न्युयोर्कमा प्रधानमन्त्री ओलीको स्वागत, ट्रम्पलाई २ मिनेट भेट्ने


प्रकाशित मिति : आश्विन ७, २०७५ आईतबार

संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्युयोर्क पुग्नुभएको छ । न्युयोर्कको जोन अफ केनेडी विमानस्थलमा प्रधानमन्त्री ओलीलाई स्वागत गर्न अमेरिकाका लागि नेपाली राजदूत डाक्टर अर्जुन कार्की, प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापा, महासचिव राधाकृष्ण देउजा लगायत विमानस्थलमा पुगेका थिए ।

प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुग्नुभएको हो । प्रधानमन्त्रीको भ्रमण दलमा श्रीमती राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, पराष्ट्रसचिव शङ्करदास वैरागी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहनुभएको छ ।

राष्ट्रसंघ महासभामा भाग लिने क्रममा प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति ट्रम्प दम्पत्तिले दिने रिसेप्सनमा सहभागी हुनुहुनेछ । उक्त रिसेप्सनमा ओली र ट्रम्पबीच २ मिनेट भेटघाट र फोटोसेसन हुनेछ ।

प्रधानमन्त्री ओली असोज १३ गते न्यूयोर्कबाट कोस्टारिका जाने कार्यक्रम छ । कोस्टारिकाको भ्रमण पूरा गरी प्रधानमन्त्री ओली असोज १८ गते स्वदेश फर्किनुहुनेछ ।

न्युयोर्कको विमानस्थलमा प्रधानमन्त्रीलाई स्वागत गर्ने क्रममा केही तस्वीरहरु ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com