१०५० सम्म केस नम्बर हुने २०२१ का डिभी विजेता नेपालीहरुलाई अक्टोबरमा ग्रिनकार्ड


प्रकाशित मिति : भाद्र ५, २०७७ शुक्रबार

आर्थिक बर्ष सन् २०२१ को डिभी लोटरी जीतेका १०५० सम्म केस नम्बर हुने नेपालीहरुले आगामी अक्टोबरमा स्टाटस एड्जस्ट गर्न सक्ने भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशका कारण अमेरिका बाहिर रहेका नेपालीहरुले भने जनवरीपछिमात्र भिसा प्राप्त गर्नसक्नेछन् । तर अमेरिकाभित्रै रहेका तर ग्रिनकार्ड नभएका डिभी विजेता नेपालीहरुले स्टाटस एड्जस्ट गर्न सक्ने भएका छन् ।

अमेरिकाभित्रै कानुनी उपस्थीतिमा रहेका १०५० सम्म केस नम्बर हुने नेपालीहरुले अक्टोबरमा ग्रिनकार्ड एडजस्ट गर्नका लागि युएससीआईएसमा सम्पर्क गर्नुपर्ने जनाइएको छ । सन् २०२१ का डिभी विजेताहरुले २०२१ को सेप्टेम्बर ३० अगाडि नै भिसा लिइसक्नुपर्ने प्रावधान रहेको छ । उक्त अवधिभित्र भिसा नलिएमा वा स्टाटस एड्जस्ट नगरेमा उक्त बर्षको डिभीको औचित्य समाप्त हुनेछ ।

२०२१ का लागि डिभी लोटरी विजेता नेपाली ३८०१, एसियामै दोश्रो

आर्थिक बर्ष सन् २०२१ का लागि डिभी लोटरी विजेता नेपालीहरुको संख्या सार्वजनिक गरिएको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट ब्यूरो अफ कन्सुलर अफेयर्सले सन् २०२१ का लागि डिभी विजेता नेपालीहरुको संख्या ३८०१ रहेको जनाएको छ ।

उनीहरुले गत अक्टोबरको २ देखि नोभेम्बर ५ सम्म डिभी लोटरी भरेका थिए । गत जुन ६ मा डिभी लोटरीको नतिजा आएपनि कतिजनालाई डिभी लोटरी परेको थियो भन्नेबारे सार्वजनिक गरिएको थिएन ।

सन् २०२१ का डिभी लोटरी पारेकाहरुले आगामी अक्टोबर १ देखि भिसा पाउन सुरु गर्ने नियम भएपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशका कारण भिसा पाउन कम्तीमा आगामी जनवरीसम्मका लागि ढिलाई हुने भएको छ । अर्थात् उनीहरुले सन् २०२१ को जनवरीपछिमात्र भिसा प्राप्त गर्न सक्नेछन् ।

आर्थिक बर्ष सन् २०२० का डिभी विजेताहरुले ट्रम्पको कार्यकारी आदेश अनुशार गत अप्रिलदेखि भिसा पाउन रोकिएपनि कोरोनाको महामारीका कारण व्यवहारिक रुपमा भने मार्चको तेश्रो सातादेखि नै भिसा रोकिएको थियो । उनीहरुले सेप्टेम्बरको अन्त्यसम्म भिसा पाउने भएपनि कार्यकारी आदेशका कारण सन् २०२० को डिभीको औचित्य समाप्त भएको छ ।

डिभी विजेतामा नेपाल एसियामा दोश्रो

सन् २०२१ का डिभी विजेताहरुमा नेपाल एसियामा दोश्रो भएको छ । सबैभन्दा धेरै डिभी विजेताहरु इरानका ६ हजार १ जना रहेका छन् । सन् २०२१ का लागि विश्वमै सबैभन्दा धेरै डिभी विजेताहरु भने इजिप्टका ६ हजार २ जना रहेका छन् । त्यस्तै अल्जेरियाका ६ हजार १ जना र सुडानका ६ हजार १ जना रहेका छन् ।

युरोपमा भने रसियाका ६ हजार १, युक्रेनका ५६ सय ०४ र अल्बानियाका ३९ सय ६२ जनाले डिभी लोटरी पारेका छन् । रोचक त के छ भने इरान, अल्जेरिया, सुडान र रसियाका नागरिकलाई एउटै संख्यामा अर्थात् हरेक देशका ६ हजार १ लाई डिभी लोटरी परेको छ ।

नर्थ कोरियाका ३ जनालाई डिभी लोटरी

सन् २०२१ का लागि नर्थ कोरियाका ३ जनालाई डिभी लोटरी परेको छ । बु्रनाईका १ जनालाई डिभी परेको छ भने एकजनालाईमात्र डिभी लोटरी परेका अन्य देशहरु झण्डै आधादर्जन छन् ।

सन् २०२० को डिभीमा छनौट भएका २६ सय बढीले भिसा नपाउने

सन् २०२० को डिभी लोटरीका लागि छनौट भएका २६ सय भन्दा धेरै नेपालीहरु भिसाको प्रतिक्षामा रहेका थिए । उनीहरुले आगामी सेप्टेम्बरको अन्त्यसम्मा भिसा पाइसक्नुपर्ने नियम रहेकोमा डिसेम्बरको अन्त्यसम्म लगाएको आप्रवासन रोकले उनीहरुले भिसा नपाउने निश्चित भएको छ । सेप्टेम्बरसम्म भिसा नपाएपछि सन् २०२० को डिभी समाप्त हुने नियम रहेको छ ।

मार्च महिनाको झण्डै दुईसाताको अवधिमा १८८ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । मार्च १७ पछि भने अमेरिकी दूतावास काठमाडौंले डाइभर्सिटी भिसा र गैर आप्रवासी भिसाका अन्तरवार्ताहरु स्थगित गरेको थियो । तर अन्तरवार्ता स्थगित हुनु अगाडि मार्चमहिनामा प्राथमिक डिभी विजेता ११२ जना, उनीहरुका दम्पत्ति ४२ जना र २१ बर्ष नपुगेका छोराछोरीहरु ३४ जना नेपालीले भिसा प्राप्त गरेका थिए ।

फरबरीमा भने डिभी विजेता, उनीहरुका दम्पत्ति र छोराछोरीगरी ३०३ जना नेपालीहरुले भिसा पाएका थिए । उनीहरुमध्येका कैयन कोरोनाको महामारीका कारण अमेरिका आउन पाएका छैनन् । त्यस्तै जनवरीमा ४१२ जना नेपालीले डाइभर्सिटी भिसा पाएका थिए । भिसाको अवधि ६ महिनाको हुने भएकाले मार्च वा अप्रिलमा अमेरिका आउने योजना बनाएका उनीहरुमध्येका पनि नेपालमै रोकिएका छन् ।

डिसेम्बरमा ४६०, नोभेम्बरमा ३२५ र अक्टोबरमा ८० नेपालीले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । तीमध्येका केहीले समेत मार्चको दोश्रोसातापछि वा अप्रिलमा अमेरिका आउने योजना बनाएका थिए । तर उनीहरु पनि नेपालमा नै रोकिएका छन् ।

चालु आर्थिक बर्षका लागि ३६९६ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए । तर उनीहरुमध्ये जम्मा १०६९ जना प्राथमिक डिभी विजेताहरुलेमात्र अमेरिकाको भिसा प्राप्त गरिसकेका छन् ।

२०२२ को डिभी लोटरी भर्ने मिति आगामी महिना घोषणा गरिने

आर्थिक बर्ष २०२२ का लागि अमेरिकाको डिभी लोटरी भर्ने मिति आगामी महिना घोषणा गरिने भएको छ । डिभी २०२२ का लागि दर्ता अवधि छिट्टै घोषणा गरिने अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ ।

डीभी २०२२ कार्यक्रमका लागि आवेदन दिन रुची हुनेहरुले आगामी दिनमा अमेरिकी विदेशमन्त्रालयको भिसा वेवपेज चेक गर्न सक्नेछन् । डिभी २०२२ मा सहभागी हुनका सरकारको आधिकारिक वेवसाइटमा सुचनाप्रकाशित हुनेछ । कतिपय अनाधिकृत वेवसाइटहरुले डिभी २०२२ का लागि भन्दै विवरण संकलन गरेकाले त्यसबाट सचेत हुनुपर्ने देखिएको छ ।

डिभीको नतिजा चेक गर्न र डिभी भर्न यो वेवसाइटमा क्लीक गर्नुहोला ।

यसैबीच २०२१ का लागि डिभी विजेताहरुको विवरण अमेरिकी सरकारले सार्वजनिक गरेको छ । २०२१ का लागि डिभी विजेता नेपालीहरुको संख्या ३८ सय १ रहेको छ । उनीहरुले गतबर्षको अक्टोबरमा डिभी भरेका थिए ।

डिभी भर्नका लागि पासपोर्ट अनिवार्य गरिएपछि गत अक्टोबरमा डिभी भर्नेहरुको संख्या विगतका बर्षहरुको तुलनामा निकै कम रहेको थियो । चालु आर्थिक बर्ष २०२० का लागि विश्वभरबाट झण्डै डेढ करोडले डिभी लोटरी भरेपनि २०२१ का लागि डिभी भर्नेहरुको संख्या झण्डै ६७ लाखमात्र रहेको थियो ।

२०२० को डिभी लोटरीमा परिवारका सदस्यहरुसमेत जोड्दा झण्डै २ करोड ३१ लाख सहभागी भएका थिए । तर २०२१ का लागि गत अक्टोबरमा डिभी कार्यक्रममा सहभागी हुनेहरु परिवारका सदस्यहरुसमेत जोड्दा झण्डै १ करोड १८ लाखमात्र रहेका थिए ।

२०२१ का लागि विश्वभरबाट १ लाख ३२ हजार ४ सय ४ आवेदकहरु छनौट भएका छन् । उनीहरुमध्ये ५५ हजारले अमेरिकाको भिसा प्राप्त गर्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com