अमेरिकामा विद्यार्थी भिसा र ओपीटीमा हुनेलाई यात्रा टिप्स


प्रकाशित मिति : फाल्गुन १८, २०७५ शनिबार

अमेरिकामा यदि तपाई विद्यार्थी भिसामा हुनुहुन्छ र ओपीटीमा काम गरिरहनुभएको छ वा ओपीटीका लागि आवेदन दिनुभएको छ भने तपाईले अन्तर्राष्ट्रिय रुपमा यात्रा गर्दाका जोखिम र मापदण्डहरु बुझ्न आवश्यक छ । तपाईले अन्तर्राष्ट्रिय रुपमा यात्रा गर्दा तपाईको एफ वान स्टेटस प्रभावित हुने, स्टाटस परिवर्तन गर्ने क्षमता प्रभावित हुने वा अमेरिकामा पुन प्रवेशमा समस्या हुने समेत हुनसक्छ ।

यदि तपाईको प्रारम्भिक १२ महिनाका लागि ओपीटी युएससीआईएसबाट स्वीकृत भएको छ भने र तपाईका लागि वर्क परमिट जारी भएको छ भने तपाई अमेरिका बाहिर गएर आउन र आएपछि ओपीटी जारी राख्न सक्नुहुनेछ । तर तपाईको अन्य गैर आप्रवासी स्टाटस परिवर्तनको कुनै आवेदन पेन्डिङ अवस्थामा भएको हुनुहुँदैन । ओपीटी स्वीकृत भएको अवस्थामा अमेरिकाबाहिर यात्रा गर्नुपरेमा अद्यावधिक पासपोर्ट, पासपोर्टमा एफ वा भिसाको छाप, विगत ६ महिनामा डिएसओबाट ओपीटी र यात्रा स्वीकृतिका लागि प्रदान गरेको आई २०, अद्यावधिक वर्क परमिट, ओपीटी रोजगारदाताको रोजगार प्रमाणित गर्ने पत्र आफूसँग बोक्न जरुरी छ ।

यदि तपाईको विद्यार्थी भिसा सकिएको छ भने अमेरिका पुन प्रवेशका लागि नयाँ एफ वान भिसा छापका लागि आवेदन दिन जरुरी हुन्छ । त्यस्तै ओपीटी रोजगारदाताका तर्फबाट जब अफर नभएको खण्डमा तपाईको ओपीटी खारेज हुनसक्छ ।

वर्तमान नियम अनुशार ओपीटीमा रहेको विद्यार्थी १२ महिनाको अवधिमा ९० दिनभन्दा धेरै वेरोजगार बस्न मिल्दैन । यात्रा गर्ने क्रममा त्यो अवधि गणना हुने भएकाले यसबारे सावधानी अपनाउन जरुरी हुन्छ ।

यदि तपाईको पढाई सकिएपछिको ओपीटी आवेदन पेन्डिङ अवस्थामा छ भने तपाईले ओपीटी स्वीकृत नहुँदै र वर्क परमिट नआउँदै यात्रा नगर्नु उपयुक्त हुन्छ । पढाई सकिएको अवस्थामा यसरी यात्रा गर्दा अमेरिका प्रवेशमा रोक लाग्नसक्छ ।

विद्यार्थी भिसामा आएर पढाई सकिएपछि वा ओपीटीपछिको ६० दिनको सुविधा अवधिमा तपाईले अमेरिकाबाहिर यात्रा गरेर पुन प्रवेश गर्न पाउनुहुन्न । तपाईले ओपीटी, स्टीम ओपीटी थप वा स्टाटस परिवर्तनका लागि आवेदन दिएर स्वीकृत भएको अवस्थामा मात्र यात्रा गर्न पाउनुहुन्छ । ६० दिनको अवधि तपाईलाई अमेरिकाबाहिर गएर आउनका लागि नभई अमेरिका छाड्ने तयारी गर्नका लागि दिइएको सुविधा अवधि हो ।

यी सामान्य सुझावहरुमात्र हुन् । कानुनी सल्लाहका लागि लाइसेन्सप्राप्त कानुन व्यवसायीलाई सम्पर्क गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com