राष्ट्रसंघको महिलाबिरुद्धको विभेद उन्मुलन कमिटिमा बन्दना राणा पुन: निर्वाचित


प्रकाशित मिति : कार्तिक २४, २०७७ सोमबार

संयुक्त राष्ट्रसंघको महिलाबिरुद्धको विभेद उन्मुलन कमिटिमा बन्दना राणा पुन निर्वाचित भएकी छिन् । आज न्युयोर्कमा उनी १३७ मत ल्याएर पुन: निर्वाचित भएकी हुन् ।

उनी कमिटिमा निर्वाचित ११ उम्मेदबारमध्ये एक हुन् । सन् २०२१ देखि २०२४ सम्मको कार्यकालका लागि ११ जना निर्वाचित हुनुपर्नेमा १९ जनाको उम्मेदबारी परेको थियो । बन्दना राणाले अरु १६ उम्मेदबारहरुले भन्दा सबैभन्दा धेरै मत प्राप्त गरेकी हुन् ।

नेदरल्याण्ड, बहामस, लिथुआनिया, घाना, अष्ट्रेलिया, मेक्सिको, लेबनान, फ्रान्स, फिलिपिन्स र चीनका विज्ञहरु पनि निर्वाचित भएका छन् । बन्दना राणा अहिले महिलाबिरुद्धको विभेद उन्मुलन कमिटिमा भाइस चियर समेत छिन् । राना उक्त कमिटिमा काम गर्ने पहिलो नेपाली हुन् । उनीसँग लैंगिक समानता र महिला अधिकारका क्षेत्रमा काम गरेको झण्डै तीनदशक लामो अनुभव रहेको छ ।

राष्ट्रसंघ न्युयोर्कका लागि नेपाली राजदूत अमृतबहादुर राईले राणाको पुन निर्वाचन उनको प्रमाणित विज्ञता र अनुभवको पहिचान भएको बताएका छन् । राणाको जीत कन्भेन्सन र यसको वैकल्पिक प्रोटोकल लागु गर्नेमा नेपालको इमान्दार प्रयासमा अन्तर्राष्ट्रिय समुदायको स्वीकारोक्ति भएको राईले बताए । साथै यो नेपालले महिला अधिकारको प्रवद्र्धनमा गरेको उपलब्धीको प्रशंसा समेत रहेको राईको भनाई छ ।

राजदूत राईले नेपालका तर्फबाट उम्मेदबारी दिएकी राणाको क्षमतामा विश्वास गरेर निर्वाचित गरेकोमा सबैलाई धन्यवाद दिएका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com