आफ्नो समुदायको नेता छान्न, न्यूयोर्क क्षेत्रमा साउथ एशियनहरु सक्रिय हुँदै
प्रकाशित मिति : आश्विन ६, २०७६ सोमबार
आइतवार न्यूयोर्कमा अमेरिकी मुलधारको राजनीतिमा साउथ एशियन अमेरिकनको सहभागिता बिषय एक सम्मेलन सम्पन्न भएको छ । दक्षिण एशियाबाट अमेरिका आई बसोबास गरीरहेका तथा अमेरिकी मुलधारको राजनीतिमा सहभागि भईरहेकाहरुको बाक्लो उपस्थिति थियो ।
कार्यक्रममा नेपाल लगायत दक्षिण एशियन मुलुकका अगुवा नेताहरुले आफ्नो समुदायबाट पनि अमेरिकी मुलधारको राजनीतिमा सहभागि हुनुपर्नेमा जोड दिएका थिए । नेपाली समुदायको प्रतिनिधित्व गर्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका न्यूयोर्क च्याप्टरका अध्यक्ष तथा आयोजक संस्था साउथ एशियन भोटर एशोसियसनका उपाध्यक्ष रामहरी अधिकारीले न्यूयोर्क क्षेत्रमा नेपालीहरुको सक्रिय सहभागिता रहेको उल्लेख गर्दै, दक्षिण एशियन मुलका अमेरिकीहरुलाई नेता बनाउनुपर्ने बेला आएको बताए । उनले एसेम्ब्ली म्यानमा उम्मेदवारी घोषणा गरेका जोय चौधरीलाई बिजयी गराएर त्यसको शुरुवात गर्नुपर्ने बताए ।
च्याप्टर अध्यक्ष अधिकारीले सन् २०२० लाई नेपाल सरकारले पर्यटन भ्रमण बर्ष घोषणा गरेकाले उपस्थिति सबैलाई सके परिवार सहित नत्र एक्लै भएपनि नेपाल भ्रमण गर्न आग्रह गरे ।

कार्यक्रममा नेपाली समुदायका तर्फबाट एलमष्ट हस्पिटलका बोर्ड सदस्य तथा नेपाली समुदायका नेता यादव बास्तोलाले अमेरिकी मुलधारको राजनीतिमा नेपालीहरु समाहित हुनुपर्नेमा जोड दिँदै आगामी बर्षका चुनावहरुको तयारीमा जुट्नुपर्ने बताए ।
कार्यक्रममा नेपाली समुदायको नेतृत्व गरिरहेका बिभिन्न क्षेत्रका प्रतिनिधि, संघ सस्थाका पदाधिकारी, पत्रकार तथा नेपाली समुदायका नेताहरुको उलेख्य सहभागिता रहेको थियो । कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने संघ सस्था, बिभिन्न क्षेत्रका नेताहरुलाई सम्मान पत्र समेत प्रदान गरिएको छ ।
साउथ एशिन भोटर एशोसियसनको आयोजनामा भएको कार्यक्रममा बंगलादेशी मुलका अमेरिकी नागरिक जोय चौधरीले आफु एसेम्ब्ली म्यानको पदका लागि उम्मेदवारी घोषणा गरेको जनाउँदै सहयोग गर्न आग्रह गरेका छन् । दक्षिण एशियाबाट अमेरिका आईबसोबास गरिरहेकाहरुलाई संगठित बनाउने उदेश्यले साभा नामक सस्था सक्रिय छ ।








