आइसले पक्राउ गर्न खोजेमा वारेन्ट सोध्न र मौन बस्न सुझाव (भिडियो सहित)


प्रकाशित मिति : असार ८, २०७६ आईतबार

अमेरिकामा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले कुनै आप्रवासीलाई पक्राउ गर्न खोजेमा न्यायाधिसले हस्ताक्षर गरेको वारेन्ट अनिवार्य सोध्न कानुन व्यवसायी केशवराज सेडाईले सुझाव दिनुभएको छ । आइसको एजेन्ट घरमा आएमा न्यायाधिसले हस्ताक्षर गरेको आफ्नो नामको वारेन्ट भए नभएको सोधेर र हेरेरमात्र घरभित्र छिर्न दिनुपर्ने उहाँको सुझाव छ ।

कार्यक्रम टक अफ द टाउन इमिग्रेशन अपडेटमा खसोखासका प्रधानसम्पादक किशोर पन्थीसँग कुराकानी गर्दै सेडाईले भन्नुभयो – ‘घरको ढोकाको प्वालबाट वारेन्ट भित्र छिराउन लगाउनुहोस् । यदि वारेन्ट तपाईको नाममा छैन भने त्यसको जानकारी आइसलाई गराएर बिनम्रतापूर्वक त्यहाँबाट फर्कन आग्रह गर्नुहोस् ।’

आइसले पक्राउ गर्ने खतरामा हुनुहुन्छ ? यो कार्ड सधै बोकेर हिड्नुहोला ।पक्राउ गर्न खोजेमा वा पक्राउ गरेमा यो कार्ड दिनुहोला ।

वारेन्टमा तपाईको नाम सुद्ध लेखिएको छैन, उक्त घरमा पहिले बस्ने कसैको नाम छ, तपाईले नचिनेका व्यक्तिको नाम छ वा न्यायाधिसको हस्ताक्षर छैन भने तपाईले ढोका खोल्न आवश्यक नरहेको सेडाईको सुझाव छ । यदि आफ्नो नाममा वारेन्ट छ भने मात्र ढोका खोल्नुपर्ने उहाँको भनाई छ ।

तपाईको घरमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसका अधिकारी आएमा के गर्ने ? (आधादर्जन टिप्स)

पक्राउ पुर्जीका आधारमा आइसका एजेन्टले पक्राउ गर्न सक्ने भएतापनि तपाईको घरमा खानतलासी लिन नसक्ने भएकाले खानतलासीका लागि छुट्टै सर्च वारेन्ट आवश्यक हुने सेडाईले जानकारी दिनुभयो । यदि तपाईको नाममा पक्राउ आदेश जारी भएको छ र आइसले तपाईलाई पक्राउ गरेको खण्डमा तपाईसँग मौन बस्ने अधिकार भएको र उक्त अधिकारको प्रयोग गर्न समेत कानुन व्यवसायी सेडाईले जानकारी दिनुभयो ।

आफूलाई मौन बस्ने अधिकार भएको भन्दै आइसले सोधेका कुनै प्रश्नको जवाफ नदिन, कुनै कागजातमा हस्ताक्षर नगर्न र आफूले कानुन व्यवसायी लिने कुराको जानकारी आइससमक्ष गराउन सेडाईले सुझाव दिनुभएको छ । यदि घरबाहिर आइसका एजेन्टले पक्राउ गरेको खण्डमा पनि मौन बस्ने अधिकार प्रयोग गर्न सकिने उहाँको भनाई छ ।

कुराकानीको पूरै भिडियो यहाँ हेर्नुहोला ।

घरभित्र विना वारेन्ट प्रवेश गर्न नदिनुहोस् ।

मौनबस्ने अधिकारको प्रयोग गर्नुहोस् ।

सर्च वारेन्ट नभएसम्म तपाईको व्यक्तिगत सम्पत्तिमा सर्च गर्न नदिनुहोस् ।

कुनै कागजातमा हस्ताक्षर नगर्नुहोस् ।

आइससँगको कुराकानीको अडियो वा भिडियो रेकर्ड गर्नुहोस् ।

 

चित्र : एनवाईआईसी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com