अब अमेरिकाको ग्रिनकार्ड अमेरिकी दूताबासबाट परित्याग गर्न नपाइने


प्रकाशित मिति : असार ३, २०७६ मंगलबार

अब अमेरिकाको ग्रिनकार्ड विदेशमा रहेका अमेरिकी दूतावास, कन्सुलेट वा युएससीआईएसका अन्तर्राष्ट्रिय फिल्ड अफिसबाट औपचारिक रुपमा परित्याग गर्न नपाइने भएको छ । अमेरिकाको ग्रिनकार्ड औपचारिक रुपमा परित्याग गर्नका लागि अमेरिकाको भर्मोन्टमा रहेको युएससीआईएस इस्टर्न फर्म सेन्टरमा आवेदन पठाउनुपर्ने भएको छ ।

स्वेच्छिक रुपमा आफ्नो ग्रिनकार्ड परित्याग गर्न चाहनेहरुले आई ४०७ फर्म भरेर भर्मोन्टमा रहेको युएससीआईएसको इस्टन फर्म सेन्टरमा पठाउनुपर्ने भएको छ । यस्तो आवेदन विदेशबाटै पनि पठाउन सकिनेछ । फर्म प्राप्त गरेको ६० दिनभित्र युएससीआईएसले आवेदनबारे निर्णय लिने जनाइएको छ ।

यसअगाडि अमेरिकी दूतावास, कन्सुलेट वा युएससीआईएसका अन्तर्राष्ट्रिय फिल्ड अफिसमा व्यक्तिगत रुपमा उपस्थीत भएर वा हुलाकबाट फर्म आई ४०७ पठाएर समेत औपचारिक रुपमा ग्रिनकार्ड परित्याग गर्न सकिने प्रावधान रहेको थियो । तर यो नियम जुलाई १ देखि लागु हुने गरी परिवर्तन गरिएको छ ।

तर कुनै व्यक्तिलाई तत्कालै ग्रिनकार्ड परित्याग गरेको प्रमाण चाहिने आपतकालिन अवस्था आइलागेमा भने त्यस्तो दुर्लभ अवस्थामा अमेरिकी दूतावास, कन्सुलेट वा युएससीआईएसका अन्तर्राष्ट्रिय फिल्ड अफिसले फर्म ४०७ स्वीकार गर्नसक्ने युएससीआईएसले जनाएको छ ।

ग्रिनकार्ड परित्याग गरेको आवेदनका लागि कुनै शुल्क लाग्दैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com