मौलिक संस्कृति राष्ट्रको अमूल्य सम्पत्ति : मुख्यमन्त्री गुरुङ


प्रकाशित मिति : श्रावण ३२, २०७६ शनिबार

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको विविधतायुक्त जातीय संस्कृति राष्ट्रको अमूल्य सम्पत्ति भएको बताउनुभएको छ ।

नेवा खल कास्कीद्वारा महेन्द्रपुलमा शुक्रबार आयोजित तायाः मचा नृत्य प्रतियोगिताको उद्घाटन गर्दै उहाँले सदियौँदेखि बस्दै आएका जातजाति सम्वद्ध मौलिक संस्कृति मुलुकका अमूल्य सम्पत्ति भएको बताउनुभयो । संस्कृतिको जगेर्नाले इतिहास, संस्कार एवम संस्कृतिलाई जीवन्त राख्न सकिने उहाँको भनाइ थियो । “यसको संरक्षण हामी सबैको साझा दायित्व हो”, उहाँले भन्नुभयो ।

विभिन्न चाडपर्व, संस्कृति, वेषभूषा, धार्मिक मेला, महोत्सव र सीपमा नेवार जाति समृद्ध रहेको मुख्यमन्त्री गुरुङले बताउनुभयो । मौलिक पर्व तथा संस्कृतिले सामाजिक सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । मुलुकको विविध संस्कृति र सीपलाई जगेर्ना गर्दै आधुनिकतामा विशिष्टिकरण गरी नयाँ पुस्तालाई हस्तान्तरण गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेवा खल कास्कीका उपाध्यक्ष एवम संस्कृतिविद् तीर्थ श्रेष्ठले रञ्जन लिपी नेपालको संस्कृति भएकाले यसको जगेर्ना गर्नका लागि सरोकारवालाको महत्वपूर्ण भूमिका रहने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा पोखरा बजारमा गाईजात्रालगायत विभिन्न पर्व र संस्कृतिको संरक्षणमा उल्लेखनीय योगदान पु¥याउने नेवार समुदायका अग्रजहरुलाई सम्मान गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com