रुपन्देमा बुद्धका मूर्ति तोडफोड !


प्रकाशित मिति : श्रावण २, २०७६ बिहीबार

राजमार्गमा स्थापना भएका बुद्धका मूर्ति अज्ञात समूहले तोडफोड गरी क्षति पु-याएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गको बीच भागमा स्थापना गरिएका मूर्तिमध्ये नयाँमिलदेखि शङ्करनगर क्षेत्रका पाँच वटा मूर्ति गए राति अज्ञात समूहले तोडफोड गरेको नगरपालिकाले जनाएको छ ।

मूर्ति तोडफोड घटनाबारे नगरपालिकाका तर्फबाट जिल्ला सुरक्षा निकायलाई जानकारी गराइसकिएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताउनुभयो । उहाँले रातिको समयमा एकै प्रकृतिले मूर्ति तोडफोड गरेर क्षतविक्षत बनाइएको र यो घटना नियोजित तथा सुनियोजित रुपले भएको आशङ्का गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान शुरु गरेको बताउनुभयो । प्रदेश नं ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को अवसर पारेर तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गको बीच भागको डिभाइडरमा वैशाख १ गतेदेखि बुद्धका आकर्षक मूर्ति स्थापना गर्ने अभियान शुरु गरेको हो ।

हालसम्म जोगिकुटीदेखि मङ्गलापुरसम्मको क्षेत्रमा २० वटा मूर्ति स्थापना गरिसकेको छ । सिक्स लेन सडकमा हरियाली प्रवद्र्धन र नियमित सरसफाइ अभियान सञ्चालन गर्दै आएको तिलोत्तमाले पर्यटन आकर्षित गर्न सडकमा बुद्धमूर्ति स्थापना गर्ने कार्यक्रमअन्तर्गत मूर्ति स्थापना गरिएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com