लोप हुँदै घुमाउने घरहरु


प्रकाशित मिति : असार ३०, २०७६ सोमबार

पर्वतमा परम्परागतरूपमा बाबुबाजे बसोबास गर्दै आएका खरले छाएका घुमाउने घर लोप हुँदै गएका छन् । ग्रामीण भेगमा आजभन्दा १०० वर्ष पहिले बनाइएका घुमाउने घर विस्तारै लोप हुँदै गएका हुन् ।

गाउँले आधुनिक घर सर्वसुलभ घरप्रति आकर्षित भएपछि पुराना घरमा बसोबास गर्न छाडेका हुन् । घुमाउने घरभित्र अँध्यारो, धेरै कोठा नहुने र छानो छाउनका लागि वर्षैपिच्छे झन्झट हुनाले पनि स्थानीय बासिन्दाले घुमाउने घर छाड्दै गएका हुन् ।

केही वर्षअघिसम्म पर्वतका विभिन्न गाउँमा बाक्लै देखिने घुमाउने घर अहिले एक÷दुई मात्रै देख्न सकिन्छ । हरेक गाउँका बासिन्दा शहरबजारतर्फ आकर्षित हुन थालेपछि र गाउँगाउँमा यातायात सुविधा पुगेपछि अहिले घर आधुनिक बन्न थालेका छन् । घुमाउने घर छाउने खरसमेत प्रशस्त पाइन छाडेकाले तथा सबै ठाउँमा जस्तापाताको पहुँच राम्रो भएकाले पनि यी घर अब इतिहासमा मात्र सीमित हुने भएका छन् ।

केही वर्षअघिसम्म गाउँमा अधिकांशका घुमाउने घर थिए तर अहिले सबैले ती घर भत्काएर फरक प्रकृतिका बनाउन थालेका छन् । घुमाउने घर बस्नका लागि न्यानो र स्वास्थ्यका दृष्टिले समेत लाभदायक हुने भए पनि पछिल्लो समय धेरै कोठा भएको आधुनिक घर बनाउने प्रचलन आएपछि लोप हुँदै गएको कुश्मा नगरपालिका वडा नं १२ ठुलीपोखरीका बासिन्दा हेमराज सापकोटाले बताउनुभयो ।

“एक सय वर्षभन्दा पहिले बनेका घर अहिले लोप भइसकेका छन्”, सापकोटाले भन्नुभयो, “भएका केही घर पनि उपयोगमा छैनन्, जीर्ण भइसकेका छन् ।” तर यस्ता घर जुनसुकै मौसम र जुनसुकै स्थानमा पनि बस्नका लागि भने उपयुक्त हुने उहाँको बुझाइ छ ।

खर उत्पादन हुने खरबारीमा अहिले रुखबिरुवा भरिएकाले खरको अभाव हुँदा मानिस उज्याला, फराकिला र आरामदायी घरमा बस्न रुचाउन थालेपछि घुमाउने घर लोप हुँदै गएको स्थानीयवासी रामकृष्ण सापकोटाले बताउनुभयो । जस्तापाताको व्यापक प्रयोग, सुलभरूपमा पाइने र एकपटक छाएपछि बीसौँ वर्षका लागि काम गर्ने हुनाले घुमाउने घर निर्माण गर्न तथा निर्माण गरिएका समेत उपयोगविहीन हुन थालेको उहाँले बताउनुभयो ।

“विगत डेढ दशक अघिसम्म पर्वतका विभिन्न ठाउँमा सयौँ घुमाउने घर थिए, अहिले औँलामा गन्न सकिने छन्”, स्थानीयवासी वृद्ध चिन्तामणि सुवेदीले भन्नुभयो । अहिले खरले छाएका भन्दा ढुङ्गा र जस्ताले छाएका घर गाउँभरि बनेको उहाँले बताउनुभयो ।

पछिल्लो समयमा भने गाउँगाउँमा पक्की घर निर्माण हुन थालेका छन् । सबै क्षेत्रमा यातायातको सुविधा पुगेपछि र सिमेन्ट, बालुवा र रड सजिलै उपलब्ध हुने भएकाले गाउँलेहरुमा पक्की घर निर्माण गर्ने प्रचलन बढेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com