अमेरिकामा अध्ययनका लागि आउनेहरुका लागि अमेरिकी सरकारले बढायो शुल्क


प्रकाशित मिति : असार ५, २०७६ बिहीबार

अमेरिकी सरकारले अमेरिकामा अध्ययनका लागि आउने अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि शुल्कबृद्धि गरेको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले बृद्धि गरेको नयाँ शुल्क जुन २४ बाट लागु हुने भएको छ ।

खासगरी अन्तर्राष्ट्रिय विद्यार्थी वा एक्सचेन्ज भिजिटर अर्थात् एफ र एम भिसामा अमेरिका आउन चाहनेहरुले अब आई ९०१ सेभिज शुल्क ३५० डलर तिर्नुपर्नेछ । हालसम्म यो शुल्क जम्मा २ सय डलर रहेकोमा जुन २४ देखि एकसय पचास डलर बढाउन लागिएको हो ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले घर गृहस्थीको काम, शिविर परामर्शदाता, समरको कार्य यात्रा कार्यक्रममा जे भिसामा आउनेहरुको शुल्क ३५ डलर नै कायम गरेको छ तर अन्य प्रकारको कामका लागि जे भिसामा आउनेहरुका लागि आई ९०१ सेभिज शुल्क १८० डलरबाट बढाएर २२० डलर बनाइएको छ ।

स्टुडेण्ट एण्ड एक्सचेन्ज भिजिटर प्रोग्रामका लागि विद्यालयको प्रमाणिकरणको प्रारम्भिक प्रमाणपत्रका लागि लाग्ने शुल्क पनि १७ सय डलरबाट बढाएर ३ हजार डलर बनाइएको छ । स्टुडेण्ट एण्ड एक्सचेन्ज भिजिटर प्रोग्रामका लागि विद्यालयको पुन प्रमाणिकरणका लागि भने १२५० डलर लाग्नेछ ।

अमेरिकामा विद्यार्थी भिसामा आउन चाहने सबैले भिसा जारी हुनुभन्दा अगाडि नै ३५० डलर आई ९०१ सेभिज शुल्क तिर्नुपर्नेछ । जुन २४ भन्दा अगाडि नै शुल्क तिरेका र भिसा कुरेर बसेकाहरुले भने नयाँ शुल्कमा बढेको रकम तिर्नु नपर्ने जनाइएको छ ।

एक्सचेन्ज भिजिटर र विद्यार्थी भिसामा आउन चाहनेहरुले यो वेवसाइटको प्रयोग गरेर शुल्क तिर्न सक्नेछन् ।

स्टुडेण्ट एण्ड एक्सचेन्ज भिजिटर प्रोग्राम अन्तरगत अमेरिकामा झण्डै १० लाख विद्यार्थीहरु र उनीहरुका डिपेन्डेन्टको सुपरिवेक्षण गरिदै आएको छ ।

नयाँ नियमको पूर्ण पाठ पढ्न यहाँ क्लिक गर्नुहोला ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com