सकियो डिभी २०२२ भर्ने म्याद, नतिजा मे ८ मा, अक्टोबरदेखि भिसा


प्रकाशित मिति : कार्तिक २५, २०७७ मंगलबार

आर्थिक बर्ष २०२२ का लागि डिभी भर्ने म्याद न्युयोर्क समय अनुशार नोभेम्बर १० मंगलबार अपरान्ह १२ बजे समाप्त भएको छ । डिभी लोटरी अक्टोबर ७ देखि खुलेको छ । अब आगामी मे ८ मा यसको नतिजा आउनेछ भने आगामी अक्टोबर १ मा विजेताहरुले भिसा पाउन थाल्नेछन् ।

ढिलो दिइएका आवेदन स्वीकार नगरिने जनाइएको छ । एउटा व्यक्तिले एउटा भन्दा धेरै आवेदन दिए नदिएको चेक गर्न विशेष प्रविधिको प्रयोग गरिएको र एउटा भन्दा बढी आवेदन दिएका व्यक्तिको सबै आवेदन रद्द गरिने जनाइएको छ ।

गत बर्षदेखि डिभी लोटरी आवेदनमा पासपोर्ट अनिवार्य गरिएको हो । डिभी लोटरी भरिसकेपछि भिसाका लागि आवेदन भर्ने बेलासम्म पासपोर्ट हराएमा वा एक्सपायर भएमा भने त्यसको प्रमाण अमेरिकी सरकारलाई बुझाउनुपर्नेछ । यदि कुनै कारणवश पासपोर्ट नम्बर परिवर्तन भएमा त्यसको प्रमाण र परिवर्तन हुनुको कारण डिभी अन्तरवार्ता आउनु अगाडि नै केन्टकी सर्भिस सेन्टरलाई बुझाउनुपर्ने अमेरिकी सरकारले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले भनेको छ – ‘यदि तपाईले गलत पासपोर्ट नम्बरसहित डिभी लोटरीका लागि आवेदन दिएमा तपाई स्वत अयोग्य हुनुहुनेछ भने तपाईको डिभी आवेदन अस्वीकृत गरिनेछ । तपाईले डिभी लोटरी भर्दा प्रयोग गरेको पासपोर्टको वैध फोटोकपी गरेर तपाईको इन्ट्री नम्बरसहित सुरक्षित स्थानमा राख्नका लागि सुझाव दिन्छौं । फोटोकपी आफैमा वैध पासपोर्ट नम्बर प्रमाणित गर्ने प्रमाण नभएपनि यसले तपाईको अवस्थाको व्याख्या गर्न मद्दत गर्नेछ । अन्तिम निर्धारण कन्सुरल अफिसरले तपाईको डिभी अन्तरवार्ताकै बखत गर्नेछन् ।’

यदि डिभी लोटरी पर्ने नेपाली संयुक्त राज्य अमेरिकामा भएमा त्यस्तो व्यक्तिले युएससीआईएससँग आफ्नो स्टेटस समायोजन गर्नुपर्छ । अध्यागमन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २४५ को शर्तअनुसार जो व्यक्ति संयुक्त राज्य अमेरिकामा भौतिक रूपमा उपस्थित छन् उनीहरूले युएससीआईएसमा स्थायी बसोबासको लागि निवेदन दिन सक्छन् ।

युएससीआईएसलाई आफ्नो केसउपर कार्यवाही गर्नका लागि पर्याप्त समय दिनु पर्दछ ताकि उसले तपाईँको विदेशमा रहेको पतिरपत्नी वा २१ वर्ष मुनिका सन्तान लगायतको केसउपर आर्थिकबर्षभित्र नै सबै प्रक्रिया सम्पन्न गर्न सकोस् किनभने नयाँ आर्थिक बर्ष लाग्नासाथ जुन आर्थिक बर्षको डिभी कार्यक्रम हो, त्यसको अवधि समाप्त हुन्छ ।

एसाइलम पेन्डिङ हुने र टीपीएस हुनेले यस्तो अवस्थामा डिभीबाट ग्रिनकार्ड पाउनसक्ने

अमेरिकामा गैरकानुनी उपस्थीति नभएको र स्वीकार्य रहेको व्यक्तिले अमेरिकामा रहेकै अवस्थामा डिभी लोटरी प्राप्त गरेको खण्डमा ग्रिनकार्ड प्राप्त गर्नका लागि योग्य हुनसक्ने युएससीआईएसकी प्रवक्ता क्याथरिन टिकचेकले जानकारी दिएकी छिन् ।

युएससीआईएस प्रवक्ता क्याथरिन टिकचेक

उनले भनेकी छिन् – ‘यदि कोही व्यक्ति डिभीमा छनौट भएपछि स्टाटस एड्जस्टमेन्ट फाइल गर्दासम्म अमेरिकामा स्वीकार्य व्यक्तिका रुपमा रहेको खण्डमा त्यस्तो व्यक्ति डिभीमा छनौट भएको आधारमा ग्रिनकार्ड प्राप्त गर्न योग्य हुन्छ । अस्वीकार्य हुनुका साधारण श्रेणीहरुमा स्वास्थ्य, आपराधिक गतिविधि, राष्ट्रिय सुरक्षा, पब्लिक चार्ज, जालसाजी, विगतमा देशनिकाला वा अमेरिकामा गैरकानुनी उपस्थीति लगायत पर्छन् ।’

त्यस्तै युएससीआईएसको नीति निर्देशिकामा राम्रो पेन्डिङ एसाइलम भएको अवधिलाई गैरकानुनी उपस्थीति गणना नगरिने उल्लेख छ । नीति निर्देशिकामा भनिएको छ – ‘यदि आवेदकको राम्रो एसाइलम आवेदन पेन्डिङ अवस्थामा रहेको छ भने त्यो अवधिलाई गैरकानुनी उपस्थीतिका रुपमा गणना गर्नु हुँदैन । तर उक्त अवधिमा एसाइलम आवेदकले वर्क परमिट विना काम गरेको हुनुहुँदैन । अनाधिकृत रोजगारले एसाइलम आवेदन दिएको व्यक्तिलाई यस्तो छुटका लागि अयोग्य बनाउनेछ ।’

नीति निर्देशिकाको स्क्रीनशट

त्यस्तै इमिग्रेशन एण्ड नेशनालिटी एक्टको भाग ११८२ मा भनिएको छ – ‘आवेदकले उक्त अवधिमा वर्क परमिटविना काम गरेको नभएसम्म राम्रो एसाइलम आवेदन पेन्डिङ रहेको कुनै पनि अवधिलाई अमेरिकामा गैरकानुनी उपस्थीति निर्धारण गर्दा गणना गरिने छैन ।’

इमिग्रेशन एण्ड नेशनालिटी एक्टको भाग ११८२ को अपवाद सम्बन्धि बुँदाको स्क्रीनशट ।

यसबारे कानुन व्यवसायी रमेश श्रेष्ठले थप व्याख्या गर्नुभएको छ । भिसा अद्यावधिक छँदै एसाइलम फाइल गरेको व्यक्तिको पेन्डिङ एसाइलम रहेको खण्डमा उसले अमेरिकामा नै रहेको अवस्थामा डिभी भरेर डिभी परेको खण्डमा ग्रिनकार्ड प्राप्त गर्नसक्ने उहाँले जानकारी दिनुभयो ।

तर स्टाटस एडजस्टमेन्टका लागि फाइल गर्नु अगाडि नै एसाइलमको अन्तरवार्ता आएमा भने डिभीबाट ग्रिनकार्ड प्राप्त गर्नमा समस्या हुने उहाँले बताउनुभयो । अर्थात् स्टाटस एडजस्टका लागि फाइल गर्दा एसाइलम पेन्डिङ अवस्थामा नै रहेको हुनुपर्नेछ ।

पेन्डिङ एसाइलम हुनेहरुले डिभी भरेर डिभी परेमा त्यसबाट ग्रिनकार्ड प्राप्त गर्नका लागि एसाइलम आवेदन दिनुभन्दा अगाडि एकदिनपनि गैरकानुनी उपस्थीति भने भएको हुन नहुने उहाँले जानकारी दिनुभयो । त्यस्तै टीपीएसमा जानु अगाडि एकदिनपनि गैरकानुनी उपस्थीति नभएको व्यक्तिले पनि डिभी भरेर डिभी परेमा त्यसबाट ग्रिनकार्ड प्राप्त गर्नसक्ने उहाँले जानकारी दिनुभयो । तर डिभीबाट स्टाटस एड्जस्टका लागि फाइल गर्ने बेलासम्म भने टीपीएस कायमै हुनुपर्ने उहाँको भनाई छ ।

कानुन व्यवसायी रमेश श्रेष्ठ

नवौं र छैठौं सर्किटमा हुने टीपीएसवाहकहरुका सन्दर्भमा भने टीपीएसमा जानु अगाडि गैरकानुनी उपस्थीति भएको भएतापनि वा सिमाक्षेत्रबाट गैरकानुनी रुपमा प्रवेश गरेको भएतापनि डिभी भरेर डिभी डिभी परेमा त्यसबाट ग्रिनकार्ड प्राप्त गर्नसक्ने श्रेष्ठले जानकारी दिनुभयो । तर डिभीबाट स्टाटस एड्जस्टका लागि फाइल गर्ने बेलासम्म भने टीपीएस कायमै हुनुपर्ने उहाँले स्पष्ट पानुभयो । नवौं र छैठौं सर्किटमा हुने टीपीएसवाहकहरुले विगतमा गैरकानुनी उपस्थीति भएको भएतापनि वा सिमाक्षेत्रबाट गैरकानुनी रुपमा प्रवेश गरेको भएतापनि डिभी लगायत रोजगारमा आधारित र अन्य आधारका समेत ग्रिनकार्ड प्राप्त गर्न सक्ने कानुन व्यवसायी रमेश श्रेष्ठले जानकारी दिनुभयो ।

पेन्डिङ एसाइलम हुने टीपीएसवाहक ६ महिनाभन्दा कम अवधिमात्र गैरकानुनी उपस्थीति भएको भएमा रोजगारमा आधारित ग्रिनकार्डका लागि भने योग्य हुनसक्ने उहाँले बताउनुभयो । त्यस्तै पेन्डिङ एसाइलम नभएका टीपीएसवाहकले पनि टीपीएसमा जानु अगाडि ६ महिनाभन्दा कम अवधि मात्र गैरकानुनी उपस्थीति भएको भएमा रोजगारमा आधारित ग्रिनकार्डका लागि भने योग्य हुनसक्ने छन् । तर उनीहरु डिभीबाट ग्रिनकार्ड पाउन योग्य हुँदैनन् ।

अमेरिकामा विद्यार्थी वा अन्य अद्यावधिक भिसामा रहेकाहरु पनि डिभी लोटरी भरेर परेको खण्डमा त्यसबाट ग्रिनकार्ड प्राप्त गर्न योग्य हुनसक्नेछन् । तर स्टाटस एड्जस्ट फाइल गर्ने बेलासम्म उनीहरुको भिसा अद्यावधिक नै रहेको हुनुपर्नेछ ।

२०२१ का लागि डिभी लोटरी विजेता नेपाली ३८०१

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट ब्यूरो अफ कन्सुलर अफेयर्सले सन् २०२१ का लागि डिभी विजेता नेपालीहरुको संख्या ३८०१ रहेको जनाएको छ ।

उनीहरुले गत बर्ष  अक्टोबरको २ देखि नोभेम्बर ५ सम्म डिभी लोटरी भरेका थिए ।

सन् २०२१ का डिभी लोटरी पारेकाहरुले अक्टोबर १ देखि भिसा पाउन सुरु गर्ने नियम भएपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशका कारण भिसा पाउन कम्तीमा आगामी जनवरीसम्मका लागि ढिलाई हुने भएको छ । अर्थात् उनीहरुले सन् २०२१ को जनवरीपछिमात्र भिसा प्राप्त गर्न सक्नेछन् ।

सन् २०२१ का डिभी विजेताहरुमा नेपाल एसियामा दोश्रो भएको छ । सबैभन्दा धेरै डिभी विजेताहरु इरानका ६ हजार १ जना रहेका छन् । सन् २०२१ का लागि विश्वमै सबैभन्दा धेरै डिभी विजेताहरु भने इजिप्टका ६ हजार २ जना रहेका छन् । त्यस्तै अल्जेरियाका ६ हजार १ जना र सुडानका ६ हजार १ जना रहेका छन् ।

युरोपमा भने रसियाका ६ हजार १, युक्रेनका ५६ सय ०४ र अल्बानियाका ३९ सय ६२ जनाले डिभी लोटरी पारेका छन् । रोचक त के छ भने इरान, अल्जेरिया, सुडान र रसियाका नागरिकलाई एउटै संख्यामा अर्थात् हरेक देशका ६ हजार १ लाई डिभी लोटरी परेको छ ।

सन् २०२१ का लागि नर्थ कोरियाका ३ जनालाई डिभी लोटरी परेको छ । बु्रनाईका १ जनालाई डिभी परेको छ भने एकजनालाईमात्र डिभी लोटरी परेका अन्य देशहरु झण्डै आधादर्जन छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com