जुरी ड्युटीमा को जानुपर्छ ? नगए के हुन्छ ?


प्रकाशित मिति : कार्तिक ६, २०७६ बुधबार

कहिलेकाँही अमेरिकी नागरिकता प्राप्त नगरेका व्यक्तिले पनि जुरी ड्युटीका लागि पत्र प्राप्त गर्छन् । खासगरी स्टेट आईडी वा मतदाता दर्ता सुचीबाट सम्भावित व्यक्तिलाई छानेर जुरी ड्युटीका लागि पत्र पठाइने भएकाले अमेरिकी नागरिकता प्राप्त नगरेका व्यक्तिले पनि जुरी ड्युटीको पत्र प्राप्त गर्न सक्छन् ।

जुरी ड्युटीका लागि कम्तीमा १८ बर्ष उमेर पुगेको अमेरिकी नागरिक हुनुपर्छ । ग्रिनकार्ड वाहक, अन्य भिसामा रहेकाहरु र कागजपत्रविहिनहरु यो ड्युटीका लागि योग्य हुँदैनन् । जुरी ड्युटीका लागि पठाइएको पत्रमा विभिन्न प्रश्नहरु सोधिएको हुन्छ । जसमा तपाई अमेरिकी नागरिक भए नभएको पनि सोधिन्छ । तपाईले आफू अमेरिकी नागरिक नभएको विवरण र प्रमाणसहितको पत्र अनिवार्यरुपमा पठाउनुपर्ने हुन्छ । त्यसका लागि आफ्नो पासपोर्ट वा ग्रिनकार्डको फोटोकपी पठाउनु उपयुक्त हुन्छ ।

यदि जुरी ड्युटीका लागि प्राप्त पत्रलाई वेवास्ता गरिएमा जेल सजाय वा जरिवाना समेत हुनसक्छ । जुरीको पत्रलाई वेवास्ता गरिएमा वा जुरीमा उपस्थीत नभएमा न्यायाधिसले त्यस्ता व्यक्तिका नाममा बेन्च वारेन्ट जारी गर्नसक्छ । यो वारेन्ट सामान्यतया पक्राउ पुर्जीका रुपमा जारी हुन्छ । यो वारेन्टले प्रहरीलाई जुरी ड्युटी वेवास्ता गर्ने व्यक्तिलाई पक्राउका लागि अनुमति दिन्छ । उक्त वारेन्टका आधारमा प्रहरीले तपाईले घर, काम, कलेज जहाँबाट पनि पक्राउ गर्न सक्छ ।

यदि यस्तो वारेन्ट जारी भएको खण्डमा प्रहरीले सधै तपाईको घरमा आएर तपाईलाई पक्राउ नगर्न पनि सक्छ । तर तपाई ट्राफिक नियम उल्लंघन वा कुनै कारणले प्रहरीको सम्पर्कमा आउनुभयो र प्रहरीले तपाईको बारेमा सोधपुछ गर्न थालेको खण्डमा उनीहरुको प्रणालीमा देखिने वारेन्टका कारण तपाईलाई तत्काल हतकडी लगाएर लैजान सक्छ ।

१८ बर्ष उमेर नपुगेको, अमेरिकी नागरिक नभएको, कम्तीमा एकबर्ष सम्बन्धित जिल्लामा नबसेको, योग्यता फर्म भर्नका लागि अँग्रेजी भाषा नजानेको, मानसिक र शारिरिक रुपमा अशक्त रहेको, एकबर्ष भन्दा धेरै जेलमा बसेको, कुनै अपराध गरेको व्यक्ति जुरी ड्युटीका लागि योग्य हुँदैन । त्यस्तै अमेरिकी सेनामा रहेको, अग्नी नियन्त्रक वा प्रहरी विभागमा काम गरिरहेको र पूर्णकालिन रुपमा सरकारी सेवामा रहेको व्यक्ति जुरी ड्युटीमा जानु पर्दैन ।

जुरी ड्युटीलाई अमेरिकामा ट्याक्स तिर्नुजस्तै कर्तब्यका रुपमा लिइन्छ । सामान्यतया यो जुरी ड्युटी एकदेखि दुईदिनसम्मको हुन्छ । जुरी ड्युटीमा सहभागी भएबापत सरकारले तपाईलाई पारिश्रमिक समेत उपलब्ध गराउँछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com