सातवटा कारणले अगाडि सार्न सकिन्छ युएससीआईएसमा दिएको आवेदन


प्रकाशित मिति : फाल्गुन १३, २०७५ सोमबार

यदि तपाईको आवेदनबारे युएससीआईएसमा लामो समयदेखि पेन्डिङ अवस्थामा छ भने वा युएससीआईएसबाट शीघ्र निर्णय गराउनु पर्ने भएको खण्डमा तपाईले त्यस्तो अनुरोध गर्न सक्नुहुन्छ । तपाईको अनुरोधपछि युएससीआईएसले हरेक आवेदनलाई होसियारीपूर्वक हेरेर त्यसबारे निर्णय लिन्छ ।

विभिन्न सातवटामध्ये एउटा क्राइटेरिया मिलेको खण्डमा युएससीआइएसले तपाईको आवेदनबारे शीघ्र निर्णय दिनसक्नेछ । यदि कुनै व्यक्ति वा कम्पनीलाई कठोरप्रकारको आर्थिक घाटा भएको खण्डमा त्यस्तो आवेदकले शीघ्र निर्णयका लागि अनुरोध गर्न सक्छन् ।

त्यस्तै आवेदक असाध्यै बिरामी भएको खण्डमा वा अन्य कुनै आपतकालिन अवस्था आइलागेको खण्डमा पनि आवेदनबारे शीघ्र निर्णय गराउन सकिन्छ । कुनै मानवीय कारणबाट पनि तपाईको आवेदनबारे शीघ्र निर्णय गराउन सकिन्छ । उदाहरणका लागि तपाईको मुलुकमा कुनै युद्ध वा बिपत्ति आएको खण्डमा तपाईले आफ्नो आवेदनबारे शीघ्र निर्णयका लागि अनुरोध गर्न सक्नुहुन्छ ।

अमेरिकाको सामाजिक र सांस्कृतिक रुची बढाउने खालको कुनै गैरनाफामुलक संस्थाको तर्फबाट पनि आवेदनमा शीघ्र प्रकृयाका लागि अनुरोध गर्न सकिन्छ । उदाहरणका लागि कुनै क्षेत्रमा प्रजातान्त्रिक रुचीको प्रवद्र्धनका लागि संस्थाका तर्फबाट काम गर्नुपर्ने भएमा शीघ्र निर्णय प्राप्त गर्न सकिन्छ ।

त्यस्तै अमेरिकी सरकारको रुचीको विषय भएमा वा रक्षा मन्त्रालयले अनुरोध गरेमा पनि आवेदनबारे शीघ्र निर्णय हुनसक्छ । तर त्यसका लागि अमेरिकी सरकारको कुनै निकायले युएससीआईएसलाई औपचारिक रुपमा अनुरोध गर्नुपर्ने हुन्छ ।

कुनै आवेदनमा युएससीआईएसको गल्तीका कारण ढिलो भइरहेको छ भने पनि शीघ्र प्रकृयाका लागि अनुरोध गर्न सकिन्छ । त्यस्तै कुनै आवेदन युएससीआईएसको रुचीको विषय भएमा पनि शीघ्र निर्णय प्राप्त गर्न सकिन्छ ।

तर कुनै आवेदनका लागि अतिरिक्त शुल्क तिरेर प्रिमियम प्रोसेस गर्न सकिने प्रावधान छ भने त्यस्ता आवेदनबारे युएससीआईएसले अनुरोधका आधारमा शीघ्र प्रकृयामा लैजादैन । तपाईले अतिरिक्त शुल्क तिरेरमात्र शीघ्र निर्णय गराउन सक्नुहुनेछ ।

अमेरिकामा दिइएको आवेदनमा शीघ्र निर्णय गराउनका लागि तपाईले ८०० ३७५ ५२८३ मा फोन गरेर अनुरोध गर्न सक्नुहुन्छ । युएससीआईएसको सम्पर्क केन्द्रले तपाइको अनुरोध युएससीआईएसको सम्बन्धित कार्यालमा पठाउन सक्नेछ । त्यस्तै आवेदकले सर्भिस सेन्टर वा फिल्ड अफिसमा लिखित पत्र पठाएर पनि शीघ्र प्रकृयाको अनुरोध गर्न सक्छन् । इन्फोपास अप्वाइन्टमेन्ट लिएर पनि स्थानीय युएससीआईएस कार्यालयमा गएर शीघ्र प्रकृयाको अनुरोध गर्न सकिन्छ ।

त्यस्तो अनुरोध स्वीकार गर्ने वा नगर्ने अधिकार भने युएससीआईएससँग रहेको हुन्छ । युएससीआईएसले त्यसका लागि तपाईसँग अतिरिक्त कागजात पनि माग्नसक्छ । शीघ प्रकृयाका लागि अनुरोध गर्दा तपाईको आवेदनबारेको फैसला प्रभावित हुँदैन ।

श्रोत : युएससीआईएस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com