आप्रवासीलाई समाचार दिने न्युयोर्कका टप ४ मिडियामा खसोखास, अमेरिकाभरमा ५० भित्र


प्रकाशित मिति : असार ९, २०७७ मंगलबार

आप्रवासी समुदायलाई सुचना सम्प्रेषण गर्ने न्युयोर्कका टप ४ मिडियामा खसोखास समेत छनौट भएको छ । अमेरिकाभरका मिडियाहरुमा भने आप्रवासी समुदायलाई सुचना सम्प्रेषण गर्नेमा खसोखास टप ५० भित्र परेको छ ।

सिटी युनिभर्सिटीको न्युमार्क ग्रयाजुएट स्कुल अफ जर्नालिज्मले आज टप ५० मिडियाबारे रिपोर्ट सार्वजनिक गरेको छ । सिटी युनिभर्सिटीको न्युमार्क ग्रयाजुएट स्कुल अफ जर्नालिज्म अन्तरगतका तीनवटा मिडिया सेन्टरहरुमध्ये सेन्टर फर कम्युनिटी मिडियाले स्वतन्त्र अध्ययनका आधारमा उक्त रिपोर्ट तयार पारेको हो ।

यो रिपोर्ट सेन्टर फर कम्युनिटी मिडियामा बरिष्ठ फेलो तथा क्यालिफोर्निया स्टेट युनिभर्सिटीमा पत्रकारितामा सहायक प्राध्यापक डानियला गेर्सनको नेतृत्वमा तयार पारिएको हो । जसमा चि झांग, ताहियुन किम, डार्लिन प्रिन्सिपे, जेनिफर चेंग, ओमार शाहरियार, याना कुनिचोफ, सोन ली, मारिया एन्जेला भेगाको टिम समेत रिसर्चमा सहभागी रहेको थियो । रिसर्चको सम्पादन करेन पेनरले गरेकी हुन् ।

उक्त सुचीमा अमेरिकाभरका २३ राज्यबाट ३० भन्दा बढी भाषाका ५० वटा मिडियाहरु छनौट गरिएको छ । जसमा पत्रिका, अनलाइन, रेडियो र टेलिभिजनसमेत छन् । सुरुमा टप सयको सुचीबाट टप ५० संचारमाध्यमहरुको छनौट गरिएको हो ।

विगत केहीबर्षदेखि नै आफूहरुले आप्रवासी समुदायलाई सुचना सम्प्रेषण गर्ने संचारमाध्यमहरुको अध्ययन गर्दै आएको सेन्टर फर कम्युनिटी मिडियाले जनाएको छ । छनौटका लागि विभिन्न मापदण्डहरु तय गरिएको थियो ।

आप्रवासीलाई सुचना सम्प्रेषण गर्ने न्युयोर्कका टप ४ मा खसोखासका साथमा बंगाली भाषाको टीबीएन २४, फिलिपिनो समुदायलाई समाचार सम्प्रेषण गर्ने अँग्रेजी भाषाको द फिल एएम र हैटियन समुदायलाई अँग्रेजी भाषामा समाचार सम्प्रेषण गर्ने द हैटियन टाइम्स छनौट भएका छन् ।

टप ५० मा छनौट हुने नेपाली भाषाको संचारमाध्यममा खसोखासमात्र रहेको छ भने हिन्दीमा टेक्सासबाट संचालन हुने रेडियो क्याराभान रहेको छ । पञ्जावी भाषामा भने क्यालिफोर्नियाबाट संचालिन पञ्जावी रेडियो युएससए र एटलान्टाबाट संचालित खबर रहेका छन् । अन्य संचारमाध्यमहरु भने अँग्रेजी, स्पानिस, फ्रेन्च, अरविक, चाइनिज, पोर्चुगिज, इन्डोनेशियन, भियतनामिज, रसियन, जापानिज, सोमाली र कोरियन भाषा लगायतका छन् ।

टप ५० मिडियाको सुची, विवरण र छनौट प्रकृया यहाँ पढ्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com