हुकुमी शैलीमा प्रधानमन्त्रीको शासन : सांसद भुषाल


प्रकाशित मिति : असार ९, २०७६ सोमबार

सांसद पुष्पा भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीले विधिको शासनको ठाडो उल्लङ्घन गरी हुकुमी शैलीमा शासन गर्दै आउनुभएको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभाको आजको शून्य समयमा उहाँले कारागार ऐनको दफा ११ र २५ उल्लङ्घन गरी उपचारका क्रममा रहेका सांसद रेशम चौधरीको खुट्टामा लगाइएको नेल फुकाल्ने र नेल लगाउने कारागारका कर्मचारीलाई कारवाही गर्न ठाडो आदेश दिनु प्रधानमन्त्री को हुकुमी शैली भएको तर्क गर्नुभयो । कारगार ऐनको दफा ११ मा नेल लगाउन चिकित्सकको सुझाव लिनुपर्ने र दफा २५ मा जघन्य अपराध गर्नेलाई नेल लगाउनुपर्ने व्यव्स्था छ ।

सांसद पूर्णकुमारी सुवेदीले राप्ती नदीमा पक्की बाँध निर्माण गर्न सरकारसँग माग गर्नुभयो । उहाँले भारतीय पक्षले निर्माण गरेको लक्ष्मणपुर बाँधका कारण बाँके जिल्लाका १० हजार बिघा जमीन डुबानमा परेको बताउनुभयो ।

सांसद प्रेम सुवालले बाँके जिल्लाको सिमानामा निर्माण गरिएको लक्ष्मणपुर बाँध तत्काल भत्काउन सरकारको ध्यानाकर्षण गर्नुभयो । सांसद डिला सङ्ग्रौला, नवीना लामा, पार्वता डिसी चौधरी, पार्वती कुमारी विसुङ्खेले राजधानीमा अज्ञात समूहले महिलामाथि सिरिञ्ज आतङ्क मच्चाउँदै महिलालाई आतङ्कित पारेकाले अज्ञात समूहलाई तत्काल पक्राउ गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।

सांसद दिलेन्द्रप्रसाद बडूले नेकपा (माओवादी) का विप्लव समूहसँग तत्काल वार्ता शुरु गर्न माग गर्नुभयो । सांसद नारायणप्रसाद खतिवडाले विर्ता उन्मूलन भए पनि नुवाकोट जिल्लामा एक हजार ५५८ रोपनी जमीन खनजोत गर्ने चार हजार ९५७ व्यक्तिलाई तत्काल मोही कायम गर्न सरकारको ध्यानाकर्षण गर्नृभयो ।

सांसद तेजुलाल चौधरी, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, र नारायणप्रसाद मरासनीले वर्षाका कारणले जनधनको क्षति पुगेकाले क्षतिपूर्तिको माग, तथा नदी नियन्त्रणको माग गर्नुभएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com