डिभी विजेतालाई अमेरिका आउन ट्रम्प प्रशासनले लगाएको रोक अदालतबाट खारेज


प्रकाशित मिति : भाद्र २०, २०७७ शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत सन् २०२० को भिसाको औचित्य समाप्त गरेकोमा संघीय अदालतले त्यसको बिरुद्धमा फैसला गरेको छ । युएस डिस्ट्रिक्ट कोर्ट वासिंटन डिसीका न्यायाधिस अमित मेहताले सन् २०२० का डिभी विजेताहरुलाई भिसा जारी गर्न आदेश दिएका छन् ।

डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले सन् २०२० को डिसेम्बरसम्म डिभी लोटरी लगायतका आप्रवासी भिसामा रोक लगाएपछि सन् २०२० को डिभीको औचित्य समाप्त भएको थियो । सन् २०२० का डिभी लोटरी विजेताहरुले यसै महिनाको अन्त्यसम्ममा भिसा पाउनुपर्ने नियम रहेको छ ।

संघीय न्यायाधिसको यो आदेशपछि अमेरिकी दूतावास र कन्सुलेटहरुले सन् २०२० का डिभी विजेताहरुलाई भिसा जारी गर्नुपर्ने हुन्छ । तर महामारीका कारण दूतावास बन्द रहेको अवस्थामा यो आदेश कसरी कार्यान्वयन हुन्छ भन्नेबारे केही स्पष्ट छैन ।

अदालतले दिएको ८५ पृष्ठ लामो आदेशको पूर्णपाठ

सन् २०२० का डिभी लोटरी विजेतालाई सेप्टेम्बर ३० को डेडलाइन अगाडि नै तीब्र गतिमा भिसा जारी गर्नका लागि काम गर्न न्यायाधिसले अमेरिकी विदेशमन्त्रालयलाई आदेश दिएका छन् । डिभी लोटरी विजेतालाई भिसा जारी गर्नुपर्ने आदेश दिएपनि न्यायाधिस मेहताले कामदार भिसा, परिवार र रोजगारमा आधारित ग्रिनकार्ड भिसा लगायतमा ट्रम्पले लगाएको रोकबिरुद्ध भने आदेश जारी गरेका छैनन् ।

अमेरिकी विदेशमन्त्रालयले शनिबार अदातलको आदेशबारे आफूहरु सचेत रहेको र यसको डिपार्टमेन्ट अफ जस्टिससँग पुनरावलोकन गरिरहेको बताएको छ । झण्डै ४ घण्टा लामो बहसपछि न्यायाधिस मेहताको यो आदेश आएको हो ।

राष्ट्रपति ट्रम्पले गत अप्रिलमा रोक लगाएपछि डिभी विजेताहरुले भिसा पाएका छैनन् । सबै प्रकृया पूरा गरेर अन्तरवार्ताको मिति तय भएका तर कोरोनाका कारण अन्तरवार्ता दिन नपाएकाहरु समेत भिसा पाउनबाट वञ्चित भएका छन् ।

तर अब सन् २०२० का डिभी विजेताहरुले भिसा लिइसक्नुपर्ने अवधि झण्डै तीनसातामात्र बाँकी रहेको छ ।

सन् २०२० को डिभीमा छनौट भएका २६ सय बढीले भिसा पाएनन्

सन् २०२० को डिभी लोटरीका लागि छनौट भएका २६ सय भन्दा धेरै नेपालीहरु भिसाको प्रतिक्षामा रहेका थिए । उनीहरुले  सेप्टेम्बरको अन्त्यसम्मा भिसा पाइसक्नुपर्ने नियम रहेको छ । सेप्टेम्बरसम्म भिसा नपाए सन् २०२० को डिभी समाप्त हुने नियम रहेको छ ।

मार्च महिनाको झण्डै दुईसाताको अवधिमा १८८ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । मार्च १७ पछि भने अमेरिकी दूतावास काठमाडौंले डाइभर्सिटी भिसा र गैर आप्रवासी भिसाका अन्तरवार्ताहरु स्थगित गरेको थियो । तर अन्तरवार्ता स्थगित हुनु अगाडि मार्चमहिनामा प्राथमिक डिभी विजेता ११२ जना, उनीहरुका दम्पत्ति ४२ जना र २१ बर्ष नपुगेका छोराछोरीहरु ३४ जना नेपालीले भिसा प्राप्त गरेका थिए ।

फरबरीमा भने डिभी विजेता, उनीहरुका दम्पत्ति र छोराछोरीगरी ३०३ जना नेपालीहरुले भिसा पाएका थिए । उनीहरुमध्येका कैयन कोरोनाको महामारीका कारण अमेरिका आउन पाएका छैनन् । त्यस्तै जनवरीमा ४१२ जना नेपालीले डाइभर्सिटी भिसा पाएका थिए ।

चालु आर्थिक बर्षका लागि ३६९६ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए । तर उनीहरुमध्ये जम्मा १०६९ जना प्राथमिक डिभी विजेताहरुलेमात्र अमेरिकाको भिसा प्राप्त गरिसकेका छन् ।

२०२१ का लागि डिभी लोटरी विजेता नेपाली ३८०१, एसियामै दोश्रो

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट ब्यूरो अफ कन्सुलर अफेयर्सले सन् २०२१ का लागि डिभी विजेता नेपालीहरुको संख्या ३८०१ रहेको जनाएको छ ।

उनीहरुले गत अक्टोबरको २ देखि नोभेम्बर ५ सम्म डिभी लोटरी भरेका थिए । गत जुन ६ मा डिभी लोटरीको नतिजा आएपनि कतिजनालाई डिभी लोटरी परेको थियो भन्नेबारे सार्वजनिक गरिएको थिएन ।

सन् २०२१ का डिभी लोटरी पारेकाहरुले आगामी अक्टोबर १ देखि भिसा पाउन सुरु गर्ने नियम भएपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशका कारण भिसा पाउन कम्तीमा आगामी जनवरीसम्मका लागि ढिलाई हुने भएको छ । अर्थात् उनीहरुले सन् २०२१ को जनवरीपछिमात्र भिसा प्राप्त गर्न सक्नेछन् ।

डिभी विजेतामा नेपाल एसियामा दोश्रो

सन् २०२१ का डिभी विजेताहरुमा नेपाल एसियामा दोश्रो भएको छ । सबैभन्दा धेरै डिभी विजेताहरु इरानका ६ हजार १ जना रहेका छन् । सन् २०२१ का लागि विश्वमै सबैभन्दा धेरै डिभी विजेताहरु भने इजिप्टका ६ हजार २ जना रहेका छन् । त्यस्तै अल्जेरियाका ६ हजार १ जना र सुडानका ६ हजार १ जना रहेका छन् ।

युरोपमा भने रसियाका ६ हजार १, युक्रेनका ५६ सय ०४ र अल्बानियाका ३९ सय ६२ जनाले डिभी लोटरी पारेका छन् । रोचक त के छ भने इरान, अल्जेरिया, सुडान र रसियाका नागरिकलाई एउटै संख्यामा अर्थात् हरेक देशका ६ हजार १ लाई डिभी लोटरी परेको छ ।

नर्थ कोरियाका ३ जनालाई डिभी लोटरी

सन् २०२१ का लागि नर्थ कोरियाका ३ जनालाई डिभी लोटरी परेको छ । बु्रनाईका १ जनालाई डिभी परेको छ भने एकजनालाईमात्र डिभी लोटरी परेका अन्य देशहरु झण्डै आधादर्जन छन् ।

२०२२ को डिभी लोटरी भर्ने मिति यसै महिना  घोषणा गरिने

आर्थिक बर्ष २०२२ का लागि अमेरिकाको डिभी लोटरी भर्ने मिति यसै महिना घोषणा गरिने भएको छ । डिभी २०२२ का लागि दर्ता अवधि छिट्टै घोषणा गरिने अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ ।

डीभी २०२२ कार्यक्रमका लागि आवेदन दिन रुची हुनेहरुले आगामी दिनमा अमेरिकी विदेशमन्त्रालयको भिसा वेवपेज चेक गर्न सक्नेछन् । डिभी २०२२ मा सहभागी हुनका सरकारको आधिकारिक वेवसाइटमा सुचनाप्रकाशित हुनेछ । कतिपय अनाधिकृत वेवसाइटहरुले डिभी २०२२ का लागि भन्दै विवरण संकलन गरेकाले त्यसबाट सचेत हुनुपर्ने देखिएको छ ।

डिभीको नतिजा चेक गर्न र डिभी भर्न यो वेवसाइटमा क्लीक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com