अमेरिकामा कृषि बाहेकका अस्थायी कामदारका लागि आवेदन कोटा समाप्त, बिहिबार गरियो लोटरी


प्रकाशित मिति : फाल्गुन ११, २०७५ शनिबार

अमेरिकी सरकारको युएससीआईएसले कृषि बाहेकका अस्थायी कामदारका लागि आर्थिक बर्ष २०१९ को दोश्रो ६ महिनाका लागि आवेदन कोटा समाप्त भएको जनाएको छ । अप्रिल १ देखि सेप्टेम्बर ३० भित्रको अवधिमा काम सुरु गर्ने अस्थायी कामदारका लागि प्रसस्त आवेदन प्राप्त भइसकेको युएससीआईएसले जनाएको छ ।

अस्थायी कामदार एच टु बी अन्तरगत अमेरिकाले बर्षेनी ६६ हजार विदेशी कामदार अस्थायी रुपमा भित्राउँदै आएको छ । जस अन्तरगत ३३ हजारलाई आर्थिक बर्षको पहिलो ६ महिना अर्थात् अक्टोबर १ देखि मार्च ३१ सम्म र बाँकी ३३ हजारलाई दोश्रो ६ महिना अर्थात् अप्रिल १ देखि सेप्टेम्बर ३० सम्म भिसा प्रदान गरिदै आएको छ ।

पहिलो ६ महिनामा प्रयोग नभएका भिसा नम्बरहरु दोश्रो ६ महिनामा प्रयोग हुने भएपनि चालु आर्थिक बर्षमा प्रयोग नभएका भिसा नम्बरहरु अर्को आर्थिक बर्षमा भने प्रयोग नहुने युएससीआईएसले जनाएको छ । अक्टोबर १ अगाडिको भिसाका लागि फरबरी १९ पछि प्राप्त हुने आवेदन अस्वीकार गर्ने युएससीआईएसले जनाएको छ ।

फरबरी १९ सम्म प्राप्त आवेदनहरुको फरबरी २१ मा युएससीआईएसले लोटरी गरिसकेको छ । लोटरीमा छानिएका आवेदनहरुको अब प्रकृया सुरु गरिनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com