमेरिकन झण्डाकै पोलमा समलिंगी र तेश्रो लिंगी लगायत लैंगिक अल्पसंख्यकलाई प्रतिनिधित्व गर्नेगरी गौरवको इन्द्रेणी झण्डा फहराउन अमेरिकी विदेश मन्त्रालयले विश्वभरका अमेरिकी दूतावास र कन्सुलेटहरुलाई अनुमति दिएको छ । ट्रम्प प्रशासनले अमेरिकी दूतावास र कन्सुलेटलाई लैंगिक अल्पसंख्यकलाई प्रतिनिधित्व गर्नेगरी गौरवको इन्द्रेणी झण्डा फहराउन रोक लगाएको थियो ।

आगामी जुन महिनालाई लैंगिक अल्पसंख्यकको गौरवको महिनाका रुपमा मनाउने गरिन्छ । उक्त महिनामा अब विश्वभरका अमेरिकी दूतावास र कन्सुलेटहरुले इन्द्रेणी झण्डा फहराउन सक्ने भएका छन् । तर फहराउन नचाहने अमेरिकी दूतावास र कन्सुलेटले आफ्नो निर्णय समेत गर्नसक्ने जनाइएको छ ।

यो झण्डा होमोफोवियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मे १७ अगाडिदेखि नै फहराउन सकिने भएको छ । र, त्यसपछि लगातार जुन महिनासम्म अमेरिकन झण्डा फहराइने पोलमा नै राख्न अनुमति दिइएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेनले यस्तो अनुमति प्रदान गरेका हुन् । विदेशमन्त्री ब्लींकेन समलिंगी र तेश्रो लिंगी लगायत लैंगिक अल्पसंख्यक समुदायको अधिकार र सम्मानको लागि प्रतिबद्ध रहेको विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् ।

ट्रम्प प्रशासनका पालामा तत्कालिन अमेरिकी विदेशमन्त्री माइक पम्पिओले अमेरिकी झण्डाका साथमा त्यही पोलमा अर्को कुनै झण्डा अस्थायी रुपमा राख्नमा समेत रोक लगाएका थिए । ब्लींकेनले आफ्नो नियुक्तीको सुनुवाईकै क्रममा गौरवको झण्डा नीतिलाई परिवर्तन गर्ने प्रतिबद्धता जनाएका थिए ।

ट्रम्प प्रशासनले अनुमति नदिएपनि केही अमेरिकी दूतावास र कन्सुलेटहरुले सन् २०१९ मा गौरवको महिना अवधिभर इन्द्रेणी झण्डा फहराएका थिए । समलिंगी र तेश्रो लिंगी लगायत लैंगिक अल्पसंख्यकप्रति सम्मान व्यक्त गर्दै यसरी झण्डा फहराउने प्रचलन रहेको छ ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com