१३ बर्षीया निर्मला पन्तलाई बलात्कारपछि हत्या गर्ने अभियुक्त पक्राउ,को हुन् बिष्ट ?


प्रकाशित मिति : भाद्र ४, २०७५ सोमबार

कञ्चनपुरमा १३ बर्षकी बालिका निर्मला पन्तलाई बलात्कारपछि हत्या गर्ने अभियुक्त पक्राउ परेका छन् । प्रहरीले घटना घटेको २५ औँ दिनमा स्थानीय युवक दिलिपसिंह बिष्टलाई पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार बिष्टले बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्त साउन १० गतेदेखि हराएकी थिईन् । उनको ११ गते शव भेटिएको थियो ।

पोष्टमार्टम रिपोर्टमा उनको बलात्कारपछि हत्या भएको पुष्टि भइसकेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो र कञ्चनपुर प्रहरीको टोलीले अभियुक्तलाई पक्राउ गरेको हो ।

उनलाई सोमबार नै जिल्ला अदालत कञ्चनपुरमा उपस्थित गराइएको छ । अदालतबाट थुनामा राख्न म्याद लिएपछि उनलाई सोमबार नै सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ ।

पक्राउ परेका बिष्ट यसअघि पनि विभिन्न अपराधमा जेल परेर छुटेका व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

बलात्कारपछि हत्या गर्नेलाई पक्राउ गरेर कारबाही गर्न माग राख्दै स्थानीय बासिन्दाले बजारमा दिनहुँजसो प्रदर्शन गरेर प्रहरीलाई दबाब दिएका थिए ।

को हुन दिलिप ?

दिलिप यसअघि आफ्नै भिनाजुको हत्या अभियोगमा कर्तव्य ज्यान मुद्धामा कैद सजाय भोगेर एक बर्षअघि मात्रै रिहा भएका थिए ।
स्रोतका अनुसार निर्मलाको हत्या गरेको अभियोगमा उनीमाथि गहिरो अनुसन्धान प्रहरीले थालेको छ ।

हत्याराको बयान

अनुसन्धानमा संग्लन एक अधिकारीका अनुसार पक्राउ परेका विष्टले बयानमा क्रममा आफूले निर्मलाको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । “१० गते बाटोमा हिँडिरहेको बेला निर्मलाको साइकलको चेन खराब भएको थियो । चेन खराब भएपछि मैले मिलाइदिएँ अनि कोही नभएको देखेपछि उखुबारीमा लगेर बलात्कार गरें । बलात्कार गर्दा योनीबाट रगत बगेपछि पक्राउ पर्ने डरले मैले हत्या गरेको हुँ,’’ अभियुक्तको बयान उद्धृत गर्दै ती प्रहरी अधिकृतले भने ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com