ग्रिनकार्ड वाहकका छोराछोरी र दम्पत्तिका ग्रिनकार्ड स्वीकृत हुन कति समय ?


प्रकाशित मिति : असार २२, २०७६ आईतबार

ग्रिनकार्डवाहकका २१ बर्ष मुनीका छोराछोरी र दम्पत्तिले ग्रिनकार्ड प्राप्त गर्नका लागि आई १३० आवेदन दिनुपर्ने हुन्छ । यदि यो आवेदन स्वीकृत भएमा छोराछोरी र दम्पत्ति अमेरिकामा रहेकाहरुका सन्दर्भमा आई ४८५ फाइल गरेर ग्रिनकार्ड प्राप्त गर्न सकिन्छ भने अमेरिका बाहिर रहेकाहरुका सन्दर्भमा नेशनल भिसा सेन्टरमार्फत दूतावासबाट आप्रवासी भिसा प्राप्त गर्न सकिन्छ ।

अमेरिकाबाहिर छोराछोरीहरु र दम्पत्ति हुनेहरुका सन्दर्भमा युएससीआईएसमा आई १३० आवेदन स्वीकृत भइसकेपछि नेशनल भिसा सेन्टरमा पठाइन्छ र भिसा उपलब्ध हुनासाथ उक्त आवेदन नेशनल भिसा सेन्टरले प्रकृयामा लैजान्छ । अमेरिकामा हुनेहरुका सन्दर्भमा भने भिसा उपलब्ध भएपछिमात्र आई ४८५ फाइल गर्नुपर्छ र युएससीआईएसले उक्त आवेदनबारे निर्णय गर्छ ।

अहिलेको सन्दर्भमा आई १३० आवेदन स्वीकृतका लागि लाग्ने अवधि सर्भिस सेन्टर अनुशार फरकफरक रहेको छ । क्यालिफोर्निया सर्भिस सेन्टरमा ग्रिनकार्डबाहकका २१ बर्ष मुनीका छोराछोरी र दम्पत्तिका लागि आई १३० आवेदन स्वीकृत हुन १९ महिनादेखि २५ महिनासम्म लाग्ने गरेको छ । तर नेब्रास्का सर्भिस सेन्टरमा भने ११ महिनादेखि १५ महिनासम्म लाग्ने गरेको छ ।

त्यस्तै टेक्सास सर्भिस सेन्टरमा एकसातादेखि ७ महिनासम्म लाग्ने गरेको छ । तर भर्मोन्ट सर्भिस सेन्टरमा भने ५ महिनादेखि ७ महिनासम्म लाग्ने गरेको छ । आई १३० स्वीकृत भइसकेपछि जुलाई महिनाका लागि सबै स्वीकृत हुनेहरुका लागि भिसा उपलब्ध रहेको छ । तर यस अगाडि भिसा उपलब्ध हुन आवेदन दिएको मितिले झण्डै २ बर्ष कुर्नुपर्ने अवस्था कायम रहेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com