‘यो मन त मेरो नेपाली हो’ – प्रबल गुरुङ, नेपाली अमेरिकन फेशन डिजाइनर
प्रकाशित मिति : मंसिर १६, २०७६ सोमबार
नेपाललाई आफ्नो सबैभन्दा ठूलो प्रेरणा बताउँदै आएका नेपाली अमेरिकन चर्चित फेशन डिजाइनर प्रबल गुरुङ दौरा सुरुवाल कोट टोपीमा देखिएका छन् । उनले नेपाली पोशाक लगाएको तस्वीर ट्वीटरमा पोष्ट गर्दै नेपालीमै लेखेका छन् – ‘यो मन त मेरो नेपाली हो ।’

हालै नेपालको भ्रमणमा रहेका नेपाली मूलका अमेरिकी चर्चित फेशन डिजाइनर प्रवल गुरुङ्गले नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी र नेपालस्थित अमेरिकी मिशनका कर्मचारीहरूलाई भेटेर आफ्ना जीवनका अनुभवहरु सुनाएका थिए ।

उनले एउटा सफल समाज निर्माणको लागि समावेशिता, विविधता तथा नागरिक सकृयता एकदमै जरुरी रहेको कुरा बताएको नेपाल स्थीत अमेरिकी दूतावासले जनाएको छ । उनले आफ्नो प्रेरक जीवन कथा सुनाउने क्रममा आफ्नो संघर्ष, आकांक्षा तथा अनुभव बाँडेका थिए ।
अमेरिकी दूतावासले आफ्नो फेसबुक पेजमा लेखेको छ – ‘एकदमै रमाइलो पाराले आफ्नो विचार तथा प्रेरक अनुभव राखिदिनुभएकोमा गुरुङ्गलाई हाम्रो धेरै धन्यवाद।’

अमेरिकाको न्यूयोर्कमा बस्दै आएका फेशन डिजाइनर गुरुङ नेपालमा हुर्किएर विश्वमै प्रसिद्धी कमाउने सीमित व्यक्तिमा पर्छन्। ४० वर्षको उमेरमा उनले फेशन डिजाइनिङको क्षेत्रमा पाएको सफलता लोभलाग्दो छ।
उनले तयार पारेको पहरिनमा पूर्व अमेरिकी प्रथम महिलादेखि ब्रिटेनकी राजकुमारी र हलिवुड र बलिवुडका अन्तर्राष्ट्रिय रुपमा चर्चित कैयौँ महिलाहरु सजिएका छन्। सामाजिक सञ्जाल ट्वीटर, इन्स्टाग्राम र फेसबुकमा उनका लाखौँ प्रशसंक छन्।
आफ्नै नामको फेशन ब्राण्ड स्थापना गरेका उनका भारतको मुम्बईसहित अमेरिका र युरोपमा १०० भन्दा धेरै फेशन स्टोर छन्।








