डिभी लोटरी : ३४ सय सम्म केस नम्बर हुने नेपालीलाई मार्चमा भिसा, अप्रिलमा ४२ सय


प्रकाशित मिति : फाल्गुन ७, २०७५ मंगलबार

अमेरिकी सरकारले मार्च महिनाका लागि भिसा बुलेटिन जारी गर्दै मार्चमा डिभी लोटरीमार्फत ग्रिनकार्डका लागि भिसा पाउनसक्ने नेपालीहरुको विवरण सार्वजनिक गरेको छ । मार्च महिनामा ३४ सय सम्म केस नम्बर हुने डिभी विजेता नेपालीहरुले अमेरिकाको भिसा पाउन सक्नेछन् ।

अप्रिलमा भने ४२ सय सम्म केस नम्बर हुने डिभी विजेता नेपालीहरुले भिसा प्राप्त गर्नेछन् । डिभी परेका सबै अमेरिका आउन नपाउने भएकाले केस नम्बर करेन्ट भएका नेपालीहरुले यथाशीघ्र भिसाका लागि प्रकृया अगाडि बढाउनुपर्ने हुन्छ ।

चालु आर्थिक बर्ष २०१९ का लागि ३६ सय ३३ जना नेपालीहरुले डिभी लोटरी पारेका छन् । उनीहरुमध्ये योग्य व्यक्तिले सन् २०१९ को सेप्टेम्बर अन्त्यसम्ममात्र भिसा पाउनेछन् ।

नेपालका लागि प्राप्त झण्डै ३५ सयको कोटा पूरा भएपछि बाँकी डिभी लोटरी विजेताले भिसा पाउने छैनन् । यो कोटा डिभी लोटरी विजेता र उनीहरुको परिवारका सदस्यहरुको समेत संख्या जोडेर निर्धारण गरिन्छ । त्यसैले डिभी परेर पनि सयौं नेपालीहरुले बर्षेनी अमेरिकाको भिसा नपाउने समस्या रहेको छ ।

आर्थिक बर्ष २०२० का लागि डिभी भरेकाहरुको परिणाम भने आगामी मे महिनामा सार्वजनिक हुनेछ । उनीहरुले सन् २०१९ को अक्टोबर १ बाट भिसा पाउन थाल्नेछन् । सन् २०२१ का लागि भने आगामी अक्टोबरमा डिभी खुल्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com