डिभी २०२० समाप्त, सेप्टेम्बर ३० सम्म सकेजतिलाई भिसा दियौं: अमेरिकी दूतावास काठमाडौं


प्रकाशित मिति : आश्विन १४, २०७७ बुधबार

आज डिभी लोटरी २०२० को भिसा जारी गर्ने अन्तिम मिति हो । डिभी २०२० का विजेताहरुले सेप्टेम्बर ३० सम्म भिसा पाइसक्नुपर्ने प्रावधान रहेका कारण बाँकी विजेताहरुले भने भिसा नपाउने भएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले डिभी २०२० का विजेताहरुलाई भिसा पाउनमा रोक लगाएपनि अदालतको आदेशले केहीसाता अगाडि त्यस्तो रोक खारेज गरिदिएको थियो । त्यसपछि आफूहरुले डिभी २०२० का नेपाली विजेताहरुलाई सकेजति भिसा जारी गरेको अमेरिकी दूतावास काठमाडौंले सामाजिक सञ्जालमा जनाएको छ ।

ट्रम्पको कार्यकारी आदेशपछि भिसा पाउन बाँकी डिभी २०२० का विजेताहरु २५ सय भन्दा बढी रहेका थिए । तर ती मध्ये कतिजनालाई भिसा जारी गरियो भन्नेबारे अमेरिकी दूतावास काठमाडौंले केही खुलाएको छैन । ट्रम्पको कार्यकारी आदेशका कारण २०२१ का डिभी विजेताहरुले भने डिसेम्बर ३१ भन्दा अगाडि भिसा नपाउने दूतावासले स्पष्ट पारेको छ ।

नियमित भिसा सेवाका लागि दूतावास अझै पनि बन्द रहेको दूतावासले जनाएको छ । आफूहरुले अझै पनि रिटर्निंग रेसिडेन्स भिसा प्रकृयामा लैजान नसकेको दूतावासको भनाई छ । ग्रिनकार्डमा नेपालमा गएर महामारीका कारण १ बर्षभित्र फर्कन नसकेका र २ बर्षको ट्राभल डकुमेन्टमा नेपाल गएर सोही अवधिभित्र अमेरिका फर्कन नसकेकाहरुले यो भिसाका लागि आवेदन दिनसक्ने प्रावधान रहेको छ ।

विद्यार्थी र भिजिटर भिसाका आवेदनहरु पनि प्रकृयामा लैजान नसकेको दूतावासले जनाएको छ । कहिले खुल्छ भन्ने अहिले नै भन्न नसकिने तर त्यसबारेमा अपडेट गर्दै जाने दूतावासको भनाई छ । नियमित भिसा सेवा संचालनका लागि अन्य कैयन महिना लाग्ने दूतावासले जनाएको छ ।

सन् २०२० को डिभी लोटरीका लागि छनौट भएका २६ सय भन्दा धेरै नेपालीहरु भिसाको प्रतिक्षामा रहेका थिए । उनीहरुले  सेप्टेम्बरको अन्त्यसम्मा भिसा पाइसक्नुपर्ने नियम रहेको थियो ।

मार्च महिनाको झण्डै दुईसाताको अवधिमा १८८ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । मार्च १७ पछि भने अमेरिकी दूतावास काठमाडौंले डाइभर्सिटी भिसा र गैर आप्रवासी भिसाका अन्तरवार्ताहरु स्थगित गरेको थियो । तर अन्तरवार्ता स्थगित हुनु अगाडि मार्चमहिनामा प्राथमिक डिभी विजेता ११२ जना, उनीहरुका दम्पत्ति ४२ जना र २१ बर्ष नपुगेका छोराछोरीहरु ३४ जना नेपालीले भिसा प्राप्त गरेका थिए ।

फरबरीमा भने डिभी विजेता, उनीहरुका दम्पत्ति र छोराछोरीगरी ३०३ जना नेपालीहरुले भिसा पाएका थिए । उनीहरुमध्येका कैयन कोरोनाको महामारीका कारण अमेरिका आउन पाएका छैनन् । त्यस्तै जनवरीमा ४१२ जना नेपालीले डाइभर्सिटी भिसा पाएका थिए ।

चालु आर्थिक बर्षका लागि ३६९६ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए ।

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट ब्यूरो अफ कन्सुलर अफेयर्सले सन् २०२१ का लागि डिभी विजेता नेपालीहरुको संख्या ३८०१ रहेको जनाएको छ ।

उनीहरुले गत अक्टोबरको २ देखि नोभेम्बर ५ सम्म डिभी लोटरी भरेका थिए । गत जुन ६ मा डिभी लोटरीको नतिजा आएपनि कतिजनालाई डिभी लोटरी परेको थियो भन्नेबारे सार्वजनिक गरिएको थिएन ।

सन् २०२१ का डिभी लोटरी पारेकाहरुले आगामी अक्टोबर १ देखि भिसा पाउन सुरु गर्ने नियम भएपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशका कारण भिसा पाउन कम्तीमा आगामी जनवरीसम्मका लागि ढिलाई हुने भएको छ । अर्थात् उनीहरुले सन् २०२१ को जनवरीपछिमात्र भिसा प्राप्त गर्न सक्नेछन् ।

सन् २०२१ का डिभी विजेताहरुमा नेपाल एसियामा दोश्रो रहेको छ । सबैभन्दा धेरै डिभी विजेताहरु इरानका ६ हजार १ जना रहेका छन् । सन् २०२१ का लागि विश्वमै सबैभन्दा धेरै डिभी विजेताहरु भने इजिप्टका ६ हजार २ जना रहेका छन् । त्यस्तै अल्जेरियाका ६ हजार १ जना र सुडानका ६ हजार १ जना रहेका छन् ।

युरोपमा भने रसियाका ६ हजार १, युक्रेनका ५६ सय ०४ र अल्बानियाका ३९ सय ६२ जनाले डिभी लोटरी पारेका छन् । रोचक त के छ भने इरान, अल्जेरिया, सुडान र रसियाका नागरिकलाई एउटै संख्यामा अर्थात् हरेक देशका ६ हजार १ लाई डिभी लोटरी परेको छ ।

सन् २०२१ का लागि नर्थ कोरियाका ३ जनालाई डिभी लोटरी परेको छ । बु्रनाईका १ जनालाई डिभी परेको छ भने एकजनालाईमात्र डिभी लोटरी परेका अन्य देशहरु झण्डै आधादर्जन छन् ।

डिभीको नतिजा चेक गर्न र डिभी भर्न यो वेवसाइटमा क्लीक गर्नुहोला ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com