‘एनआरएनलाई नेपाली नागरिकसरह प्रवेश नदिनु असंवैधानिक र विभेदकारी’


प्रकाशित मिति : फाल्गुन ३०, २०७६ शुक्रबार

विदेशमा बस्ने एनआरएनहरुलाई नेपाली नागरिकसरह प्रवेश नदिनु असंवैधानिक र विभेदकारी रहेको कानुनविद् तथा एनआरएनए नेपाली नागरिकताको निरन्तरता सम्बन्धि टास्क फोर्सका पूर्व कोचयर तथा वर्तमान सल्लाहकार खगेन्द्र जीसीले बताउनुभएको छ । कोरोना संक्रमणबिरुद्ध जुध्न नेपाल सरकारले जारी गरेको यात्रा प्रतिबन्धमा एनआरएनहरुलाई नेपाली नागरिकसरह व्यवहार नगरिएकोमा जीसीले आपत्ति जनाउनुभएको हो ।

जीसीले भन्नुभयो – ‘कोरोना संक्रमणबिरुद्ध नेपालको लडाईमा हामी विदेशमा रहेका एनआरएनहरुको सधै साथ र सहयोग रहन्छ । तर यात्रा प्रतिबन्ध लगाउँदा एनआरएनलाई नेपाली नागरिकसरह प्रवेश नदिनु असंवैधानिक र विभेदकारी रहेको छ ।’

नेपालको संविधानमा विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको साबिकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानून बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिने व्यवस्था गरिएको छ । तर नेपाली नागरिक र एनआरएनलाई प्रवेशमा गरिएको विभेदले यो संवैधानिक व्यवस्थाको समेत उल्लंघन गरेको जीसीले बताउनुभयो ।

‘संविधान अनुशार एनआरएनलाई राजनीतिक अधिकारबाहेक अरु कुनै पनि कुरामा नेपाली नागरिक सरह व्यवहार हुनुपर्छ । एनआरएनएलाई नेपाल प्रवेशमा गरिएको विभेद असंवैधानिक भएकाले सरकारले तुरुन्त सच्याउनुपर्छ । नेपाली नागरिक र एनआरएनबीच विभेदकारी अवस्था श्रृजना गरेको छ । एनआरएनका सन्दर्भमा अरु विदेशी सरह नै व्यवस्था गर्न पाइदैन । ‘ – जीसीले भन्नुभयो ।

नेपाल जान हिडेका नेपाली मुलका व्यक्तिलाई न्युयोर्ककै एयरपोर्टबाट फर्काइयो

नेपाल जान हिडेका नेपाली मुलका यात्रुहरुलाई समेत न्युयोर्ककै एयरपोर्ट विमान चढ्न नदिई फिर्ता गरिएको छ । नेपाल सरकारले नेपाल आउनेहरुलाई अध्यागमनमा स्वास्थ्य प्रमाणपत्र अनिवार्य गरेपछि र अनअराइभल भिसामा रोक लगाएपछि न्युयोर्कको जोन अफ केनेडी विमानस्थलबाट विमान चढ्नमा रोक लगाइएको हो ।

आज विहान कतार एयरवेजको उडानमार्फत नेपाल जान लागेकी एकजना नेपाली मुलकी महिलाले खसोखाससँग भनिन् – ‘जोन अफ केनेडी विमानस्थलमा बोर्डिङ पास लिन खोज्दा स्वास्थ्य प्रमाणपत्र नभएको भन्दै बोर्डिङ पास नै दिइएन । त्यसैले नेपाल जान नपाएपछि फर्केर आएँ ।’

‘अब नयाँ टिकटको मूल्य रिफण्ड पाउने नपाउने पनि निश्चित छैन । मैले ट्राभल एजेन्सीलाई टिकटको मूल्य रिफण्डका लागि अनुरोध गरेकी छु । हेरौं के हुन्छ ।’ –  उनले भनिन् ।

नेपाल सरकारले मार्च १४ को राती १२ बजेपछि नयाँ नियम लागु हुने बताएपनि मार्च १४ को बेलुका ७ बजेर १० मिनेटमा अवतरण हुने यात्रुलाई समेत कतार एयरवेजले विमान चढ्नमा रोक लगाएको छ ।

नेपाल सरकारको सुचनापछि नेपाल जानका लागि दोहामा पुगिसकेका यात्रुहरु समेत अन्यौलमा परेका छन् । नेपालमा स्वास्थ्य प्रमाणपत्र अनिवार्य गरेपछि अमेरिकाबाट नेपाल जानका केहीदिन पछाडिको टिकट लिएकाहरु समेत अन्यौलमा परेको डिजिटल वान ट्राभलमा कार्यरत कञ्चन केसीले बताइन् । स्वाब रिपोर्ट तत्कालै बनाउनमा समस्या हुने र ल्याब टेस्टबाट रिपोर्ट प्राप्त हुन केही समय लाग्ने भएकाले यात्रुहरु अन्यौलमा परेको उनको भनाई छ ।

नेपाली पासपोर्ट हुने ग्रिनकार्डवाहकहरुलाई समेत एयरलाइन्सले स्वास्थ्य प्रमाणपत्र माग्न थालेको जनाइएको छ । तर यसबारे एयरलाइन्सले भने कुनै प्रतिकृया दिएको छैन । कतार एयरलाइन्स बाहेक अन्य एयरलाइन्सले पनि शनिबारपछि नेपालमा अवतरण हुने उडानहरुमा स्वास्थ्य प्रमाणपत्रविनाका यात्रुहरु चढाउनमा रोक लगाएका छन् ।

 

शनिबारदेखि नेपालमा एनआरएन र विदेशीलाई अन अराइभल भिसा नदिइने, स्वास्थ्य प्रमाणपत्र अनिवार्य

नेपाल सरकारले नेपालको आगमन विन्दुमा विदेशीहरुलाई दिइदै आएको अन अराइभल भिसा मार्च १४ को राती १२ बजेबाट लागु हुनेगरी अप्रिल ३० सम्मका लागि स्थगन गर्ने निर्णय गरेको छ ।

यसअगाडि नै भिसा लिइसकेका विदेशीहरुले नेपालको आगमन विन्दुमा आइपुग्ने मितिभन्दा बढीमा ७ दिनभित्रको स्वास्थ्य जाँच प्रमाणपत्र आगमन विन्दुको अध्यागमन कार्यालयमा पेश गर्ने व्यवस्था लागु गरिने भएकोछ ।

अति जरुरी कामबाट नेवालमा यात्रा गर्नुपर्ने अवस्थाका विदेशीले सम्बन्धित मुलुक वा नजिकमा रहेका नेपाली नियोगहरुबाट नेपाल आइपुग्ने मितिभन्दा बढीमा ७ दिनभित्रको स्वास्थ्य जाँच प्रमाणपत्र सहित भिसा आवेदन दिनुपर्ने भएको छ ।

गैर आवासीय नेपालीहरुलाई गैर आवासीय नेपाली परिचयपत्रको आधारमा आगमन विन्दुमा दिइदै आएको अन अराइभल भिसा पनि १४ मार्चको राती १२ बजेबाट लागु हुनेगरी ३० अप्रिलसम्मका लागि स्थगित गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ ।

अत्यावश्यक कारणले नेपाल आउनुपर्ने अवस्थामा नेपाल आइपुग्ने मितिभन्दा बढीमा ७ दिनभित्रबो स्वास्थ्यजाँच प्रमाणपत्र संलग्न गरी सम्बन्धित मुलुक वा नजिकमा रहेका नेपाली नियोगहरुबाट भिसा लिनुपर्ने व्यवस्था लागु गर्ने सरकारले निर्णय गरेको छ ।

मार्च १४ पछि नेपाल प्रवेश गर्ने विदेशीहरुले सेल्फ क्वारेन्टाइनमा र नेपाली नागरिक तथा गैरआवासीय नेपालीले होम क्वारेन्टाइनमा १४ दिनसम्म बस्नुपर्ने व्यवस्था लागु गर्ने सरकारले निर्णय गरेको छ । कुटनीतिक र अफिसियल भिसा प्राप्त गरेका विदेशीहरु विदेशयात्राबाट नेपाल फर्केपछि १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ ।

त्यस्तै विदेशमा रहेका नेपाली नागरिकहरुलाई अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र विदेशमा रहँदा उच्च सतर्कता र सावधानी अपनाउन अनुरोध गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

तेश्रो मुलुकका नागरिकलाई स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्न दिइदै आएको सुविधा पनि १४ मार्च राती १२ बजेदेखि लागु हुनेगरी ३० अप्रिलसम्मका लागि स्थगित गरिने भएको छ ।

नेपालभारतबीचको यात्रु आवागमनलाई व्यवस्थीत गर्न परराष्ट्र मन्त्रालयले अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति र गृह मन्त्रालयसँगको सहकार्यमा भारतीय पक्षसँग समन्वय गरी निश्चित विन्दुहरुबाटमात्र यात्रु आवागमन गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ ।

त्यस्तै अर्को सुचना नभएसम्म वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति स्थगन गरिने भएको छ । अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई ३० अप्रिल २०२० भित्र विदेश यात्रा गर्ने गरी नो अब्जेक्सन प्रमाणपत्र जारी नगरिने भएको छ ।

संक्रमणको रोकथाम र नियन्त्रणका लागि अति आवश्यक पर्ने औषधी, औजार तथा उपकरण लगायत सामाग्रीहरु सार्वजनिक खरिद ऐनको विशेष परिस्थीतिको प्रावधान अनुशार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खरिद गर्ने भएको छ ।

नेपालका पर्वतारोहण गर्ने गरी सन् २०२० को वशन्त ऋतुका लागि जारी गरिएका वा जारी गरिने अनुमतिपत्र हाललाई स्थगित गरिने भएको छ । त्यस्तै नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय सभा, सम्मेलन समारोहलाई मे ३१ सम्मका लागि स्थगित गरिने भएको छ ।

संक्रमणबाट जोगिन ठूलो संख्यामा मानिसहरु भेला हुने सिनेमा हल, सभा समारोह तथा सामाजिक कार्य एवं मेला महोत्सवमा सहभागी नहुन आम जनसमुदायलाई आव्हान गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com