अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड मुस्कान खातुनलाई, अमेरिकी विदेशमन्त्री र प्रथम महिलाबाट सम्बोधन


प्रकाशित मिति : फाल्गुन २४, २०७७ सोमबार

एसिड आक्रमणमा परेर बाँचेकी नेपाली महिला मुस्कान खातुनलाई अमेरिकी सरकारले प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड प्रदान गरेको छ । आज आयोजित विशेष भर्चुअल समारोहका बीच अवार्ड प्रदान गरिएको हो । एसिड आक्रमण अन्त्यका लागि खातुनको कामको सम्मान गर्दै अमेरिकी सरकारले यो अवार्ड प्रदान गरेको हो ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेनले आज विश्वभरका अवार्ड विजेता महिलाहरुको सम्मानमा विशेष भर्चुअल समारोहको आयोजना गरेका हुन् । जसमा अमेरिकी प्रथम महिला जिल बाइडेनले विशेष सम्बोधन गरेकी छिन् । समारोहमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका १४ जना महिलाहरुलाई यो अवार्ड प्रदान गरिएको छ ।

साथै अफगानिस्तानमा समुदायको सेवामा खटिएको बेला सन् २०२० मा भएको हमलामा मारिएका ७ जना महिलाको सम्मानमा सम्मान अवार्ड प्रदान गरिएको छ । कार्यक्रम अमेरिकी विदेशमन्त्रालयको वेवसाइटबाट समेत प्रत्यक्ष प्रशारण गरिएको थियो ।

यो अवार्ड पाउने मुस्कान खातुन सन् २०१९ मा १५ वर्षकी छँदा एक किशोरको प्रेम प्रस्ताव अस्वीकार गरेकोमा एसिड हमलाको सिकार भएकी थिइन् । उनको अनुहार, छाती र हातमा गहिरो चोट लागेको थियो।

यसका बाबजुद मुस्कानले एक दुखद घटनालाई नेपालमा परिवर्तन ल्याउने एक अवसरमा रूपान्तरण गरिन् । धम्की र सामाजिक दबाबको सामना गर्दै मुस्कानले एसिड हमलाविरुद्ध कडा कानुन र सजायको लागि अभियान संचालन गरिन् । उनले प्रधानमन्त्री केपी ओलीसँग भेटेर एसिड हमलासम्बन्धी नयाँ कानुनको मस्यौदा तयार पार्न आह्वान गरेकी थिइन् । त्यसपछि सरकारले अपराधीहरूलाई दण्डित गर्ने तथा रसायनको बिक्रीलाई नियमन गर्ने अध्यादेश जारी गरेको थियो ।

अहिलेसम्म अमेरिकाले १५ बर्षमा ७५ वटा देशबाट १५५ जनालाई यो अवार्ड प्रदान गरिसकेको छ । विदेशमा रहेका अमेरिकी कूटनीतिक नियोगहरुले एकएकवटा नाम नोमिनेशनका लागि पठाएपछि ती नामहरुबाट अमेरिकी विदेश मन्त्रालयका बरिष्ठ अधिकारीहरुबाट अवार्ड प्राप्त गर्नेहरुको छनौट गर्छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com