तपाईको घरमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसका अधिकारी आएमा के गर्ने ? (आधादर्जन टिप्स)


प्रकाशित मिति : असार ६, २०७६ शुक्रबार

आइतवारदेखि अमेरिकाका विभिन्न १० शहरमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले कागजपत्रविहिन आप्रवासीहरुलाई पक्राउ गर्नका लागि छापा मार्ने बताइएको छ ।

यदि तपाईको घरमा आइसका एजेन्टहरु आएमा के गर्ने ? न्युयोर्क इमिग्रेशन कोलिएशनले दिएका केही टिप्सहरु खसोखासका पाठकका लागि ।

यदि तपाईको घरमा आइसका एजेन्टहरु आएर ढोका खोल्न भनेमा तुरुन्तै ढोका नखोल्नुहोस् । अध्यागमन अधिकारीहरु प्रहरीहरुजस्तै सिधै तपाईको घरमा प्रवेश गर्न सक्दैनन् । उनीहरुसँग न्यायाधिसले हस्ताक्षर गरेको तपाईको नामको वारेन्ट हुनुपर्छ ।

त्यसैले तपाईले सुरुमा उनीहरुसँग वारेन्ट भए नभएको सोध्नुहोस् । यदि वारेन्ट भएको खण्डमा तपाईको ढोकाको प्वालबाट भित्र छिराउन वा झ्यालको छेउमा राख्न लगाउनुहोस् । तपाईले उक्त वारेन्ट आफ्नो नाममा भए नभएको सुनिश्चित गर्नुहोस् । त्यसका लागि तपाईले वारेन्ट कसको नाममा जारी गरिएको हो , राम्रोसँग पढ्न जरुरी छ ।

उनीहरुसँग वारेन्ट त छ तर त्यो तपाईको नाममा नभई अरु कसैको नाममा छ भने उनीहरु उक्त वारेन्टका आधारमा तपाईको घरभित्र छिर्न सक्दैनन् । तपाईले नचिनेको व्यक्ति वा उक्त घर वा अपार्टमेन्टमा पहिले बस्ने व्यक्तिका नाममा वारेन्ट छ भनेपनि उनीहरु तपाईको घरभित्र छिर्न सक्दैनन् ।

यदि उनीहरुसँग वारेन्ट छैन वा त्यहाँ बस्ने व्यक्तिका नाममा वारेन्ट छैन भने तपाईले उनीहरुलाई उक्त व्यक्ति त्यहाँ नबस्ने जानकारी गराउनुहोला । साथै भित्र प्रवेशका लागि अनुमति दिन नसक्ने बताएर नम्रताका साथ त्यहाँबाट जान अनुरोध गर्नुहोला । यदि तपाईले चिनेको तर त्यहाँ नबस्ने व्यक्तिका नाममा वारेन्ट छ भने तपाईले उक्त व्यक्ति बस्ने ठेगाना बताउन आवश्यक हुँदैन । यस्तो अवस्थामा उनीहरुको सम्पर्क माध्यम मागेर तपाईले उनीहरुलाई बिनम्रतापूर्वक त्यहाँबाट जान अनुरोध गर्नुहोला ।

यदि उनीहरुका साथमा वारेन्ट छ भने पनि तपाईले आफू मौन बस्ने अधिकारको प्रयोग गर्न सक्नुहुनेछ । तपाईले आफू पाँचौं संसोधनका आधारमा तपाईलाई मौन बस्ने अधिकार रहेको बताउन सक्नुहुनेछ । तपाईले आफूसँग मौन बस्ने अधिकार रहेको बताउँदा पनि उनीहरुले वेवास्ता गरेमा आफ्नो भनाई दोहोराउनुहोला । यदि कुनैहरुले कुनै कागजातमा हस्ताक्षर गर्न लगाएमा हस्ताक्षर नगर्नुहोला । तपाईले हस्ताक्षर गर्नु अगाडि कानुन व्यवसायीको सहायता लिने बताउनुहोला ।

अध्यागमन अधिकारीहरुलाई पासपोर्ट लगायत तपाईको देशको कुनै परिचयपत्र वा कागजात नदिनुहोला ।

यदि उनीहरुसँग तपाईको नाममा वारेन्ट छ र उनीहरुलाई तपाईलाई पक्राउ गरेका छन् भने कुनै पनि कागजातमा हस्ताक्षर नगर्नुहोला र उनीहरुले भनेका कुनै पनि कुरा स्वीकार नगर्नुहोला । आफूसँग सधै आफूले सम्पर्क गर्न सक्ने कानुन व्यवसायीको नम्बर पनि राख्नुहोला ।

यदि तपाईको घरमा अरु कोही व्यक्ति पनि छ भने तपाई र आइसका एजेन्टबीचको कुराकानी उनीहरुले भिडियोमा रेकर्ड समेत गर्न सक्छन् । यदि तपाई एक्लै हुनुहुन्छ भने सबै सम्बाद फोनमा पनि रेकर्ड गर्न सक्नुहुनेछ । सकभर अधिकारीहरुले कस्तो कपडा लगाएका थिए, कुन कार उनीहरुले चलाईरहेका थिए, तपाईले यी सबै कुरा याद गर्नुहोला वा रेकर्ड गर्नुहोला ।

याद गर्नुहोस्, अध्यागमन अधिकारीहरुलाई तपाईले कुनै पनि गलत कागजात वा परिचयपत्र नदेखाउनुहोला । तपाईको नाममा वारेन्ट नहुँदासम्म कुनै विदेशी परिचयपत्र वा पासपोर्ट पनि नदेखाउनुहोला । साथै भाग्ने वा पक्राउ गर्न खोज्दा भौतिकरुपमा प्रतिरोधको प्रयास पनि नगर्नुहोला ।

यदि तपाई अमेरिकाको ग्रिनकार्ड होल्डर हुनुहुन्छ तर तपाईले बर्षौ पहिले कुनै अपराध गर्नुभएको छ भने पनि तपाईको आइसको निशानामा पर्न सक्नुहुन्छ । त्यस्तै यदि तपाईले तोकिएको अवधि जेलमा बिताउनुभएन वा तपाईको अपराध सामान्य खालकोमात्र थियो वा तपाईको परिवारका सबै सदस्यहरु अमेरिकी नागरिक भइसकेका छन् तर तपाईमात्र ग्रिनकार्ड वाहक हुनुहुन्छ भने पनि तपाईको आइसको निशानामा पर्न सक्नुहुनेछ ।

यदि तपाई कागजपत्रविहिन हुनुहुन्छ र तपाईले मादक पदार्थ सेवन गरेर गाडी चलाउनुभएको थियो, वा कुनै लागुऔषध, घरेलु हिंशा वा गैरकानुनी बन्दुक बोक्ने अपराधमा संलग्न हुनुभएको थियो भने तपाई आइसको मुख्य निशानामा पर्न सक्नुहुनेछ । त्यस्तै सन् २०१४ जनवरी २ वा त्यसभन्दा पछाडि अमेरिकाका प्रवेश गर्नुभएको थियो वा तपाईलाई सन् २०१४ को जनवरी १ यता देशनिकालाको आदेश दिइएको थियो भने पनि तपाई आइसको निशानामा पर्न सक्नुहुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com