हाइस्कुलमै पढाई छाडेका र डेढबर्ष होमलेस युवा बिलियन डलरको कम्पनीका सीइओ


प्रकाशित मिति : मंसिर २७, २०७७ शनिबार

हाइस्कुलमै पढाई छाडेका र डेढबर्ष होमलेस समेत भएका एक युवा बिलियन डलरको कम्पनीका सीइओ बनेका छन् । टोकियोका ताइहेई कोवायसीले सुरु गरेको टेक स्टार्टअपको बजार मूल्य १ बिलियन डलर पुगेको छ ।

उनको यो स्टार्टअपले अन्य नयाँ स्टार्टअपहरुलाई नयाँ विजनेश र उत्पादनहरु सृजना गर्नका लागि मद्दत गर्छ । गत जुलाईमा सार्वजनिक स्टक मार्केटमा गएको यसको मूल्य त्यो यता तीनगुणा बढेको छ ।

आफू दुई दशक अगाडि कसैले गरेको कल्पनाको परिणाम भएको बताउँछन् उनी । जब उनी १७ बर्षका थिए, उनका बुबाआमाले उनलाई घरबाट निकालिदिए । त्यसपछि उनले हाइस्कुलको पढाई समेत छाड्नुपरेको थियो ।

उनी संगीतमा निकै रुची राख्थे । दिनभर संगीतमा व्यस्त हुन्थे भने राती सडकमा सुत्थे । चिसा रातहरुमा उनले कार्डबोर्डहरु जम्मा गरेर आफूलाई न्यानो बनाउने प्रयास गर्थे । उनी झण्डै डेढबर्ष होमलेस भए ।

उनले त्यो बेला निकै समस्याहरु भोग्नुपरेको थियो । तर पछि उनले एउटा कम्पनीमा काम सुरु गरे । उनी उक्त कम्पनीको प्रकृया सुरु गर्ने सदस्यहरुको टिममा थिए । सन एस्ट्रिक नामको कम्पनीका उनी अहिले सीईओ बनेका छन् ।

३७ बर्षका कोवायसी भन्छन् – ‘सडकमा सुत्दाका ती रातहरु निकै चिसा थिए । त्यो नर्कजस्तै थियो । तर त्यो समयलाई पनि मैले पार लगाएँ ।’

बाबुआमाको निर्णय नमान्दा उनलाई बाबुआमाले घर छाड्न भनेका थिए । उनी भन्छन् – ‘मलाई उहाँहरुले घर छाड्न भन्नुभयो । मैले छाडें । म मेरो जीवन मलाई जेमा आनन्द आउँछ त्यही गरेर बाँच्न चाहन्थें ।’

उनले दुईवटा विन्टरहरु टोकियोका सडकमा विताए । उनी भन्छन् म चिसोले मर्न पनि सक्थें । म जहाँ सक्थें, त्यही सुत्थें । ८० प्रतिशत भन्दा बढी समय म बाहिर नै सुत्नु परेको थियो ।

१९ बर्षको उमेरमा एउटा लाइभ म्युजिक क्लबका मेनेजरलाई कोवायसीप्रति निकै दया लाग्यो । त्यसपछि उनलाई क्लबमा काम लगाइदिए । उनले झण्डै ६ बर्ष उक्त क्लबमा काम समेत गरे ।

केही पैसा कमाएपछि उनी कुनै अनुभव वा योग्यता नचाहिने जागिरको खोजीमा लागे । यसैबीच अनलाईनमा म्युजिक बेचेर पनि केही रकम कमाए ।

कोवायसीले गणितको क्षमता, तार्किक सोंच लगायतका विषयमा ६ घण्टाको एउटा परीक्षा दिए । उनी उक्त परीक्षामा उत्तिर्ण पनि भए । त्यसपछि उनका लागि सफ्टवेयर इन्जिनियर हुने बाटो खुल्यो । यसैक्रममा उनको सन एस्ट्रीकका एकजना संस्थापकसँग भेट भयो । उनीहरु दुबैले कम्पनीको सुरुवात गर्ने निर्णय गरे ।

कोवायसी सन् २०१२ मा भियतनाम बसाई सराई गरे । त्यहाँ उनले जवान इन्जिनियरहरुलाई काममा लगाए । सन् २०१३ मा उनीहरुले फ्रामाजिआ नामको कम्पनी खोले । पछि सन् २०१९ मा यही कम्पनीको नाम सन एस्ट्रीक बनाइयो । यो कम्पनीले राम्रो विजनेश बनाउन संघर्ष गरिरहेका जापानी स्टार्टअफ र अन्य फर्महरुलाई सहयोग गर्न इन्जिनियरहरु पठाउने गर्छ ।

यो कम्पनीको ब्यापार बढ्दै गएर अहिले १ दशमलव ४ बिलियनको कम्पनी बनेको छ । कोवायसीको झण्डै ८ प्रतिशत हिस्सा रहेको छ । जुन ७४ मिलियन डलर हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com