हरेक बर्ष १० लाख बढी नेपालीले भर्छन् डिभी, १५ बर्षमा नेपालबाट ६५ लाख आवेदन


प्रकाशित मिति : असार ८, २०७७ सोमबार

हरेक बर्ष १० लाख बढी नेपालीहरु डिभी कार्यक्रममा सहभागी हुने गरेको तथ्यांक अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक गरेको छ । गत बर्षको डिभी कार्यक्रममा सहभागी हुनका लागि पासपोर्ट अनिवार्य गरिएपछि संख्या केही कमी आएपनि हरेक बर्ष डिभी कार्यक्रममा सहभागी हुनेहरु पछिल्लो बर्षमा १० लाखभन्दा बढी रहेका छन् ।

सन् २०१९ र २०२० को डिभी कार्यक्रममा सहभागी हुने नेपालीहरुको कुल संख्या २० लाख भन्दा बढी रहेको छ । जसमा हरेक बर्ष १० लाख भन्दा बढी नेपालीहरु डिभी कार्यक्रममा सहभागी भएका छन् ।

आर्थिक बर्ष २०१८ मा ११ लाख ८७ हजार ३ सय ५० नेपाली डिभी कार्यक्रममा सहभागी भएका थिए । जसमा मुल आवेदक नेपालीहरुमात्र ७ लाख २८ हजार ७ सय १८ थिए भने बाँकी उनीहरुका दम्पत्ति र २१ बर्ष नपुगेका छोराछोरीहरु थिए ।

त्यस्तै आर्थिक बर्ष २०१७ मा ११ लाख ३६ हजार ६ सय २२ नेपाली डिभी कार्यक्रममा सहभागी भएका थिए । जसमध्ये मुख्य आवेदकहरु ६ लाख ९२ हजार १ सय ३७ जना रहेका थिए । त्यस्तै आर्थिक बर्ष २०१६ मा १० लाख ९० हजार ८ सय ८० जना नेपालीहरु डिभी कार्यक्रममा सहभागी भएका थिए, जसमध्ये मुल आवेदकहरु ६ लाख ६४ हजार ८ सय ५४ जना रहेका थिए ।

सन् २०१५ मा ८ लाख ९२ हजार ९ सय ६१, सन् २०१४ को डिभी कार्यक्रममा ६ लाख १३ हजार ३ सय ८५, सन् २०१३ को डिभी कार्यक्रममा ४ लाख ९६ हजार ४ सय १० नेपालीहरु सहभागी भएका थिए । त्यस्तै सन् २०१२ को डिभी कार्यक्रममा ३ लाख ९७ हजार ३६ नेपाली, सन् २०११ को डिभी कार्यक्रममा ३ लाख २२ हजार ७ सय ५८ जना नेपालीहरु र सन् २०१० को डिभी कार्यक्रममा ३ लाख ५६ हजार २ सय १६ नेपालीहरु सहभागी भएका थिए ।

सन् २००९ मा २ लाख ९८ हजार १ सय ४१, सन् २००८ मा ३ लाख ८९ हजार ९ सय ८९ नेपालीहरु र सन् २००७ मा ३ लाख २७ हजार ३ सय ३० नेपालीहरु डिभी कार्यक्रममा सहभागी भएका थिए ।

सन् २००७ देखि अहिलेसम्म नेपालबाट ६५ लाखभन्दा धेरै आवेदनहरु परेको अमेरिकी सरकारको तथ्यांकले देखाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com