ह्वाइट हाउसमा हुँदा जो बाइडेनकी पत्नीले झै कमला ह्यारिसका पतिले पनि कलेजमा पढाउने


प्रकाशित मिति : मंसिर २९, २०७७ सोमबार

नवनिर्वाचित अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसका पति डग एमह्याफले ह्यारिस ह्वाइट हाउसमा रहँदा पनि युनिभर्सिटीमा पढाउने भएका छन् । वासिंटन डिसीमा रहेको जर्जटाउन युनिभर्सिटीको ल स्कुलमा उनले पढाउने काम स्वीकार गरेका छन् ।

उनले आफू जर्जटाउन कम्युनिटीमा आवद्ध हुन पाएकोमा निकै खुशी व्यक्त गरेका छन् । उनले त्यहाँ मनोरञ्जन र मिडिया कानुनका बारेमा अध्यापन गराउनेछन् । उनले वकिलका रुपमा भने काम गर्न छाड्नेछन् । आफ्नो ३० बर्षे करिअरमा उनले बौद्धिक सम्पत्ति, मिडिया र मनोरञ्जनसम्बन्धि कानुनमा विज्ञता हासिल गरेका छन् ।

त्यस्तै नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले प्रथम महिला भएपनि आफ्नो शिक्षण पेशा जारी राख्ने बताइसकेकी छिन् । यसो भएमा जिल बाइडेन ह्वाइटहाउसबाहिर तलबी काम जारी राख्ने अहिलेसम्मकै एकमात्र प्रथम महिला हुनेछन् ।

डाक्टर जिल बाइडेन नर्थन भर्जिनिया कम्युनिटी कलेजमा पूर्णकालिन अँग्रेजी प्राध्यापक हुन् । उनले एक अन्तरवार्तामा प्रथम महिला भएपनि आफ्नो अध्यापन पेशा भने जारी राख्ने बताएकी थिइन् । उनले आफू ह्वाइटहाउसमा रहँदा पनि पढाउने काम नछाड्ने बताएकी थिइन् ।

मान्छेहरुलाई शिक्षकको महत्व र उनीहरुको योगदान थाहा दिनका लागि तथा पेशाको गरिमा बढाउनका लागि शिक्षण पेशा नछाड्ने जिल बाइडेनले बताएकी थिइन् । ओहायो युनिभर्सिटीकी प्रोफेसर क्याथरिन जेलिसनले डाक्टर जिल बाइडेन ह्वाइटहाउसमा रहँदा पनि बाहिर तलबी जागिर खाने एकमात्र प्रथम महिलामात्र नभई डाक्टरेट डिग्री हासिल गरेकी अहिलेसम्मकै एकमात्र प्रथम महिला हुने बताएकी छिन् ।

जिल बाइडेनले उपराष्ट्रपति पत्नीहुँदा पनि कम्युनिटी कलेजमा पढाउने काम जारी राखेकी थिइन् । बराक ओबामा राष्ट्रपति हुँदा जो बाइडेन उपराष्ट्रपति र जिल बाइडेन दोश्रो महिला रहेका थिए । जिल बाइडेनले आफ्नो परिचय ट्वीटरको प्रोफाइलमा समेत आजिवन शिक्षकका रुपमा राखेकी छिन् ।

जो बाइडेन र जिल सन् १९७५ मा भेटेर सन् १९७७ मा विवाह गरेका थिए ।

आफूले कैयन शरणार्थी र आप्रवासीहरुलाई पढाएको उनले बताएकी छिन् । आफूले उनीहरुका कथाहरु मन पराउने गरेको र उनीहरु जो हुन् त्यही रुपमा माया गर्ने गरेको जिल बायडेनले बताएकी छिन् । प्रथम महिलाको हैसियतमा आफूले कम्युनिटी कलेज ट्युसन निशुल्क बनाउने पक्षमा वकालत गर्ने उनले बताइन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com